पलाँताको थाडीमा पहिलो पटक मोटरसाईकल पुग्याे
कालिकोट :कालिकोट जिल्लाको अति विकट क्षेत्र पलाँता गाउँपालिकाको वडा नं. २ थाडीमा पहिलो पटक मोटरसाईकल पुग्दा स्थानीय नागरिकले खुसीयाली मनाएका छन्। थाप्लोमा रसी र पिठिउँमा ५० किलोको भारी बोकेर नुन बाेक्दै आएका उनीहरुले गाउँमा पहिलो पटक मोटरसाईकल पुग्दा खुसीयाली मनाएका हुन्।
२०६० साल अघि पलाँतावासीहरु कैलालीको राजापुरबाट २६ दिन लगाएर दैनिक उपभोग्य सामानहरु बोकेर ल्याउथ्ये। स्थानीय धिरबहादुर बमले भने, -'अब गाउँमा मोटरसाईकल आयो। गाउँलेहरुका लागि यो निकै खुसीको कुरा हो।' २०६३ सालमा कालिकोटको सदरमुकाम मान्ममा पहिलो पटक गाडी पुगेपछि नुन किन्ने बजार पनि नजिकिदै गएको छ।
हाल कर्णाली करिडोरमा जीप संचालन भएपछि पलाँता गाउँपालिकाको सिमाना घाटा चौरसम्म यात्रा सहज भएको छ। घाटा चौरदेखी पलाँता गाउँपालिकाले डोजर र पलाँताका युवाको कार्यदलमार्फत पलाँताको राडुनेटा जोड्ने सडकको ट्याक ओपन गरेपछि गाउँमै मोटरसाईकल जान थालेका छन्। घाटा चौरदेखि करिब ९ किलोमिटर सडक थाडीसम्म ट्याक ओपन भएको छ।
मान्मदेखी भाइटीका लगाउन पलाँता गएका स्थानीय नमराज बुढाले पलाँताको थाडीमा पहिलो पटक मोटरसाईकल पुर्याएका हुन्। जिल्ला सदरमुकाममा व्यापार व्यवसाय गरी बस्दै आएका बुढाले आफ्नै मोटरसाईकल पहिलो पटक गाउँमा पुर्याउँदा खुसीको सिमा नै नरहेको बताए। उनले भने,' गाउँमा बहिनीको हातबाट भाइटीका लगाउन मोटरसाईकलमै अाइपुगियो।'
उनलाई गाउँमा सबै स्थानीयहरुले पहिलो पटक गाउँमा मोटरसाईकल ल्याएको भन्दै अविर र फूलमाला लगाएर भव्य रुपमा स्वागत गरेका थिए।
स्थानीय बिष्णु रोकायाले गाउँमा पहिलो पटक मोटरसाईकल पुग्दा आफुहरुले खुसीयाली मनाएको बताए। उनले भौगोलिक रुपमा अति विकट क्षेत्रका रुपमा चिनिएको पलाँता गाउँपालिकाको थाडीका स्थानीय नागरिकहरु अब चाँडै गाडी चड्न पाउने आशाले खुसी भएको बताए। उनले भने,'गाउँपालिकाको बजेटले अहिले ९ किलोमिटर सडकको ट्याक खोलिएको छ। यसको स्तरोन्नती गरी घाटा चौरमा कर्णाली नदीमाथि पक्की पुल निर्माण भएपछि पलाँतामा यातायात सेवा सहज रुपमा संचालन हुनेछ।'
पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले गाउँपालिकाको बजेट नै सडक केन्द्रित बनाईएको बताउदै अबको दुई वर्षभित्र गाउँपालिकाका ९ वटै वडामा सडक संजालले जोड्ने तयारी रहेको बताए। उनले यसका लागि चालु आर्थिक वर्षमा झण्डै पाँच करोड बजेट सडकमै विनियोजन गरेर काम गरिरहेको बताए।