सभापति देउवा भन्छन् : अब कांग्रेस एक ढिक्का हुन्छ, पार्टीमा कुनै समस्या छैन
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट बताएका छन् ।
बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले देउवा निवास बूढानीलकण्ठमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘अब कांग्रेस एक हुन्छ, पार्टीभित्र यतिवेला कुनै समस्या छैन ।’
पत्रकारको देउसे टोलीसँग कुरा गर्दै उनले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्ने पनि दाबी गरे । ‘मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म महासमिति बैठक काठमाडौंमा बस्छ, अब बैठक सर्दैन’, देउवाले भने, ‘हामी पार्टीलाई सुदृढ बनाएर लैजान्छौं ।’ कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि देउवाले दाबी गरे ।