अमेरिकी निर्वाचन : सिनेटमा जोगियो ट्रम्पको इज्जत, तल्लो सदनमा धक्का
एजेन्सी : अमेरिकी संसदका लागि मंगलबार भएको मध्यावधि निर्वाचनको नतिजा आउने क्रम जारी छ । माथिल्लो सदन सिनेटका १०० सिट मध्ये ३५ का लागि र तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’को पूरै ४३५ सिटका लागि निर्वाचन भएको हो ।
माथिल्लो सदन सिनेटमा सत्तारुढ रिपब्लिकन पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । हालसम्मको नतिजा अनुसार यसअघिकासहित सिनेटमा रिपब्लिकनलाई ५१ सिट प्राप्ट भइसकेको छ ।
तल्लो सदनका ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा भने विपक्षी दल डेमोक्राटिक पार्टीले बहुमत ल्याउने संकेत देखाएको छ । यसअघि ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा २३५ सिट रिपब्लिकनको थियो भने डेमोक्र्राटिकको १९३ र ७ सिट अन्यको थियो ।
बुधबार बिहान ११ बजेसम्मको नतिजामा डेमोक्राटिक पार्टीले रिपब्लिकभन्दा करीब १५ बढी सिटमा जित हात पारेको छ । करीब ९० प्रतिशत नतिजा आउदा रिपब्लिकनले यसअघि जितेका २५भन्दा बढी सिटमा कब्जा जमाउन डेमोक्राटिक सफल भएको छ ।
यस निर्वाचनलाई अकेरिको करीब दुई वर्षको ट्रम्प शासनको परीक्षाका रुपमासमेत हेरिएको छ । माथिल्लो सदनमा खास जोखाउन सफल भएपनि तल्लो सदनमा भने सत्तारुढ पार्टी रिपब्लिकनलाई धक्का लागेको छ । नीति निर्माणमा महत्वपूर्ण मानिने सिनेटमा बहुमत कायम रहनु ट्रम्प शासनका लागि सहज हुने बताइएको छ ।