तिहार परिकार : रङले पिराउला !

तिहार परिकार : रङले पिराउला !

काठमाडौं : बजारमा सजिएका अनेक रङ र रूपका मिठाई। हेर्दै खाऊँखाऊँ लाग्न सक्छ, किनौँकिनौँ लाग्न सक्छ। तर होश गर्नुस्, त्यसमा अखाद्य रङ हालिएको हुन सक्छ। मंगलबार भक्तपुरको सूर्यविनायक क्षेत्रमा अखाद्य मिठाई बिक्री गरेको भेटियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यस्ता पसल अनुगमनपछि त्यस्ता मिठाई र तेल नष्ट गरेको हो। सेल, जेरी, लड्डु, पेडा, बर्फीलगायत मिठाईमा खान नमिल्ने रङ मिसाइएको थियो।

भक्तपुरका आधा दर्जन पसलमा त्यस्ता मिठाई भेटिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए। विभागले १० लिटरजति अखाद्य तेल र मिठाई बनाइसकेर पुनःप्रयोगका लागि राखिएको डेढ सय लिटर फेना झोल नष्ट गरेको थियो। दसैँमा अनुगमन गर्दा बानेश्वरको एक पसलको मिठाईमा हाइड्रो १ नामक रसायन पाइएको थियो। ‘पाँच किलोग्राम मिठाईमा एक ग्रामभन्दा बढी रङ हाले स्वास्थ्यमा हानी गर्छ,’ पोषणविद् प्रमोदचन्द्र पौडेलले भने। तर भक्तपुरका केही मिठाई पसलमा पन्ध्र ग्रामसम्म रङ हालिएको पाइएको छ। विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले गाढा रङ प्रयोग गरिएका मिठाई नखान उपभोक्तालाई सुझाए।।

अखाद्य मिठाईलाई उच्च गुणस्तरको भन्दै बिक्री गर्नेबाट सतर्क रहनुपर्ने उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्। उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णुप्रसाद तिमिल्सिना भन्छन्, ‘सरकारको अनुगमन र नियमन प्रभावकारी छैन। त्यसैले उपभोक्ता स्वयं सजग हुनु पर्ने बाध्यता छ।’ उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार गुणस्तरहीन वस्तु बिक्रीवितरणबाट उपभोक्तालाई शारीरिक, मानसिक, आर्थिक तथा अन्य किसिमको हानी–नोक्सानी हुन गए क्षतिपूर्तिका लागि अदालतमा उजुरी गर्न सकिने व्यवस्था छ।

तेल, घिउ भण्डारणको अवस्थासँग पनि मिठाईको गुणस्तर निर्भर हुन्छ। मिति सकिएको र फोहोर तेलमा पकाइएको परिकारले स्वास्थ्यमा असर गर्छ। दूधबाट बनेका आयातित मिठाई सेवन नगर्न मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मी सुझाउँछन्। ‘बजारिया मिठाई नखाऔँ। धेरै चिनी, चिल्लो, रङ हुनाले सकभर मिठाई खानेबानी छोडौं,’ उनी भन्छन्। अखाद्य मिठाई तथा परिकारले झाडापखाला, आउँ, फुड प्वाइजन हुने चिकित्सक बताउँछन्।

चाडबाडमा दूध र दूधबाट बनेका परिकार अधिक खपत हुने गरेको छ। दूधमा क्याल्सियम हुनाले हड्डीलाई बलियो बनाउँछ। तर दिनमा तीन गिलासभन्दा बढी दूध पियो भने हड्डी कमजोर बन्ने तथ्य नयाँ अनुसन्धानबाट खुलेको डा. रेग्मी बताउँछन्। धेरै दूध खपत हुने डेनमार्क, नर्वे र स्वीडेनमा गरिएको अनुसन्धानमा यो तथ्य फेला परेको हो। ‘गाईभैंसीलाई कसरी पालिएको छ ? दाना कस्तो छ ? सुई लगाइएको पो छ कि ? त्यो पनि हेर्नुपर्छ,’ उनी भन्छन्, ‘दूधको सट्टा दही र चिजको सेवन फाइदाजनक छ,’ डा. रेग्मीले भने।

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई भाइमसलालगायत खाद्य परिकार दिने चलन छ। काजु, पेस्ता, बदाम, किसमिस, ओखर भने एकदमै फाइदाजनक रहेको डा. रेग्मी बताउँछन्। तर ती खाना एकैचोटी नखान उनी सल्लाह दिन्छन्। ‘एकैचोटी धेरै नखाऊँ। यसमा क्यालोरी धेरै हुनाले मोटोपना बढाउन सक्छ। बिहान काजु, बदाम र बेलुका ओखर खानु उपयुक्त हुन्छ,’ उनले भने।

तिहारमा काँक्रो, फर्सी र सूर्यमुखीका बियाँ पनि खाइन्छ। यस्ता बियाँ फाइदाजनक हुने डा. रेग्मी बताउँछन्। उनका अनुसार बियाँमा भिटामिन र एन्टिअक्सिडेन्ट पाइन्छ। चिल्लो र चिनी धेरै हालेर फ्राइ गरिएको बियाँ खाँदा भने शरीरलाई हानी गर्छ। ‘यसले क्यान्सर हुन दिँदैन पनि भनिन्छ। म बियाँ खान सल्लाह दिन्छु,’ उनले भने।

भाइमसलामा मकै, भटमास र चनाको पोका पनि दिँदा स्वास्थ्यलाई फाइदा गर्ने डा. रेग्मी बताउँछन्। संस्कृति जगेर्ना गर्न बजारबाट किनेको नभई चिनी, चिल्लो थोरै हालेर घरमा पकाइएको सेलरोटी, अर्सा, झिनियाँ खानु राम्रो हुने उनको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.