फेरिँदै देउसी भैलो शैली
बेनी : देउसी भैलोको उद्देश्य र शैली बदलिएको छ। आधुनिक संस्कृतिको प्रभावले देउसी भैलो पैसा जुटाउने माध्यम बनिरहेको छ। म्याग्दीका सामुदायिक विद्यालय, संघसंस्था, क्लब, आमा समूह आदिले तिहारमा आर्थिक स्रोत जुटाउन देउसी खेल्न थालेका छन्।
बेनीस्थित शिवालय मन्दिर संरक्षण समितिले सात सय वर्ष पुरानो वरको रूखको गजुर र मन्दिर प्रचार गर्न यस वर्ष देउसी भैलो कार्यक्रम गर्ने भएको छ। साथै म्याग्दी भ्रमण वर्षलाई पनि सघाउने समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए। म्याग्दी होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले पनि कला संस्कृति संरक्षणसँगै कोष स्थापना गर्न देउसी कार्यक्रम गर्दै छ। जलेश्वर सामुदायिक वन उपभोक्ता समूहले भवन निर्माण गर्न स्रोत जुटाउने उद्देश्यले देउसी खेलिएको बतायो।
विभिन्न उद्देश्य राखेर सबैतिर देउसी खेलिएपछि गाउँ तथा सहर गुञ्जायस बनेको छ। तर, युवापुस्ताले नयाँ सोच र शैलीका साथ देउसी भैलो खेल्न थालेपछि मौलिकता पाइन छाडेको म्याग्दी बहुमुखी क्याम्पसका नेपाली विषयका प्राध्यापक नारायण सुवेदी गुनासो गर्छन्।
गायन र नृत्यमा दक्खल भएका स्थानीय कलाकारका लागि देउसी भैलो आम्दानीको स्रोत बनेको छ। अनेक संघसंस्थाले खेल्ने देउसी भैलोमा कलाकारको माग हुने गर्छ। ‘यो सिजनमा नाच्ने र गाउनेलाई मागअनुसार पारि श्रमिक दिनुपर्छ’, कलाकार अमित विश्वकर्माले भने।