भाइमसलाको चर्काे मूल्य
काठमाडौँ : राजधानीका बजारमा भाइमसला किन्नेहरूको घुइँचो छ। असन, इन्द्रचोक, मक्खनगल्लीमा ग्राहकको ठेलमठेल छ। खुद्रा मात्र नभई थोकमा काजु, बदाम, किसमिस, ल्वाङ, सुकुमेल, अन्जिर, छोकडा, पिस्ता, नरिवललगायत मसला किन्ने पसलेहरू पनि बजारमा प्रशस्तै भेटिन्छन्।
नेपाली बजारमा ८० प्रतिशत मसला बाहिरबाट आयात गरिने व्यवसायीहरू बताउँछन्। मसला व्यापारी रामकुमार श्रेष्ठलाई अहिले मसला बेच्न भ्याइ नभ्याइ छ। उनको पसल मक्खन टोलमा रहेको छ। वर्षभरि बेचिने मसलाको ५० प्रतिशत भाग तिहारमा बिक्री हुने उनी बताउँछन्। तिहारमा मसला पसलमा मात्र नभई चस्मा, लुगा, फलफूल पसलमा समेत मसला राखेर व्यापारीले बेच्ने गरेका छन्।
मसलाको व्यापार अरू बेलाभन्दा तिहारमा धेरै हुने बताउँछन्, व्यापारी श्यामकृष्ण श्रेष्ठ। ‘ग्राहकलाई सजिलो होस् भनेर मैले पसलबाहिर मसलाको मूल्य लेखेर टाँसिदिएको छु,’ उनले भने, ‘हाम्रो पसलमा १ सय ५० देखि दुई हजार रुपैयाँ पर्ने मसलाका प्याकेट छन्।’ यस वर्ष मसलाको भाउ बढेको उनी बताउँछन्। ‘ग्राहकले मसला महँगो भयो भन्छन्,’ उनले सुनाए, ‘हामीले पनि बाहिरबाट किनेर ल्याउँछौँ। हामीलाई जति पर्छ, त्यसमा अलिकति नाफा राखेर त बेच्ने हो। ग्राहकको चित्त बुझाउनै ग्राहो छ।’
भाइमसला किन्दै भेटिएकी रूपा विष्टले यसपालि मसला साह्रै महँगो भएको बताइन्। ‘बाहिरबाट हेर्दा मसलाको प्याकेट ठूलो देखिन्छ, भित्र केही पनि हुँदैन,’ उनले भनिन्, ‘त्यसका लागि पनि महँगो पैसा तिर्नुपर्छ। १ सय ५० को मसलामा एउटा ठूलो चकलेट, चारपाँच वटा बदाम, एउटा ओखरबाहेक केही हुँदैन।’
उपभोक्ताको गुनासो छ– ‘१ सय ५० पर्ने मसलाको प्याकेटमा एउटा ठूलो चकलेट, चारपाँच वटा बदाम र एउटा ओखरबाहेक केही हुँदैन।’
सामाखुशीदेखि भाइमसला किन्न असन आएकी सरिता बस्नेतले एक हजार रुपैयाँमा चार वटा मसलाका प्याकेट किनेको बताइन्। ‘असनमा अलि सस्तो पाइएला भनेर आएकी थिएँ तर भाउ उस्तै रैछ,’ उनले भनिन्, ‘तिहारमा व्यापारीले मौकाको फाइदा उठाउने गरेका छन्। जति पैसा परे पनि भाइटीका लागि किन्नै पर्छ।’
यस वर्ष मखनाको भाउ दोब्बर बढेको होलसेल व्यापारी बताउँछन्। ‘चार सय रुपैयाँ किलोको मखनाको भाउ बढेर हजार पुगेको छ,’ व्यापारी श्यामकृष्ण श्रेष्ठ भन्छन्, ‘हामीले पनि बाहिरबाट महँगो मूल्य र भाडा तिरेर ल्याउँछौँ। त्यसैले महँगो पर्न गएको हो।’
पसलका लागि मसला किन्दै भेटिएका रमेश लामाले आफूले पाँच–दश रुपैयाँ राखेर बेच्ने गरेको बताए। ‘अहिले सबै कुराको भाउ बढेको छ,’ उनले भने, ‘चलेको भाउमा पाँच–दश रुपैयाँ राखेर बेच्ने गरेको छु।’ तिहार आउन दुई हप्ता अगाडिदेखि नै असनमा किनमेल गर्नेको भीड लाग्न थालेको छ। इन्द्रचोकस्थित शंख पसलका मनोज जसवालका अनुसार उनले एक महिनाअघिदेखि तिहारका लागि मसला बेचिरहेका छन्। ‘व्यापार फस्टाउने भनेकै तिहारमा हो,’ उनी भन्छन्, ‘तिहारमा भ्याइ नभ्याइ हुन्छ। पसलमा तीनचार जना काम गर्ने हुँदा पनि फुर्सद पाइँदैन।’
बजारका रेडीमेड प्याकेटभन्दा अलि–अलि सबैथोक किनेर घरमै प्याकेट तयार पार्नु ठीक भएको बताइन्, सविता थापाले। असनमा मसला किन्दै भेटिएकी उनले भनिन्, ‘प्याकेटको मसलाभन्दा अलि–अलि सबैथोक किन्छु। घरमै प्याकेट तयार पार्छु। प्याकेटको मसला त देख्दा मात्र ठूलो हुन्छ, भित्र केही हुँदैन।’