कविता : दिदीको बाटो हेरेर बसेको छु
आज
कागतिहार, कुकुर तिहार र गोवर्द्धन पूजापछि
लक्ष्मीपूजाको झिलिमिली झिल्ला
देउसे र भैलिनीले भट्याएर
गाउँ सहर सबै सबै
आनन्द र खुसीले नाचेथ्यो
हिलो(मैलो र बादल हटेर
सफा खुलेको आकाशमा
झपक्क सयपत्री र मखमलीले सजिएर
धरतीले ऐना हेरिरहेछ
आफूलाई सिँगारपटार गरि सिँगारिएर
मलाई थाहा छ
मेरी दिदीको कुड्का सुपारीको निम्ता
आए लगत्तै म पञ्चक लागेको थाहा पाउँथे
अनि मादल, मुरली र बिनायोले
गुञ्जायमान हुन्थ्यो गाउँबेसी
अनि दिदी
तिमी हरेक वर्ष
कुरेर बस्थिउ मलाई
भाइटीकासम्म
दिदी
तिमीले मलाई
सप्तरङ्गी टीका लगाइरहेको फोटो
भित्तामा झुण्डिएको
कति राम्रो
ठूलो टपरीमा सेलरोटी, अनरसा, मीठाई
र थरि थरिका परिकारहरू
झपक्क फक्रिएका सयपत्रीको थुँगा थुँगामा
म तिमीलाई नै
हाँसेको देख्छु दिदी
आज भाइटीकाको दिन
वर्षैपिच्छे मेरो चिरायुको कामना गरेर
लगाइदिएका मखमलीका मालाहरु सजाएर
तिमीलाई कुरेर बसेको छु दिदी
दिदी तिमी सधैँ बस्थ्यौ
मेरो बाटो हेरेर
आज म बसिरहेछु
तिम्रो बाटो हेरेर
तिम्रो मायाको भाइटीका लगाएर
तिम्रो असंख्य माया बटुली
यो संसारलाई धेरै धेरै खुसी बाड्न
-राकेश कार्की
लस एन्जेलस