संघीयता कार्यान्वयनको भूमरीमा सरकार : मन्त्री पण्डित

संघीयता कार्यान्वयनको भूमरीमा सरकार : मन्त्री पण्डित

भक्तपुर : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार संघीयता कार्यान्वयनको भूमरीमा फसिरहेको बताएका छन् ।

नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्न बिहीबार भक्तपुरको मध्यपुर थिमी पुगेका मन्त्री पण्डितले सरकार संघीयता कार्यान्वयनको भूमरीमा फसिरहेको स्वीकार गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गरी मध्यपुर थिमी पुगेका उनले भने, ‘सरकार संघीयता कार्यान्वयनको भूमरीमा फसिररहेको छ तर यो भूमरीबाट उम्केर अघि बढ्न सरकार सक्षम पनि रहेको छ ।’

उनले इतिहासमा सबैले सम्झने गरी वर्तमान सरकारले काम गर्ने दावीसमेत गरे । समृद्ध नेपाल र सुखी नेपाली बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ थियो ।

‘धेरै कुरा तुरुन्तै भन्नासाथ सम्भव हुँदैन’, मन्त्री पण्डितले भने, ‘तर सरकारबाट हर सम्भव प्रयास भइरहेको छ ।’ आफूभन्दा अघि बोल्ने नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई जवाफ दिने क्रममा मन्त्री पण्डितले सरकार एकलकाँटे हिसाबले अघि नबढेको बताए ।

‘कांग्रेसले पनि प्रतिपक्षको भूमिका सही ढंगले निभाउनुपर्छ । आफू सत्तापक्षमा हुँदा के गरेको थियो, त्यतातिर पनि ध्यान दिनुपर्छ’, उनले थपे, ‘त्यसैले सरकार एकलकाँटे हिसाबले अघि बढ्दैन । सत्ता पक्ष र प्रतिपक्ष दुवै सँगसँगै पाइलामा पाइला मिलाएर देश निर्माणमा अगाडि बढ्नुपर्छ । यति गर्न सके समृद्ध नेपाल र सुखी नेपाली बनाउन धेरै समय लाग्दैन ।’

कार्यक्रममा कांग्रेस नेता श्रेष्ठले सरकार दुईतिहाइको दम्भ लिएर एकलकाँटे ढंगले अघि बढिरहेको आरोप लगाएका थिए ।
उनले नेपाल संवत्लाई व्यवहारमै लागू गर्ने पूर्ववर्ती धेरै सरकारले निर्णय गरे पनि पछि आउने सरकारले अपनत्व स्वीकार गर्न नसक्दा नेपाल संवत् व्यवहारमै कार्यान्वयन हुन नसकिरहेको सुनाए ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानद्वारा आयोजित माल्यार्पण कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धर, पूर्वअध्यक्ष मदनकृष्ण श्रेष्ठलगायतले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई माल्यार्पण गर्ने कार्यक्रम सरकारी तहमै हुनुपर्ने माग गरे ।

उनीहरुले नेपालको मौलिक संवत् नेपाल संवत्लाई सरकारी कामकाजकै संवत्को रुपमा व्यवहारमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल संवत्को नयाँ वर्षको अवसरमा शुभकामना र्याली गर्ने क्रममा पहिलोपटक मोटरसाइकल र्यालीको आयोजना गर्ने लयता दबूका अध्यक्ष राजा शाक्य, नेपाल संवत्को पञ्चाङ निर्माण तथा व्यवस्थापन समितिका संयोजक दैवज्ञ केशरगोविन्द जोशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न मौलिक एवं सांस्कृतिक नाच तथा नौबाजा प्रस्तुत गरिएको थियो । त्यस्तै शंखधर बुलेटिनसमेत विमोचन गरिएको थियो ।

आजभन्दा ११३८ वर्षअघि शासक वर्गको ऋणमा डुबेका जनताको ऋणमोचन गरी शासकको अनुमति एवं स्वीकृतिमा शंखधर साख्वाःले नेपाल संवत् सञ्चालनमा ल्याएका थिए । नेपाल संवत्को पात्रोअनुसार बिहीबार नयाँ वर्षको पहिलो दिन हो । 

यस दिन नेपालभाषी समुदायले म्हःपूजा गरेर नयाँ वर्षलाई शुभारम्भ गर्छ । आजै देशभर नयाँ वर्षको शुभकामना र्याली गरिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.