तिहारका सदाबहार सुर

तिहारका सदाबहार सुर

‘तिहारै आयो लौ झिलिमिली

ए सुन हजुर भैलेनी आए माग न
मनको आँखा उघारी हेर
ए सुन हजुर लक्ष्मी आइन् आँगन’

हरेक वर्ष तिहार नजिकिन थालेपछि रेडियो, टेलिभिजनमा यो गीत गुञ्जिन थालिहाल्छ। देउसी–भैलोमा पनि उत्तिकै बज्छ यो गीत। तिहारका लागि अनिवार्यजस्तै बनेको यो गीतमा बालबालिका, युवादेखि वृद्धवृद्धासम्म नाच्छन्। धेरै वर्षअघि बनेको ‘स्वर्ग’ फिल्ममा रहेको यो गीत तिहारको कालजयी गीत बनेको छ।

गीत–संगीतबिना तिहार कल्पनै गर्न सकिँदैन। तिहारका बेला दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका र सयपत्री÷मखमली फूलका माला लगाइदिने मात्र होइन साँझमा भैलो र देउसी खेल्ने परम्परा छ। गीत–संगीतबिना देउसी–भैलो असम्भव छ। मादल, खैँजडी, झ्याम्टा बजाएर लयबद्ध देउसी–भैलो गाउने गरिन्छ। त्यसैले पनि तिहार र संगीत एकअर्काका परिपूरकजस्तै हुन्। घर–घरमा गएर देउसी–भैलो खेल्ने मात्र होइन पछिल्लो समय विभिन्न गीतमा नाच्दै र गाउँदै देउसी–भैलो खेल्ने चलन छ।

सन् १९९१ तिर फिल्म ‘विजय पराजय’मा समेटिएको गीत ‘निधारमा लर्काएर सप्तरंगी टीका’ पनि तिहारको प्रसिद्ध गीत हो। तिहारको महत्व र दाजुभाइ दिदीबहिनीको सम्बन्ध उल्लेख गरिएको यो गीत गायिका हेमलताको स्वरमा रेकर्ड भएको थियो। यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक र चर्चित छ। त्यसैले त अहिले पनि तिहारका बेला रेडियोदेखि स्टेज कार्यक्रम र देउसी–भैलोसम्म यही गीत बज्छ। 

‘राँको’ फिल्मको गीत ‘दियो बाली साँझको’ लक्ष्मी पूजाका दिन बढी गुञ्जिने गर्छ। त्यसबाहेक पनि तिहारैभरि बज्ने यो गीत आशा भोसलेले गाएकी थिइन्। त्यो गीत अहिले पनि उस्तै सदाबहार छ।

तिहारमा गुञ्जिने गीतमा धेरैजसो फिल्मकै गीत छन्। ‘अन्याय’ फिल्मको गीत ‘अधरमा आज उनकै छ गीत’ धेरै वर्षदेखि अहिलेसम्म उत्तिकै मान्छेको मनमा बस्न सफल छ। चार वर्षअघि बनेको फिल्म ‘कोहिनुर’को गीत ‘ढकमक फूल’ले पनि तिहारको कुरा गरेको छ। फिल्मको दृश्यमा पनि तिहारको माहोल देखाइएको छ। तिहारमा यो गीत पनि रेडियो टेलिभिजनमा खूब बज्ने गर्छ।

गायिका सिन्धु मल्लले गाएको तिहार गीत ‘झिली र मिली’ पनि चर्चित छ। तिहारका बेला यो गीत पनि बज्ने गर्छ। अरुण उपत्यका समूहले तयार पारेका तिहार गीत उत्तिकै बज्छन्। अरुण उपत्यका समूहका नवीन खड्का, पुस्तका खड्का, बलराम समाल लगायतले गाएको देउसी गीत तिहारमा घर–घरमा गुञ्जिन्छ। 

तिहारका बेला गायक राजु लामाले गाएको ‘भाइटीकामा भेट्न आउँला’ गीत धेरै बज्ने गीतमा पर्छ। यो गीतले विवाह भएर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा छ। 

पछिल्लो समय तिहारमा रेडियो टेलिभिजनमा बज्ने गीतमा पर्छ गायक एपी शेर्पाको ‘भाइटीकामा पर्खिरहन्छिन्’। स्वर्गीय राइमन राइको शब्द÷संगीत रहेको यो गीत एपी आफैँले पनि तिहारका बेला देशविदेशका सांगीतिक कार्यक्रममा गाउने गरेका छन्। यो गीतले परदेश गएका माइतीलाई पर्खिएर बस्ने चेली तिहारमा माइती नफर्के रुन्छिन् भन्ने सन्देश बोकेको छ। यस्ता गीतको बेग्लै महŒव रहेको बताउँछन्, गायक एपी शेर्पा। ‘यस्ता गीतको सन्दर्भ कहिल्यै मर्दैन,’ उनी भन्छन्, ‘हरेक वर्ष यी गीतले हामीलाई ताजा बनाउँछन्।’ 
गायक सुगम पोखरेलले दशैँ–तिहारका केही गीत गाएका छन्। उनका गीत पनि दशैँ–तिहार बेला गुञ्जिन्छन्। 

‘वर्षमा दिनमा लै लै 
हर्षका दिन यी लै लै 
दशैँ तिहार चाडबाड 
खुशीले सारा भयो नि संसार’

सुगमको स्वर र संगीत अनि रवि श्रेष्ठको शब्द रहेको यो गीत दशैँदेखि तिहारसम्मको मौसममा रेडियो र टेलिभिजनमा प्रशारण हुन्छ। गीतको भिडियोमा सुगमले नै अभिनय गरेका छन्। गीतले देशमा हुनेलाई दशैँले खुशीयाली ल्याउने र परदेशमा हुनेका आँखामा आँशु छल्किने कुरा गरेको छ।

गायक रोजिन पाण्डेको गीत ‘यो दशैँ–तिहार’ ले पनि दशैँ–तिहारकै कुृरा गरेको छ। सुमनकुमार श्रेष्ठको शब्द तथा संगीत रहेको पप शैलीको यो गीतले घरबाट टाढा भएको युवाले दशैँ र तिहारमा गाउँमा आमाबुबाको आशीर्वाद लिएको र पिङ खेल्दै हिँडेको सम्झना गरेको छ।

नितेशजंग कुँवरको पप शैलीकै गीत ‘दशैँ–तिहार’ ले वर्ष दिनमा आउने चाडमा रमाइलो गरौँ भन्छ। गीतको भिडियोमा सृष्टि श्रेष्ठ, ज्योत्स्ना योगी, सारुक ताम्राकार लगायतले अभिनय गरेका छन्। गीतमा देश विकास हुन नसकेको कुरादेखि आशीर्वाद र रमझमसम्मका कुरा समेटिएका छन्। देउसी–भैलोसमेत मिसाइएको गीतले भन्छन् ‘ह्यापी दशैँ, ह्यापी तिहार’
चाडपर्वसम्बन्धी गीत तयार पार्ने र गाउने गर्दै आएका बलराम समालको भनाइमा यस्ता गीत वर्षमा हप्ता दश दिन बज्छन् तर अरू बेलाभन्दा धेरै पटक।

उनी भन्छन्, ‘दशैँ–तिहारका बेला घण्टैपिच्छे दोहोरिने यस्ता गीत वर्षभरि बज्ने अरू गीतभन्दा धेरै बज्छन् र छोटो समयका लागि चर्चित पनि बन्छन्। यी कालजयी गीत हुन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.