फूलखेतीबाट मासिक डेढ लाख अाम्दानी
बेंसीसहर : बेंसीसहर–५ बोहोराबेंसीकी हुमा गुरुङलाई दिनभर फूलबारीमा काम गर्न भ्याइ नभ्याई छ। फूल, विरुवासँग रमाउन पाउँदा दुःख, पीडा भुलेको उनलाई महसुस नै हुँदैन। उनको नर्सरीमा सयभन्दा बढी प्रजातिका फूल पाइन्छन्। उनले चार रोपनीमा फूल र थप चार रोपनीमा चिनियाँ दुबो लगाएकी छन्।
धानखेती भइरहेको जग्गा भाडामा लिएर चार वर्षअघि नर्सरी सुरु गर्दा हुमालाई हौसलाभन्दा गिज्याउने धेरै थिए। फूलखेती पनि हुन्छ र ? भन्दै उनलाइै धेरैले प्रश्न गरेका थिए। तर, उनले गरेको आम्दानी देखेर हिजोआज धरै लोभिएका छन्। १० लाख रुपैयाँबाट सुरु भएको व्यवसायमा उनले ६० लाख लगानी पुर्याइसकिन्।
दुई वटा ग्रिन हाउस नर्सरीमा सयपत्री, वहुबर्से जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनबेलिया, गुलाब, धुपी, क्रोटन, क्रिसमसलगायत फूलका बिरुवा उत्पादन र बिक्री हुने गरेको छ। हाइब्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोकाडो, सुन्तला, मुन्तला, अनार, रुद्राक्ष, बुद्धचित्तजस्ता वनस्पति पनि उपलब्ध छन्। ‘फूलभन्दा फूलका बिरुवा बेच्दा फाइदा हुन्छ’, उनले भनिन्, ‘मासिक तीन लाख आम्दानी हुन्छ। जग्गा भाडा, कामदारको तलब, बीउ सबै कटाएर मासिक डेढ लाख बच्छ।’