थाइल्यान्डमा नेपाली चाड
घरको मूलगेटअगाडि तुलसी मोठ र कोठाभित्र देवी–देउताको फोटोसहित मन्दिरको आकारमा सजाइएको मूर्ति। कसैले थाइल्यान्डमा यी दुई कुरा अनुभव गरे विश्वस्त भए हुन्छ, त्यो घर थाई–नेपालीको हो भनेर।
प्रवासमा बस्ने नेपालीले आफ्नो मौलिक परम्परालाई कसरी पछ्याउँछन् ? थाइल्यान्डमा त्यसको नमुना देख्न पाइन्छ। प्रवासी नेपालीले आफ्नो मौलिक कला–संस्कृतिप्रति कति गहिरो मोह राख्छन्, त्यो पनि बुझ्न सकिन्छ। आफ्नो भाषा र संस्कृति नरहे, नेपाली बनेर बाँच्न नसकिने उनीहरूको ठम्याइ थियो।
बैंककको व्यस्त सडक सुकुम्भित–८१ स्थित श्रीफोर्टमा एउटा हिन्दु मन्दिर छ। जसको नाम हो, त्रिनाथ देवालय। यही मन्दिरवरिपरि थाई–नेपालीको बाक्लो बस्ती छ। यही बस्तीमा बस्ने स्वर्गीय टेकबहादुर केसी, टन भाट क्षत्री, गणपति पाण्डे, पण्डित हरिप्रसाद लामिछाने, ऋषिराम लामिछाने र पण्डित अशोक घिमिरे लगायतको सक्रियतामा सन् १९९३ मा त्रिनाथ देवालय निर्माण भएको थियो।
यो मन्दिर बैंककमा बसोबास गर्ने थाई–नेपालीको पूजापाठ गर्ने थलो मात्र होइन, आस्थाको धरोहर पनि हो। धार्मिक कार्य गर्नुप¥यो, चाडपर्व मनाउनुप¥यो वा छोराछोरीलाई आफ्नो मौलिक भाषा–संस्कृति सिकाउनुप¥यो भने यही मन्दिरमा थाई–नेपाली भेला हुने गर्छन्।
यसपालि दशैँका लागि मन्दिर व्यवस्थापनले ३४ केजी मकैको जमरा रोपेको थियो। नेपाल र थाइल्यान्डको माटोमा समानता पाइँदैन। थाइल्यान्डको माटो बलौटे हुन्छ। त्यसैले थाइल्यान्डमा नेपालमा जस्तो जौको जमरा हुँदैन। जौको जमरा हुन कमेरो माटो चाहिन्छ। थाई–नेपाली दशैँमा मकैको जमरा कान र टाउकोमा सिउरिने गर्छन्। ‘मकैको जमरा उमार्ने कारण १० दिनसम्म नलडोस् भनेर पनि हो,’ मन्दिरका पण्डित पद्मप्रसाद भट्टराई भन्छन्।
थाइल्यान्डमा हाल ५० हजारको हाराहारीमा नेपालीभाषी रहेको अनुमान गरिन्छ। यसमध्ये २० हजार बैंककमा बसोबास गर्ने थाई–नेपाली संघका अध्यक्ष कुमार कार्की बताउँछन्। उनका अनुसार थाइल्यान्डमा सबैभन्दा बढी नेपाली बर्माबाट आएका छन्। भन्छन्, ‘यहाँ नेपालबाट सीधै आउनेभन्दा बर्मिज–नेपालीको संख्या अत्यधिक छ।’ बर्माबाट थाइल्यान्ड प्रवेश गर्ने नेपालीको संख्या अधिक भएकै कारण थाइल्यान्डमा मनाइने चाडपर्वमा बर्मेली–नेपालीको प्रभाव अधिक पाइन्छ।
‘हाम्रा पुर्खा नेपालबाटै रीतिरिवाज बोकेर बर्मा छिरेका थिए,’ कार्की भन्छन्, ‘र, बर्मा हुँदै थाइल्यान्ड आएका थिए। थाइल्यान्डमा हामीले मनाउने चाडपर्वमा बर्माको प्रभाव देखिएको हुन सक्छ। हामीले आफ्नो संस्कृति बिर्सियौँ भने अस्तित्व पनि गुमाउनेछौँ।’
थाइल्यान्डमा नेपालीहरूको प्रवेश गौतम बुद्धको समयमै भइसकेको कथन छ। भगवान् बुद्ध प्रवचनका लागि थाइल्यान्ड आउँदा उनीसँगै नेपाली भिक्षुहरू पनि साथमा रहेको मान्यता छ।
आधुनिक युगमा चाहिँ नेपालीहरूको थाइल्यान्ड प्रवेश दोस्रो विश्वयुद्धपछि मात्र भएको हो। थाइल्यान्डमा नेपालीहरू बर्माको बाटो हुँदै ‘पिलोक’ गाउँमा सर्वप्रथम आएर बसेका हुन्। त्यसैले पिलोकलाई नेपालीहरू बसेको सबैभन्दा पुरानो ठाउँ भन्ने गरिन्छ।
गाई तिहारको दिन थाइल्यान्डमा बस्ने नेपालीले पूजाको विधिमा अलिकति ‘कम्प्रोमाइज’ गर्नुपर्ने हुन्छ। त्यहाँ गाई नेपालमा जस्तो छाडा छोडिन्न। घर–घरमा पाल्ने चलन पनि छैन। थाई–नेपालीले लक्ष्मीको पूजा नेपालमा झैँ धुमधामसँग गरे पनि गाई पूजा गर्दैनन्।
सन् १९९३ मा नेपालका पूर्व राजा वीरेन्द्र शाहले थाई राजा भूमिबोल अब्दुल्यादेजसँग लामो समयदेखि थाइल्यान्डमा बसोबास गरिरहेका नेपालीहरूको स्थायी बसोबासको मुद्दा उठाएका थिए। त्यसअघि नेपालीहरू आप्रवासीको हैसियतमा थाइल्यान्डमा बसोबास गर्दै आइरहेका थिए।
राजा वीरेन्द्रको आग्रहपछि थाई नरेशले त्यतिबेला थाइल्यान्डमा बसोबास गरिरहेका नेपालीलाई नागरिकता प्रदान गरेका थिए। थाइल्यान्डमा नेपालीको छवि निकै राम्रो छ। ‘नेपालीहरू इमान्दार व्यक्तिका रूपमा परिचित छन्,’ कार्की भन्छन्।
थाइल्यान्डमा पहिले दशैँको टीका एक दिन मात्र लगाउने चलन थियो। तर, पछिल्लो समय नातागोताको बढ्दो संख्याका कारण पाँच दिन नै लगाउने चलन सुरु भइसकेको छ। विगत २८ वर्षदेखि बैंककमा पर्यटन व्यवसाय सम्हालेर बसेका मकवानपुर, चित्लाङनिवासी राजु बलामी भन्छन्, ‘पहिले पश्चिम नेपाल जस्तै यहाँ पनि एक दिन टीका लगाउने चलन थियो। अहिले पूर्णिमासम्म पनि दशैँको टीका थाप्ने चलन भइसकेको छ।’
नेपालमा दशैँको बेला पशुबलि दिने चलन छ। तर, थाई सरकारले घर तथा मन्दिरमा पशुपक्षी काट्न निषेध गरेको छ। त्यसैले मन्दिरमा पशुबलिको सट्टा नरिवल, मास र पायस बलि दिने गरिन्छ। थाई–नेपाली संघका उपाध्यक्ष लक्ष्मण केसी भन्छन्, ‘थाई कानुनका कारण बलि दिने कुरा हुँदैन। त्यसैले दुईचार किलो मासु किन्ने भए बजार जानुपर्छ। सिंगै खसी किन्न स्लटर हाउसमा जानुपर्छ।’
केसी मन्दिर परिसरका संयोजक पनि हुन्। चाडपर्वमा मन्दिरमा हुने गतिविधिमा संयोजन गर्ने काम मात्र होइन, गर्मीको छुट्टीमा थाई–नेपालीका छोरा–छोरीलाई नेपाली भाषा सिकाउन मन्दिर परिसरमा कक्षा कोठाको व्यवस्थापन मिलाउने काममा पनि उनी खटिने गरेका छन्।
दशैँका लागि मन्दिरमा उमारिएको जमरा बैंककमा रहेको नेपाली दूतावासमा बिहानै लैजाने चलन छ। नेपालबाट अध्ययनका लागि बैंकक पुगेका नेपालीहरू शनिबार र आइतबार सार्वजनिक छुट्टीको दिन समय निकालेर दूतावासमा टीका थाप्न आउँछन्।
‘दशैँको दिन साँझ सबैलाई बोलाएर टीका र प्रसाद ग्रहण गर्ने चलन छ,’ थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी भन्छन्, ‘यतिबेला विभिन्न पेशामा कार्यरत नेपाली तथा थाइ–नेपालीहरू दूतावास आउनुहुन्छ। यहाँका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी त्यस दिन भ्याउनुभएन भने छुट्टी मिलाएर अर्को दिन आउने गर्नुहुन्छ।’
थाई–नेपालीले दशैँजस्तै तिहार पनि धुमधामसाथ मनाउने गरेका छन्। नेपालमा काग र कुकुर पूजाको दिन दुवैको पूजाआजा गर्ने चलन छ। थाइल्यान्डमा पनि काग र कुकुर पूजाकोदिन दुवैलाई घरमा पाकेको खाना छुट्याएर खान दिने चलन छ। तर, गाई तिहारको दिन थाइल्यान्डमा बस्ने नेपालीले पूजाको विधिमा अलिकति ‘कम्प्रोमाइज’ गर्नुपर्ने हुन्छ। त्यहाँ गाई नेपालमा जस्तो छाडा छोडिन्न।
घर–घरमा पाल्ने चलन पनि छैन। थाई–नेपालीले लक्ष्मीको पूजा नेपालमा झैँ धुमधामसँग गरे पनि गाई पूजा गर्दैनन्। ‘हामीले यहाँ गाई नै देख्न पाउदैनौँ, पूजा कसरी गर्नु ?’ संघका अध्यक्ष कार्की भन्छन्।
भाइटीका र देउसीको कार्यक्रम भने नेपालमा भन्दा कुनै हिसाबले पृथक् हुँदैन। घर लिपपोत गर्ने, बत्ती बाल्नेलगायत देउसी–भैलो खेल्ने कारण सम्पूर्ण थाई–नेपाली यतिबेला उत्सवको मुडमा हुन्छन।