आर्ट ट्रीको ‘विपरीत सपनाहरू’

आर्ट ट्रीको ‘विपरीत सपनाहरू’

काठमाडौं : ग्यालरीको छेउ पुग्नेबित्तिकै अनौठो दृश्य देखा पर्छ। एकातिर कालो स्लेटमा महेन्द्रमाला लेखिएको किताबको कभरजस्तै ढुंगाका स्लेट छन्। अर्कातिर पुराना काठका टुक्रा जोडिएर बनाइएका तीनवटार्‍याक देखिन्छ। प्रत्येकर्‍याकमा दुइटा लुगा झुन्ड्याइएको छ।

एउटामा परम्परागत नेपाली महिलाले लगाउने पहिरन छ भने अर्कोमा बिभिन्न ब्रान्डका लोगो टाँसिएको बेढंगको नमुना। ‘कल्चरल कोलोनाइजेसन’ शीर्षकमा रहेको लुगाको स्वरूपले प्रत्येक मान्छेको ब्रान्डप्रतिको आकर्षणलाई व्यंग्य प्रहार गर्छ।

आर्टको परिकल्पना गरेकी हुन्, शिलासा राजभण्डारीले। फाइन आर्टमा मास्टर्स गरेपछि उनी निरन्तर कला क्षेत्रमा सक्रिय छिन्। भन्छिन्, ‘हामीलाई थाहा छ, ती सबै नक्कली ब्रान्ड हुन्, तैपनि हामी नाममै रमाइरहेका छौं।’ उनका अनुसार ब्रान्डेड भन्दैमा सबै ओरिजनल हुँदैनन्। थाहा पाएर पनि हामी अन्य देशका कमसल उत्पादनलाई स्थान दिइरहेका छौं। यसले हाम्रो स्थानीय पहिचान नासिँदै गएको छ।

त्रिपुरेश्वरमा रहेको ‘आर्ट ट्री’को ओपन स्टुडियोमा ‘विपरीत सपनाहरू’ शीर्षकको सामूहिक आर्ट प्रदर्शनी चलिरहेको छ। ‘आर्ट ट्री’ इन्स्टलेसन र परफरमेन्स आर्टमा सक्रिय कलाकारहरूको समूह हो। सन् २०१३ देखि सक्रिय यो समूहमा राजभण्डारीसँगै मेख लिम्बू, हितमान गुरुङ, लभकान्त चौधरी, विकास श्रेष्ठ र सुवास तामाङ छन्।

आर्ट स्टुडियोभित्र पसेपछि देखिन्छ, अनेक बुट्टा भरिएका काठका पत्रहरू। यसलाई भित्तामा झुन्ड्याइएको छ। काठमा विभिन्न बुट्टा कुँदिएको छ। यो आर्ट विकास श्रेष्ठले निर्माण गरेका हुन्। उनले वसन्तपुर दरबारको छेउछाउमा रहेको पुरानो स्वरूपदेखि तलेजु भवानीको चित्र पनि काठमा उतारेका छन्। धार्मिक परम्पराका सुन्दर दृश्यहरू संरक्षणको अभावमा कसरी विनाश हुँदैछन्, आर्टमा देख्न सकिन्छ।

छेउमा छ, महेन्द्रमाला सिरिजमा ढुंगाका स्लेटहरू। यी स्लेटहरू किताबका पाना जसरी पल्टाउन सकिन्छ। त्यहाँ कुँदिएका अक्षरहरू कितावकै स्वरूपका छन्। अक्षरहरू ढुंगामा कुद्न सुवास तामाङले लामो समय खर्चिएका छन्। नेपालको शिक्षामा महेन्द्रमाला पुस्तक आएपछि नेपाली भाषा इतरका समुदायहरूको संस्कृति विनाश भएको उनको आरोप छ।

नेपाली इतिहासमा ‘महेन्द्रमाला’लाई एकताको प्रतीकका रूपमा बुझ्ने गरिन्छ तर थारू, राई, लिम्बू, तामाङ लगायतका जातजातिको मातृभाषालाई शिक्षामा कहिल्यै स्थान नदिइएकोमा उनको आक्रोश छ। भन्छन्, ‘स्कुलमा नेपाली भाषा बोल्नैपर्ने बाध्यता थियो, यसले गर्दा हामीले आफ्नो भाषा खुलेर बोल्न पाएनौं। अहिलेका बालबालिका त आफ्नो मातृभाषा नै बुझ्दैनन्।’

हितमान गुरुङले बनाएका इन्स्टलेसन आर्ट हेर्दा लाग्छ, नेपालको इतिहासको सम्पूर्ण चित्र यहीँ समेटिएको छ। चित्रमा जंगबहादुरले जारी गरेको मुलुकी ऐनदेखि अहिलेको नेपालको संविधानको प्रतिविम्बसमेत समेटिएको छ। ‘नेपालका शासक वर्गले सधैं कडा नियम बनाएर निमुखा जनतामाथि लागू गरिरहेका छन्’, उनी आक्रोशित हुन्छन्।

मेख गुरुङले सिर्जना गरेको कन्सेप्टमा एउटा पुरानो ट्यांकामाथि आधा जलेको लिम्बू भाषाको किताब छ। छेउछाउमा नेपाली शिक्षाका विकासक्रममा लेखिएका पाठ्यपुस्तकका केही स्वरूप छन्। एउटा अँध्यारो कोठामा १२÷१३ वटा घैला झुन्डिएको छ। त्यसमुनि पराल बिछ्याई थरीथरीका लाइट जडान गरिएको छ।

हरेक घैलामा एउटा एउटा नारा लेखिएको छ। बत्ती बल्नासाथ ती भनाइमा दर्शकको आँखा पर्छ। कुनैमा पृथ्वीनारायण शाहको दिव्योपदेश लेखिएको छ त कुनैमा टीकापुर घटनाको चित्रण गरिएको छ। यो आर्टले थारू समुदायलाई राज्यले गरेको उपेक्षाविरुद्ध आवाज उठाउँछ। एउटा विशेष घटना र पहिचानको मुद्दा बोकेको छ यो आर्टले।

थारू, लिम्बू, तामाङ लगायतका अनगिन्ती जातजातिका भाषा र संस्कृतिलाई राज्यले गरेको उपेक्षाको विषयमा प्रायः आर्ट सम्बन्धित छ। सबैले पहिचान खोजिरहेका छन्। यो आर्ट प्रदर्शनी पहिचानको माग पनि हो। समूहले दोस्रोपटक खुला आर्ट सो गरेको हो। प्रदर्शनी मंसिर १ सम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.