तिहार र न्हु द्य को शुभकामना
मखमली, गोदावरी र सयपत्रीले वातावरण रंगीचंगी भएको छ। कृष्णपक्षका अँधेरी रात बत्तीको प्रकाशले रोमाञ्चक र उज्यालो बनाइदिएको छ। कतैकतै देखिने आकाशदीपले परम्पराको निरन्तरता पुष्टि गर्छ।
देश तिहारमय भएको छ। सोमबार काग तिहारसँगै भित्रिएको यमपञ्चकले फेरि एकपटक नेपाली जनजीवनलाई उल्लासमय बनाउँदैछ। जस्तोसुकै कठिन परिस्थितिका बीच पनि पुराना पर्व र परम्परासँगै जीवनलाई गति दिनु नेपालीपनको विशेषता हो। यसै पनि अप्ठेराहरूबीच आशाका किरणको खोजी गर्नु हाम्रो विशिष्टता हो। हाम्रा पर्वहरू यसैका द्योतक हुन्।
रङ, प्रकाश र आपसी सम्मानको पर्व हो तिहार। भारतीय उपमहाद्वीपमा दीपावली सर्वत्र भए पनि नेपाली तिहारको आफ्नै विशेषता छ। आधुनिकतासँगै उल्लास थप्न रंगीचंगी बिजुली बत्ती आइपुगे पनि नेपाली आकाशबत्ती मौलिक हो। हिउँदको अन्तिम र जाडोको सुरुवाती सन्ध्यामा बतास मन्द हुन्छ। मन्द–मन्द बतासमा पहाडी कागजले बारेको षट्कोणरूपी बाकसभित्र एकनास बलिरहेको बत्ती धिपधिप गर्दै रातभर बलिरहन्छ।
कृष्णपक्षको अँध्यारो रातमा घरको माथिल्लो हिस्सामा बताससँगै बयेली खेल्दै बलिरहेको दीपले जीवनदीपलाई जस्तोसुकै अफ्ठेरोमा पनि मर्न नदेऊ भन्ने सन्देश प्रवाह गर्छ। आकाशदीप त्यसैले जीवनको प्रतीक बन्न पुग्छ।
गणतन्त्र स्थापना भएको तर प्रक्रियामा प्रवेश गरे पनि लोकतन्त्र संस्थागत नभइसकेको वर्तमान राजनीति ऋतुको संक्रमणजस्तै छ। यहाँ परिवर्तन र पश्चगमनको बतास एउटै गतिमा छ। बढ्दो दण्डहीनता, सत्ता उन्माद र जटिल शक्ति–समीकरणको बीचमा परिवर्तनको स्थायित्वको कामना मधुरो दीप प्रतीत हुन सक्छ। तथापि नेपालीजनले आकाशदीपसँग आशाको निरन्तरता सिक्नेछन्।
देउसी–भैलो नेपाली तिहारको अर्को विशिष्टता हो। यो नेपाली संस्कृतिको साझा चिनारी पनि हो। मगरको सोरठी, नचरी, मारुनी, गुरुङको घाटुसँगै अहिले आएर थारू संस्कृति पनि भैलोमा मिसिन पुगेको छ। मादल, बाँसुरी, मुर्चुुंगासँगै जोडिएका गितार र रेकर्डेड संगीतले परिवर्तन र निरन्तरताको सामञ्जस्य स्थापना गरेका छन्।
संस्कृतिको अन्तरघुलनको प्रतीक देउसी–भैलो बन्न पुगेको छ। गाईलाई नुन खुवाएसँगै देशैभरि बज्ने देउसी–भैलोको मादलले एकसाथ साझा संस्कृतिको आवाज बोलिरहन्छ। एकात्मकताबाट संघीयतामा गएको, समावेशी चरित्रलाई आत्मसात गरेको वर्तमान नेपाली राज्य स्वरूपले यो साझापनलाई अझ परिष्कार गर्नेछ।
जीवनका सबैखाले सहयोगीलाई सम्मान तिहारको अर्को विशेषता हो। खबर सुनाउने कागको पूजा। रक्षक र साथी कुकुरको पूजा। कृषि प्रणालीको मियो गाई–गोरुको पूजा। यी सबैले जीवनका बहुल पक्षको आपसी मिलन र सम्मानको परम्परालाई निरन्तरता दिन्छन्। साथै सप्तरंगी टीका नेपाली तिहारको अर्को विशिष्टता हो।
जीवन एकरंगी हुँदैन र समाज पनि बहुरंगको मि श्रण हो भन्ने मान्यतालाई तिहारले शदीयौंदेखि स्थापित गरेको छ। के नेपाली समाजले आफ्ना रङहरूलाई इन्द्रेणीले जस्तो सामूहिकतामा प्रस्तुत गर्न नसक्ला र ? तिहारले सिकाएको छ, कुनै पनि रङलाई एकल अस्तित्वमा होइन, सामूहिक अस्तित्वमा हेर्नुपर्छ। संघीय लोकतन्त्रले एकल रङलाई प्राथमिकता नदेओस्। एकल जातीय, वर्गीय र धार्मिक रङलाई प्राथमिकता दिइनु हुँदैन भन्ने सन्देश तिहारका रङहरूबाट राज्य सञ्चालकले सिक्न नछोडून्।
तिहारसँगै जोडिने अर्को पक्ष नेपाल संवत् हो। गोवर्धन पूजाको दिन नेपाल संवत्को नयाँ वर्ष (न्हु द्य) पर्छ। नयाँ वर्षको स्वागत गर्दै नेवार संस्कृतिमा म्हपूजा गरिन्छ। म्हपूजा आत्मबोधको प्रस्तुति हो। आफ्नै जीवनको स्वसम्मान र चित्तशुद्धिको यो प्रक्रियाबाट हामीले आफ्ना कर्महरूको समीक्षा र आत्ममूल्यांकन जरुरी छ। तिहार र न्हु द्यको अवसरमा हार्दिक शुभकामना !
अन्नपूर्ण पोस्ट्को बुधबार प्रकाशित सम्पादकीयमा नेपाल सम्वतको नयाँ वर्ष (न्हु द्य) सुरु हुने दिन गोवर्धन पूजा हुनुपर्नेमा अन्यथा भएकोले भूलसुधारसहित सच्याइएको छ। - सम्पादक