गरिबको घरमा लक्ष्मीले गरिन् बास, दङ्ग छन् मुसहर !
महोत्तरी : पुस्तौंनी रोग, भोक र शोकले थलिएका थिए, अभिचन मुसहर । एकीकृत नमुना मुसहर बस्ती बर्दिबासका ४२ वर्षीय उनी धान खेती गरेर दङ्ग छन् । मालिकको सत्तरी कट्ठा खेत बठैयाँ (अधियाँ) लिएर उनले दुई सय मन धान फलाए । कठोर परिश्रम गरेका उनले मालिकसँग एक सय मन धान फाँट गरे । धान खेती सप्रेकोले उनले राम्रो उत्पादन लिए ।
‘सय मन धान घर भित्र्याएँ,’ गरिबीले पिल्सिएका उनले भने, ‘धान यति फल्यो कि घरमा धान राख्ने ठाउँ छैन । हाम्रो घरमा लक्ष्मी माता भित्रिइन्, खुसी लागेको छ ।’
अभिचनको सम्पूर्ण परिवारका सदस्यले धान खेतमा चार महिना लगातार कठोर परिश्रम गरे । मनग्य धान भित्र्याउन पाउँदा दीपावलीको मुखमा धनकी देवी लक्ष्मीमाताको आगमन भएको अभिचन मुसहरको परिवारले महसुस गरिरहेका छन् ।
नेपालीको दोस्रो ठुलो चाड दीपावली, तिहार र छठ मनाउन उनको परिवार जुटेको छ । डेढ वर्षअघि हाँस्यकलाकार धुर्मुस–सुन्तलीले चन्दा सङ्कलन गरेर बर्दिबासका अभिचनसहित ५० मुसहरको घर बनाएका थिए । अभाव र दबाबमा बाँच्दै आएका गरिब मुसहरहरूको जीवनमा अहिले उज्यालो थपिएको छ ।
‘खेत जोताई, रोपाई, खाद्यमलमा पैँतिस हजार खर्च गरेर धान खेती गरेँ,’ अभिचनले भने, ‘अब वर्षभरि खान पुग्छ ।’ ज्याला मजदुरी गरेर जीवन चलाउँदै आएका मुसहरहरू धुर्मुस– सुन्तलीको प्रेरणाले खेती र पशुपालनमा आकर्षित भएका छन् ।
परिवारका दश जना सदस्य पाल्दै आएका अभिचनकी ४० वर्षीय पत्नी बिमला मुसहरले दुःखको दिन हराएको बताइन् । ‘चुहिने छानो फेरियो । घरमै बिजुली बत्ती, खानेपानीको धारा र चर्पी बन्यो,’ रङ्गीबिरङ्गी घरको सुन्दरताको कुरा गर्दै उनले भनिन्, ‘धुर्मुस–सुन्तलीले हाम्रो जीवन फेरिदिनुभयो ।’
वर्षभरि ज्याला मजदुरी गरेर जीवन चलाउनु पर्ने विगतको दुःखदायी अवस्थाबारे बताउँदै उनले थपिन्, ‘पक्की घर भयो । घरमा धान राख्ने ठाउँ छैन ।’ फिल्म हेर्न टिभी र समाचार सुन्न घरमा रेडियो जोडेको उनले बताइन् ।
चार पुस्ता गरिबीसँग सङ्घर्ष गरेका बिमलाको परिवारसँग अहिले धनै धन छ । घरमा २२ वटा बाख्रा पालेकी छिन् । चार वटा खसी विक्री गर्ने तरखरमा उनी छिन् । ‘चार वटा खसी बेच्दा सत्तरी—असी हजार आउँछ’, उनले सुनाइन् । कम्तीमा उनीसँग हाल २ लाख रुपैयाँका खसी, बाख्रा छन् ।
‘दुःखीको घरमा लक्ष्मी फर्किन्छिन् भन्ने हामीले सोचेका पनि थिएनौँ,’ सुख, शान्ति र प्रगतिले खुसी भएका विमलकी श्रीमान् अभिचनले भने, ‘महिनैपिच्छे बिजुली बत्ती, खाने पानी र परिवार पाल्न आम्दानीले पुगेकै छ । धुर्मुस–सुन्तलीले देखाएको बाटो हिँडेर प्रगति भयो ।’
अभिचनका छिमेकी विल्टु मुसहरलाई पनि भ्याईनभ्याई छ । दीपावलीमा लक्ष्मीपूजाको तयारीमा जुटेका विल्टुको घरमा दुई दर्जनभन्दा बढी जुटको बोरामा धान राखिएको छ ।
उनको पसिनाले सञ्चित धान खेतमा हलहल धानको बाला झुल्यो । मज्जाले धान फल्यो । उनले ३० कट्ठा खेतमा लगाएको धान खेतीबाट झन्डै एक सय बिस मन धान फल्यो ।
अधियाँमा धान खेती गरेका विल्टुले जग्गाधनीलाई आधी दिएर करिब ६० मन धान घरमा भित्र्याए । ६ जना परिवारलाई वर्षैभरि खान पुग्ने धान भित्र्याएको अनुभव उनले सुनाए ।
‘धान खेती गर्न तीस हजार खर्चेँ,’ उनले भने, ‘खेती गर्नुपर्छ भन्ने कुरा हामीलाई बुद्धि नै थिएन ।’ एकीकृत बस्ती विकास भएपछि विभिन्न संस्थाले तालिम दिएको उनले सुनाए । त्यसपछि कृषि कर्ममा मुसहरहरू लागेका हुन् ।
‘पहिलो दिनमा कमाउँथेँ, साँझ खान्थेँ,’ दुई वर्षअघिको आफ्नो दिनचर्या बताउँदै भने, ‘आफ्नै बलमा कमाउनु पर्छ भन्ने कुरा कसैलाई थाहै थिएन ।’ जसका कारण पुस्तौँदेखि तराईको अति विपन्न गरिब तथा दलित समुदायमा पर्ने मुसहर सधैँ एक गाँस खाना खानकै लागि मालिकको नोकरीमा बसेको उनले सुनाए ।
विल्टुका छिमेकी बिन्दे मुसहर पनि धान फलाएर फुरुङ्ग देखिएका छन् । उनले ५० कट्ठामा धान खेती गरेका थिए । धान यति फल्यो कि बिन्देको घरमा धान थन्काउने ठाउँ छैन ।
उनले घर अगाडिको प्यासेजमा धान थन्काएका छन् । ५५ हजार खर्चेर धान खेती गरेका उनलाई धान थ्रेसरमा झार्न हम्यहम्य परेको छ । दीपावलीको मुखमा उनी धानरुपी लक्ष्मी भित्र्याउन थ्रेसरमा धान झार्न परिवारका सदस्यसहित व्यस्त थिए ।
‘पहिला मुसहरहरूलाई मालिकले खेती गर्न खेत दिदैँनथें,’ उनले भने, ‘जग्गाधनीहरूकै खेतमा ज्याला मजदुरीमा हाम्रो जीवन सीमित थियो ।’ पछिल्लो समय कामदारको अभाव भयो । जग्गाधनीहरूको खेत बाँझै बस्न थाल्यो ।
‘त्यसपछि खेत मालिकहरू हाम्रो दैलोमा आएर अधियाँमा खेती गर्न आग्रह थालेको दिन पनि देख्यो,’ उनले भने । आफैँ धानखेतीको मुख्य मालिक भएर काम गर्ने अवसर पाएपछि मुसहरहरूको जीवन फेरिएको हो ।
४५ वर्ष लागेका बिन्दे आफ्नो बच्चपन्न सम्झिएर भावुक बने । ‘घरमा खानेकुराको कमी हुन्थ्थयो । गाउँमा मालिकहरूले खेतमा लगाएको अलावा खनेर छुटाएको अलावा चालेर खान्थ्यौँ,’ नौ वर्षको उमेरको कुरा उनले सुनाउँदै भने, ‘समय फेरियो । हाम्रो गरिबको दिन पनि आयो । अहिले त साँझ बिहान दाल, भात, तरकारी, माछा, मासु खान मज्जाले पुग्छ ।’
एकीकृत नमुना मुसहर बस्ती घुम्न आउने पर्यटकहरूका लागि बस्ती व्यवस्थापन समितिले टिकट राखेका छन् । टिकटबाट सङ्कलन भएको रकम कोषमा जम्मा हुन्छ । त्यसबाट स्थानीयहरू ऋण लिएर खेती किसानी गर्ने, गर्जो टार्न रकमको उपयोग गर्दै आएका छन् । कोषबाट ३० हजार ऋण लिएर बिन्देले धान खेती गरेका थिए ।
अभिचन, विल्टु, बिन्दे जस्ता बस्तीका दर्जन भन्दा बढी मुसहरले धान खेती गरेर मनग्य धान भित्र्याएका छन् । यस वर्षको धानखेतीबाट एकीकृत नमुना मुसहर बस्तीमा पाँच सय मन भन्दा बढी धान भित्रिएको छ ।
करिब तीन सयको बसोबास रहेको मुसहर बस्तीका एक जना १९ वर्षे युवा मञ्जय मुसहर मात्रै स्नातक दोस्रो वर्षमा पढिरहेका छन् । दुई वर्ष अघिदेखि बस्तीका बच्चाहरू मात्रै नजिकैको जनता माध्यमिक विद्यालयमा पढ्न थालेका छन् ।
शिक्षा, सूचना र आर्थिक अभावले थलिएको मुसहरहरूका बच्चाहरू स्कुल पुग्दा अबको पुस्ताले पुस्तौंनी दुःख, व्यथा र अभाव सहजै हटेन बस्तीकी एक सय पाँच वर्षीय मर नी मुसहर बताउँछिन् ।