स्थानीय सरकारको तिहार नियम : 'रेकर्डेड गीत नबजाउ'
बुटवल : रूपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बजाउन प्रतिबन्ध लगाएको छ ।
मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । ‘देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो’, उनले भने ।
नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ ।
देउसी भैलोमा ठूलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ । गायकहरूका गीत भने गाउन छुट छ । ‘तिहारको संस्कृति निकै राम्रो छ, देउसीभैलोका आफ्नै शैली छन्, रेकर्डेड गीत बजाउँदा नयाँ पुस्ताले तिहार संस्कृति नै बुझ्न पाएनन्’, नगरप्रमुख केसीले भने, ‘बुद्धको मावली देवदहलाई संस्कृतिमय बनाउन यो योजना बनाइएको हो ।’
बुटवल उपमहागरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम पनि तोकेको छ । बढी रकम दिने र माग्ने नगर्न नगरपालिकाले सूचना जारी गरी आग्रह पनि गरेको छ । देउसीभैेलो टोलीलाई १ सय ५ रुपैयाँमात्रै दिन अपिल गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए । ठूलो आवाजमा रेकर्डेड गीत बजाउँदै नृत्य नगर्न आग्रह गरिएको छ उनले भने ।
तिहारलाई प्रदेश ५ प्रहरीले सुरक्षामा कडाइ गरेको छ । प्रशासनले राति ९ बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेकोे छ । ‘तिहारमा पटका पड्काउने, देउसीको नाममा सुरक्षामा खलल पुराउनेलाई कडा कारबाही हुन्छ’, प्रदेश प्रहरी प्रमुख पीताम्बर अधिकारीले भने ।
‘पटका ल्याउन, बेच्न, पट्काउन पाइँदैन । ५ दिनयता २ लाख २७ हजार ५ सय १७ मूल्य बराबरको पटका बरामद गरेका छौं’, उनले भने ।
पटका आयात हुन सक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेको छ । रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ र बाकेका सीमा क्षेत्रमा कडाइ गरिएको हो ।
दीपावली महोत्सव
दीपावलीको अवसरमा बुटवलमा मंगलबारदेखि महोत्सव हँुदैछ । बुटवलको मुख्य बजार अमरपथमा महोत्सव हुन लागेको हो ।
महोत्सवका लागि बुटवल बजार क्षेत्रमा झकिझकाउ पारिएको छ । तीन दिन चल्ने महोत्सव अवधिभर किनमेलमा २० प्रतिशतसम्म छुट दिइने समितिका अध्यक्ष गोकुल विश्वकर्माले जानकारी दिए ।