कांग्रेस उपसभापतिमा गच्छदार
काठमाडौं : कांग्रेस उपसभापतिमा विजय गच्छदार मनोनित भएका छन् । केन्द्रीय समितिको मंगलबार बसेको बैठकले महासमिति बैठक तीन सातापछि सार्ने निर्णय गरेको छ । गतवर्ष असोजमा गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले कांग्रेससँग एकीकरण गरेको थियो । एकता हुँदा नै गच्छदारले उपसभापति पाउने सहमति भएको थियो । त्यसैअनुसार सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा गच्छदारको मनोनयन प्रस्ताव राखेका थिए ।
गच्छदारलाई मनोनित गर्ने प्रक्रिया नमिलेको भन्दै अन्य नेताले विरोध जनाएका थिए । रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी र प्रकाशमान सिंहले देउवाले विधि र प्रक्रिया मिचेको आरोप लगाएका थिए । नेता रमेश लेखकले राजनीतिक आवश्यकताका आधारमा गच्छदारलाई उपसभापतिमा मनोनित गरिएको बताए ।
कांग्रेसमा अब दुर्ईजना उपसभापति भएका छन् । गत वैशाखमा देउवाले विमलेन्द्र निधिलाई उपसभापतिमा मनोनयन गरेका थिए । एकताको बेला भएका सहमति कार्यान्वयन गर्न मंगलबार निधिकै नेतृत्वमा पाँच सदस्यीय समति पनि बनेको छ । समितिले केन्द्रदेखि गाउँस्तरसम्म एकीकरण प्रक्रिया टुंग्याउनेछ । कांग्रेस महासमिति भेला भने मंसिर २८ देखि काठमाडौंमा हुने भएको छ । यसअघि भेला मंसिर ५ मा हुने निर्णय गरिएको थियो । चाडपर्वका कारण आवश्यक तयारी नपुगेको भन्दै भेला सारिएको हो ।
महासमिति भेलाले पार्टीको नयाँ विधान बनाउनेछ । विधान मस्यौदा समितिले अन्तिम प्रतिवेदन दिनसकेको छैन । मस्यौदाको केही काम बाँकी रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । मस्यौदामा केन्द्रीय समिति, पदाधिकारी संख्यासहितका विषयमा दुईमत देखिएको छ । विधान समितिले भदौ दोस्रो साताबाट काम थालेको थियो । तर प्रमुख मुद्दामा मत बाझिएपछि काम प्रभावित भएको हो । समितिले शीर्ष नेताबीच सहमति खोज्ने प्रयास गरिरहेको छ । १३ सदस्यीय समितिको नेतृत्व महामन्त्री पूर्णबहादुर खड्काले गरेका छन् ।
बैठकले नेपाल विद्यार्थी संघको विवादबारे भने कुनै निर्णय लिएको छैन । नेविसंघको विधान पार्टीले अनुमोदन नगर्दा महाधिवेशन समेत प्रभावित भएको छ । असोजमा कांग्रेसले नेविसंघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो । यही विषयमा शीर्ष नेताबीच विवाद चर्किएको थियो । यसबाट पार्टीको बैठक समेत प्रभावित हुँदै आएको छ । नेविसंघ विधान पारित गर्न असोज २५ बोलाइएको बैठक विवादकै कारण सूचना टाँसेर स्थगित गरिएको थियो ।
बैठकले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोकत्वमा लेखापरीक्षण समिति गठन गरेको छ भने पद्मरत्न तुलाधरको निधनमा शोक समेत व्यक्त गरेको छ ।