‘एक महिनामै तीन राप्रपाबीच एकता, ९० प्रतिशत कुरा मिल्यो’
काठमाडौं : एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीनवटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भसकेको बताएका छन् । उनले अबको एक महिनाभित्र पार्टी एकता हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो ।’
लोहनीले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारे पनि कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने,‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनैजना नेताहरु मिलेर जान्छौं । यसमा कुनै दुई मत छैन ।’
एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा भने आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने पनि उनले जनाए । लोहनीले भने, ‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’