मिस्त्रीखोला जलविद्युतकाे ६२ प्रतिशत निर्माण सम्पन्न
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत आयोजनाको ६२ प्रतिशत निर्माण सकिएको छ। रोवस्ट इनर्जी प्रा.लीले २०१६ को फेब्रअरी महिनादेखि निर्माण सुरु गरेको ४२ मेगावाट क्षमताको आयोजना बर्खायाम अघिनै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बाँधमा पर्खाल निर्माणसँगै दुई वटा भुमिगत पानी थिग्राउने पोखरी निर्माणको कामलाई तिव्रता दिएको आयोजनाले कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृहको सिविलतर्फको ८० प्रतिशत निर्माण सकेको छ। एक हजार ६५० मिटर पेनस्टक पाइप जडान गर्नुपर्नेमा आधाभन्दा बढी सकिएको आयोजनाका ईञ्जिनियर दिवाकर खड्काले बताए।
सुरुङ खन्ने क्रममा पानी निस्किएपछि प्राविधिक अध्ययन गरेर विकल्पको खोजी गरिएको र आउटलेटबाट निस्किएको पानीले गएकाे पहिरोको विषयमा स्थानीयसँग छलफलपछि आयोजनाको कामले गति लिएको छ। २०१९ फेब्रुअरीसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा दैनिक पाँच सय जनाको हाराहारीमा मानविय जनशक्ति परिचालन भएका छन्।
हाईड्रो भिलेजको रुपमा चिनिएको नारच्याङमा मिस्त्रीखोलसँगै हाल तीनवटा जलविद्युत आयोजना निर्माणाधिन छन्। जलविद्युत आयोजना निर्माणले तिव्रता पाएपछि रोजगारीको अवसर सिर्जना भएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए। नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाबाट सेयर संकलन सुरु गरेको छ। १०० मेगावाटको निलगिरी र निलगिरी क्याक्सेट आयोजनाले निलगिरी हिमालको फेदीसम्म पुग्ने पहुँचमार्ग निर्माण गरिरहेको छ।
वि.सं २०४४ देखि २ मेघावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा रहेको नारच्याङमा थप दश वटा आयोजना निर्माणको प्रक्रियामा रहेका छन्। नारच्याङ र उत्तरी म्याग्दी भएर बग्ने जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रशारण लाईनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरणले दानामा २२० केभी क्षमताको सव स्टेशन र दाना–खुर्कोट प्रशारण लाईन निर्माण कार्य अगाडि बढिरहेकाे छ।