देउसीले जन्माएको गायक

देउसीले जन्माएको गायक

चिल्लो तालु, छुस्स दाह्रीजुंगा। हातमा गुलाब, संगीत संकेत र माइक्रोफोन अंकित ट्याटु खोपिएको। कान र आँखीभुइँमा पियरसिङ गरेर लगाइएका मुन्द्रा। गायक डिल्ली फोम्बोको गेटअप देख्दा कतिपयले उनलाई रक, हिपहप गायक ठान्छन्। तर, खासमा उनी नेपाली मौलिक गीत–संगीतमा रमाउँछन्।

गाउन त उनले विभिन्न खालकै गीत गाएका छन्, मन खाने गीत चाहिँ आफ्नै मौलिकता बोकेका हाक्पारे, पालाम, मारुनी हुन्। भन्छन्, ‘व्यावसायिकताका लागि बजार अनुसारका गीत पनि गाउनुपर्छ तर मौलिक गीतमा जस्तो सन्तुष्टि अरूमा पाइँदैन।’

देउसी–भैलोबाट गायक

डिल्लीका बुबा भारतीय सेनामा थिए। भारतमा मेला घुम्न गएका बेला बुबाले मुरली किनिदिए। हातमा मुरली परेपछि दिनरात बजाउँदाबजाउँदै उनी जान्ने भए। मुरली बजाउन जानेपछि उनलाई तिहारका बेला देउसी–भैलोमा हिँड्न साथीहरूले बोलाउन थाले। देउसी–भैलोमा उनी बाँसुरीवादकका रूपमा सहभागी हुन थाले।

देउसी–भैलो गाउँदागाउँदै उनी गायक बने। भन्छन्, ‘बाँसुरी बजाउँदै जाँदा गाउन पनि थालेँ। त्यहीँबाट संगीतको नशा लाग्यो।’

२०५० सालतिर धरानका गायन प्रतिभालाई समेटेर ‘भ्वाइस अफ धरान’ एल्बम निस्किएको थियो। त्यसमा डिल्लीले आफ्नै शब्द र संगीतमा ‘साँगुरी डाँडा’ र ‘मैले प्रीतिका’ बोलका गीत गाएका थिए। पूर्वाञ्चलव्यापी बिट कन्टेस्टमा एकल गायनमा उनी विजेता बने। त्यही बेलादेखि उनी सांगीतिक क्षेत्रमा चिनिन थाले। 

संगीतमा चिनिन थालेको बेला उनी संगीतलाई चटक्कै छाडेर पढ्नका लागि काठमाडौँ हिँडे। समाजशास्त्रमा एमए सकेर फर्किएपछि पुनः संगीतमा जोडिए। संगीत क्षेत्रमा लागेका धेरैलाई पढ्न नसकेको आरोप लाग्ने गर्छ। डिल्ली भने संगीत क्षेत्रमा ‘पढे लेखेका गायक’ भनेर चिनिन्छन्।

उनी गीत–संगीतदेखि समाज र संस्कृतिसम्मको विषयमा बहस गर्न सक्छन्। मिजासिलो स्वभावका डिल्ली अहिले देश र विदेशका विभिन्न स्टेजमा गाउन पुग्छन्। 

काठमाडौँको हेपाइ

नेपाली संगीतमा राम्रो गर्न काठमाडौँ बस्नुपर्ने विभिन्न कारण छन् संगीतकर्मीका। डिल्लीलाई पनि एकताका संगीतमा केही गर्न काठमाडौँ जानुपर्छ भन्ने लाग्यो। त्यसबेला चलेको एउटा कम्पनीले एल्बम निकालिदिने पनि भयो। उनी केही दिन त त्यो कम्पनीका मालिकसँग हिँडे।

‘तर, ठाउँ–ठाउँमा ती कम्पनी मालिकले हेपाहा शैलीमा ‘उसलाई मैले चान्स दिँदैछु’ भन्दै अरूसँग परिचय गराउँथे,’ उनी सम्झिन्छन्, ‘दिनदिनै त्यस्तो अपमान सहन सकिनँ। त्यसपछि एल्बमको माया मारेर फर्किएँ।’

केही समयअघि पनि काठमाडौँमा राम्रै नाम कमाउँदै गरेका संगीतकारबाट उस्तै हेपाई सहे उनले। एक जना संगीतकारले उनलाई फिल्मको गीत गाउन भनेर बोलाए।

उनको शैली पनि पहिलाका कम्पनी मालिकभन्दा फरक थिएन। गाउन दिने बहानामा दिनदिनै रेस्टुरेन्टमा बोलाउने र बिल तिर्न लगाउने गरेपछि उनको पारो तात्यो। ‘त्यसपछि गीत चाहिँदैन भनेर छाडेर हिँडेँ।’

संगीतमा मौलिकता खोज्दै

लामो ग्यापपछि उनले २०६१ तिर म्युजिक नेपालबाट एकल एल्बम ‘बोहनी’  बजारमा ल्याए। त्यो बेला एल्बमको गीत ‘माया’ राम्रैसँग चलेको थियो। तर, उनको गीतको चर्चा भएकै बेला देशमा जनआन्दोलन चल्न थाल्यो। गीत ओझेल पर्‍यो। 

विभिन्न कन्सर्टमा गाइरहेका डिल्ली सन् २०१२मा एनसेल रक्स कार्यक्रममा सहभागी भएपछि चर्चामा आए। कार्यक्रममा उनले ‘आउटसाइडर’ ब्यान्डसँग गाएका थिए। पछि उनी त्यही ब्यान्डका भोकलिस्ट बने। ब्यान्ड सामूहिक हो। समूहमा विचार फरक हुन सक्छ।

डिल्ली ब्यान्डबाट मौलिक नेपाली गीत गाउन चाहन्थे तर उनले चाहेजस्तो अवस्था भएन। ‘मेरो मौलिक गीततिर झुकाव थियो तर समूहमा कुरा मिल्न गाह्रो हुन्थ्यो,’ उनी सुनाउँछन्, ‘त्यसपछि स्वतन्त्र रूपमा आफूले चाहे जसरी गाउनका लागि ब्यान्ड छाडेँ।’

अहिले उनी आफूले चाहेजस्ता गीत बनाउन व्यस्त छन्। उनले ब्याकअप ब्यान्डका रूपमा ‘बी बोक्स’लाई साथमा लिएका छन्। उनी व्यावसायिक रूपमा अघि बढ्न अन्य गीत गाउँछन् अनि आफ्नै रुचिका लागि हाक्पारे, पालाम गाउँछन्। 

डिल्ली नेपाली मौलिक भाकाहरूको अध्ययन गरिरहेका छन्। उनी लोप हुन लागेका भाकाको विषयमा पुस्तक पनि तयार गर्दै छन्। मौलिक भाकाको अध्ययन गर्दै जाँदा उनलाई एउटा लोक सांस्कृतिक समूह नै बनाउने इच्छा छ। भन्छन्, ‘नेपालमा हजारौँ मौलिक भाका छन्, सात रात, सात दिन गाउने गीत छन्। यिनलाई जोगाउन युवा नै जुट्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.