नेप्से स्वचालित प्रणालीमा

नेप्से स्वचालित प्रणालीमा

अनलाइन कारोबारसँगै ‘ओपन आउट क्राइ सिस्टम’ बाट २०५० को दशमा सुरु भएको सेयर कारोबार पहिलोपटक पूर्णस्वचालित प्रणालीमा गएको हो।मेनुका कार्की÷काठमाडौं धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्स (नेप्से) को कारोबार मंगलबारदेखि स्वचालित (अनलाइन) प्रणालीमा गएको छ। अनलाइन कारोबारसँगै ‘ओपन आउट क्राइ सिस्टम’ बाट २०५० को दशमा सुरु भएको सेयर कारोबार पहिलोपटक पूर्णस्वचालित प्रणालीमा गएको हो। २०६४ सालमा कम्युटरकृत प्रणालीमा गएपछि सेयर बजार अर्धस्वचालित कारोबार प्रणालीमा प्रवेश गरेको हो।

त्यसपछि २०७२ सालमा कागजी सेयर प्रमाणपत्रलाई विद्युतीय स्वरूपमा ढालेर कागजरहित कारोबार, राफसाफ तथा फस्र्योट प्रणालीको थालनी भएको थियो। यसले सेयर प्रमाणपत्रलाई अभौतिक गरी डिम्याट खातामार्फत सेयर कारोबार गर्न मिल्ने गराएको छ।

नेपालमा सेयर निष्काशनको इतिहास पल्टाउने हो भने नेपाल बैंक र विराटनगर जुटमिल कारखानाले वि.स. १९९४ मा साधारण सेयर निष्काशन गरेका थिए। करिब तीन वर्षको प्रयासपछि मंगलबारदेखि नेप्से स्वचालित अनलाइन प्रणालीबाट सुरु भएको छ। नेपाल स्टक एक्सचेन्ज र वाइको प्रालिबीच २०७२ फागुन ४ गते भैरहेको प्रणालीलाई विस्थापित गरी स्वचालित अनलाइन प्रणालीको सफ्टवेयर निर्माण गर्ने सम्झौता भएको थियो। स्वचालित अनलाइन निर्माण गर्ने कम्पनी वाइकोसँग विवाद बढ्दा ११ महिनामा स्वचालित प्रणालीमा ल्याउने भनिएको नेप्से स्वचालित प्रणाली दुई वर्ष आठ महिना लाग्यो। समय थपिएसँगै लागत बढेर ११ करोड ३० करोड रुपैयाँ पुगेको छ।

नेप्से स्वचालित प्रणालीमा गएसँगै विश्वका जुनसुकै ठाउँबाट लगानीकर्ताले धितोपत्रको खरिदबिक्री गर्न सक्ने भएका छन्। यस प्रणालीमा कम्पनी सूचीकरण, सदस्य दलाल दर्ता, सुपरीवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालनलगायत कार्य पूर्णरूपमा स्वचलित हुनेछ। २० वटा छुट्टाछुट्टै मोड्युल तथा सहायक मोड्युल मिलेर एकीकृत कारोबार प्रणालीको विकास गरिएको छ।

यस प्रणालीमा सहभागी हुन लगानीकर्ताले इन्टरनेटको माध्यमबाट कारोबार गर्न सबैभन्दा पहिले ब्रोकर कार्यालयमा उपलब्ध रहेको केवाईसी फर्म भर्नुपर्ने हुन्छ। फर्ममा अनलाइन खाता खोलेकाले मात्र आफंै कारोबार गर्न सक्नेछन्। अफलाइन खाता भएकाले ब्रोकरको माध्यमबाट मात्रै कारोबार गर्न सक्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। जोखिम व्यवस्थापन प्रणालीको उपयुक्त व्यवस्थासहित सार्वजनिक गरिएको अनलाइन प्रणालीबाट लगानी गर्दा लगानीकर्ताले सेयर कारोबार गर्दा पासवर्ड तथा युजर नेम सुरक्षित राख्नु पर्नेछ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार नेप्सेको अनलाइन प्रणाली उद्घाटन गर्दै वित्तीय क्षेत्रमा देखिएको ‘क्रेडिट क्रन्च’ मौसमी भएको बताए। ‘केही समयपश्चात यो समाप्त हुन्छ’, उनले भने, ‘निक्षेपकर्ताले ११ प्रतिशत ब्याज खाने दिन अब सकिँदै छ।’ कार्यक्रममा अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धि ६ देखि ८ प्रतिशत पुग्ने बताउँदै सेयर नबढेकामा गुनासो गरे।                                                                                                                                                                                                                                                      

खतिवडा अर्थमन्त्री भएपछि सेयर बजार निरन्तर ओरालो लागेको छ। उनले पुँजीगत लाभकर विवाद टुंगिएको र बजार उकालो लागेपछि कर लगाउने बताए। राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिने तयारी अन्तिम चरणमा पुगेको बताए। बैंकलाई ब्रोकर लाइसेन्स दिएपछि रियल टाइम सेटलमेन्ट हुने र अनलाइन सेयर कारोबार बन्ने उनको भनाइ छ। धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पुँजी बजारमा वित्तीय क्षेत्र प्रभुत्व रहेकोमा यथार्थ क्षेत्र (रियल सेक्टर) का कम्पनीलाई प्राथमिक निष्काशनका लागि प्रोत्साहित गर्ने काम भइरहेको जानकारी दिए। उनले छिट्टै मार्जिन ट्रेडिङ सुरु गर्ने तयारी भएको समेत जानकारी दिए।

बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईँले अनलाइनबाट सेयर खरिद बिक्री गर्न सकिने प्रणालीको विकास पुँजी बजारको लागि महत्वपूर्ण भएको भनाइ राखे। नेपाल स्टक ब्रोकर एसोसिएसनमा अध्यक्ष भरत रानाभाटले अनलाइन कारोबारमा बैंकलाई सहभागी नगर्ने हो भने अनलाइन कारोबार प्रभावकारी नबन्ने टिप्पणी गरे। ‘बैंकको इन्डिकेसन बिना अनलाइन कारोबार पूर्ण स्वचालित हुँदैन’, उनले भने, ‘सेयर खरिदबिक्री गरेको रकम बैंकिङ खाताबाट हुनुपर्छ।’ यही अवस्थामा अनलाइन कारोबारको सेयर बजार गाउँगाउँमा पुग्न नसक्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.