मोनालिसा इन् माई बोट

मोनालिसा इन् माई बोट

काठमाडौं : ललितपुरको दमकल चोकमा रहेको जिजी मचान। हरेक महिना यहाँ बेग्लाबेग्लै कलाकारका चित्र प्रदर्शनीमा राखिन्छ। ईशान परियारका १३ वटा चित्रहरूले पनि स्थान पाए। उनका चित्रमा पानीप्रति बृहत् प्रेम प्रस्तुत गरिएको छ। तालतलैया र पानीमा उत्रिरहेका फरकफरक डुंगाका आकृति चित्रमा असरल्ल छन्।

पोखराको रमणीय वातावरणमा जन्मेका ईशानको ‘इथोज अफ सराउन्डिङ’ शीर्षकको कला प्रदर्शनीमा समेटिएका चित्रले पर्यटकीय सहर पोखराको चित्रण गर्छ। विदेशी पर्यटक नेपाल आएर स्थानीय पहिरनमा सजिएका दृश्य हुन् या मेक्सिकोकी चर्चित कलाकार फ्रिदा कालोलाई नेपाली शिरफुल लगाएर फेवातालमा डुंगा सयर गरिरहेको कल्पनामा बनाइएको पेन्टिङ होस् सबैमा नेपालीपन छ। हरेक चित्रमा डुंगा आउनुको कारणबारे उनी भन्छन्, ‘डुंगा निर्जीव वस्तु हो तर मैले हरेक पल हाँसिरहेको देख्छु। एउटा किनाराबाट अर्को किनाराको गन्तव्यमा पु¥याउने सबैको भरोसा पनि हो। यसले एकै दिन हजारौं स्वार्थी मान्छेको अपेक्षा पूरा गर्छ।’

पोखराको टुटुंगामा रहेको सिद्ध माविमा अध्ययन गरेका उनमा चित्रप्रतिको लगाव पनि सानैदेखिको हो। स्कुलमा हुने चित्रकला प्रदर्शनीमा उत्कृष्ट चित्रको उपहार पनि उनकै पोल्टामै पथ्र्याे। उनी बेलाबेला आर्ट ग्यालरी गइरहन्थे। आर्टको सामान्य तालिम पनि लिए। तालिमले उनलाई व्यावसायिक रूपमा आर्टमा लाग्ने आत्मविश्वास जगायो। अंग्रेजीमा स्नातक गरेपछि उनले पोखरा आर्ट ग्यालरीमा काम गर्ने मौका पाए। भन्छन्, ‘त्यो ग्यालरीले मलाई यही क्षेत्रमै केही गर्न आधार तयार गरिदियो।’

सन् २००६ मा काठमाडांै आएर ललितकला क्याम्पसमा फाइन आर्टमा मास्र्टस गरे। ठमेलको जे आर्ट ग्यालरीका कलाकार पोखरा गएका थिए। काम गर्ने ग्यालरीमा आफूले बनाएका ससाना आर्टका पिस राखेका थिए। एक सय रुपैयाँ दिएर जे आर्ट ग्यालरीले उनको एउटा आर्ट किनेको थियो। यो नै उनको पेन्टिङ बेचेको पहिलो कमाइ थियो। उनीहरूले लगातार ईशानलाई सहयोग गरे। उनले बनाएका चित्र कोरिया पुर्‍याएर प्रदर्शनीमा समावेश गरे। २०१६ मा पोखरामै दोस्रो एकल चित्रकला प्रदर्शनी गरे। उनको यो तेस्रो एकल प्रदर्शनी हो।

आर्टलाई रङ र क्यानभासको एक्सप्रेसनका रूपमा बुझेका ईशान खैरो, कालो र आकाशे रगको पारखी हुन्। उनका चित्रमा पनि यी रगको संयोजन बढी भेटिन्छ। विश्वचर्चित चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको सुप्रसिद्ध मोनालिसाको चित्रलाई उनले आफ्नोपन दिएर उतारेका छन्। ‘मोनालिसा इन् माई बोट’ शीर्षकमा प्रदर्शनीमा राखिएको छ। कलाकार मनोजबाबु मिश्रले भिन्चीको चित्रकी पात्र मोनालिसालाई नेपालीकरण गरेर आफ्नो बेहुलीका रूपमा नेपालीकरण गरेका थिए। ‘यो चित्र कलाकार मिश्रको सम्मानस्वरूप बनाएको हुँ’, ईशान थप्छन्।

मोनालिसाको अनुहार कपी गरेर फेवातालको डुंगामा बसिरहेकी सुन्दर युवतीका रूपमा कल्पना गरेका छन्। उक्त चित्रमा युवतीलाई नेवारी परम्परागत पोसाक हाकुपटासी पहि¥याइदिएका छन्। तालको वरपरको परिवेशमा बनाइएको चित्र उनी आफैंलाई पनि अत्यन्त मन परेको पेन्टिङ हो।

रोचक छ ईशानको प्रेमकथा पनि। पोखराका ईशान। काठमाडौंकी रैथाने सविता डंगोल। क्यानभासमा रङ पोत्दापोत्दै कतिबेला प्रेमको गुलाफी रङ जिन्दगीको क्यानभासमा पोतियो थाहै भएन। कलेज पढ्दा साथीहरू मिलेर घुम्न जान्थे। कहिले नगरकोट। कहिले वसन्तपुरका मन्दिर पेटी। कहिले पार्क। उद्देश्य एउटै हुन्थ्यो क्यानभासका दृश्य खोज्ने। त्यही मेसोमा उनले खिचेछन् सविताको दृश्य। सायद सविताले पनि। कुचीले जोडेको यो नाता अहिले दाम्पत्य जीवनको क्यानभास कोरिरहेछ।

अहिले उनीहरू एकै कोठामा बसेर पेन्टिङ गरिरहन्छन्। एउटै गीत सुन्छन्, एक अर्काको सहयोग लिन्छन्। अघिल्लो महिना मात्र जिजी मचानमै सविताको एकल चित्र प्रदर्शनी भएको थियो। आर्ट प्रदर्शनीका लागी उनीहरू नेपालका विभिन्न ठाउँ, जापान, बंलादेश, भारत पुगिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.