नो ह्याप्पी इन्डिङ

नो ह्याप्पी इन्डिङ

काठमाडौं : सन् २९ को कुरा हो। गोपाल शिवाकोटी (२८) ले एउटा वृत्तचित्र तयार पारे। टाइटल थियो ‘इन सर्च अफ सर्चम्यान’ अर्थात् ‘खोजमा खोजीकर्ता।’ समाजको बेथिति खोज्न आग्रह गरिरहेको एक व्यक्तिको कथा थियो त्यो। उनको डकुमेन्ट्रीमा समस्या देखिन्थ्यो, समाधान होइन। यद्यपि उनको त्यो वृत्तचित्र हाम्रै समाजको विसंगत रूप थियो, जसबाट भाग्न सायदै सकिन्छ।

काठमाडौंको मित्रपार्कमा बस्दै आएका शिवाकोटीको अचेल एउटै काम छ, डकुमेन्ट्री इडिटिङ र मेकिङ। अग्लो अनि दुब्लो शरीरका उनी हत्तपत्त आफ्नो कुरा राख्न सहज मान्दैनन्। भन्छन्, ‘मलाई कसैको अगाडि बसेर कुरा गर्न निकै डर लाग्छ।’ तर, कामप्रतिको लगाव भने उनको मुहारमा प्रस्टै झल्कन्छ।

कुनै विषयमा डकुमेन्ट्री बनाउनु छ भने उनी क्यामेरा लिएर एक्लै कुद्दा रहेछन्। कारण खुलाउँदै भन्छन्, ‘धेरै युवा मसँग काम गर्ने रुचि देखाउँछन् तर डकुमेन्ट्रीको विषय सुनेपछि भाग्छन्।’ उनले आफ्नो दिक्दारी सुनाए, ‘पिंकी गुरुङको डकुमेन्ट्री बनाउन खोज्दा यस्तै भयो।’

स्वतन्त्र डकुमेन्ट्री मेकरका रूपमा काम गर्दै आएका शिवाकोटीले ‘ह्वेन स्याल आई सी माई ड्याडी’, ‘सेभ गंगामाया’, ‘वार क्राइम’, ‘पिंकी गुरुङ’ जस्ता डकुमेन्ट्री बनाइसकेका छन्। ‘यु आर विथ डा. केसी’ टाइटलमा उनको अर्को डकुमेन्ट्री पनि बन्दै छ।

डकुमेन्ट्री निर्माणमा शिवाकोटीले जोखिम मोलेको प्रस्टै देखिन्छ। एकपछि अर्को संवेदनशील मुद्दा उठाउँदा सरकारी पक्षको दबाब पनि झेल्नु परेको उनी बताउँछन्। सन् २१७ मा उनले बनाएको ‘वार क्राइम’ टाइटलको डकुमेन्ट्री त अझै संवेदनशील छ। डकुमेन्ट्रीमा एक पूर्व बालसैनिकले बोलेको मार्मिक संवाद छ।

‘पहिले उनीहरूले हामीलाई प्रहरीसँग लड्न प्रयोग गरे। अहिले त्यही पुलिस लगाएर हामीलाई रोक्न र पक्राउ गर्न खोज्दै छन्’, उनी भन्छन्, ‘उनीहरूले हामीलाई अयोग्य ठाने तर हाम्रो संघर्षले हामीलाई पोख्त बनाएको छ।’

गोपाल शिवाकोटीसँग गरिएकाे कुराकानी :

 ‘वार क्राइम’ कस्तो डकुमेन्ट्री हो ?             

 १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि राष्ट्र वा व्यक्तिले सशस्त्र सेनामा सामेल गरेर उनीहरूको उपयोग गर्छ भने त्यो एक युद्ध अपराध ठहरिने अन्तर्राष्ट्रिय फौजदारी अदालतको भनाइ छ। यो भनाइलाई आधार मानेर पूर्व बालसेनाहरूको न्यायका पक्षमा सरोकारवालाहरू बोलिरहेको विषय यो डकुमेन्ट्रीमा छ।

 पूर्व बालसैनिकका कथा पनि छन् ?             

 १३ वर्षकै उमेरमा खड्कबहादुर रम्तेललाई माओवादी जनयुद्धका लागि प्रयोग गरियो। उनी माओवादी पार्टीलाई प्रश्न गर्दैछन्, ‘के म बालसैनिक होइन, के म तपाईंहरूको सेना हैन? ’अयोग्य लडाकु भन्दै माओवादी शिविरबाट निकालिएका रम्तेल आफ्नो बालअधिकार हनन् भएकोमा न्याय माग्दैछन्। उनै रम्तेलको कथा डकुमेन्ट्रीमा जोडेको छु। उनी हाल काठमाडौंमा टेम्पो चलाउँछन्।

डकुमेन्ट्री निर्माणमा गोपाल शिवाकोटीले जोखिम मोलेका छन्। एकपछि अर्को संवेदनशील मुद्दा उठाउँदा सरकारी पक्षको दबाब पनि झेल्नु परेको छ।

 पूर्व बालसैनिकका गतिविधि क्यामेरामा कसरी कैद गर्नुभयो ?             

 माओवादी द्वन्द्वकालमा नौ हजार बालसैनिक प्रयोग भएको थियो। तीमध्ये चार हजार नौजना बालसैनिकलाई अयोग्य भन्दै शिविरबाट निकालियो। अयोग्य भनिएका ती पूर्व बालसैनिकले पछि ‘बहिर्गमित जनमुक्ति सेना नेपाल’ नामक संगठन स्थापना गरे। आफ्नो हकहित र अधिकारका लागि भन्दै यो संगठनले तत्कालीन एमाओवादी पार्टी, पेरिसडाँडामा सातबुँदे माग पेस गर्‍यो। पूर्व बालसेनाको हूल बाँधेर शान्तिपूर्ण आन्दोलन गरेको यो समूहका थुप्रै पूर्व बालसैनिकको असन्तुष्टिलाई मैले आफ्ना क्यामेरामा कैद गरेँ र डकुमेन्ट्री बनाएँ। यो डकुमेन्ट्री बनाउने क्रममा मैले दुई सय पचास पूर्व बालसेनालाई भेटेको छु।

 डकुमेन्ट्री बनाएसँगै राजनीतिक दबाब कत्तिको आयो ?             

 यस्तो संवेदनशील विषयमा राजनीतिक दबाब नआउने कुरै भएन। योभन्दा पहिले ‘सेभ गंगामाया’ टाइटलमा डकुमेन्ट्री बनाउँदा झनै बढी दबाब आएको थियो। मैले गंगामायाको डकुमेन्ट्री बनाउँदै छु भन्ने थाहा पाएपछि मलाई राजनीतिक व्यक्तित्वहरूले बारम्बार भेट्न बोलाए। विषय गम्भीर रहेको पनि बताए। तर पछि थाहा पाएँ, उनीहरू त मलाई आफ्नो पक्षमा ढाल्न खोज्दै रहेछन्। हाल मैले भेटघाट कम गर्दै लगेको छु र आफ्नै तरिकाले अगाडि बढेको छु।

 सरकारविरोधी तपाईंका डकुमेन्ट्री अन्तर्राष्ट्रिय फेस्टिभलमा जाँदा यसले नेपालको छवि नकारात्मक बनाएन र ?             

 नेपाललाई चिनाउन हिमालहरूको नाम लिए पुग्छ। प्राकृतिक सौन्दर्यको बयान गरे पनि पुग्छ। तर, नेपालमा जनयुद्धको कहर, मानवअधिकार हनन, भ्रष्ट सरकारविरुद्ध निरन्तर आवाज उठिरहेको विषय पनि अन्तर्राष्ट्रिय स्तरमा लानु आवश्यक छ। हाम्रा नेताहरू विदेश भ्रमणमा जाँदा सधैं राम्रा कुरामात्र गरेर उन्मुक्ति नपाऊन्।

तपाईंको डकुमेन्ट्रीमा ह्यापी इन्डिङ छैन। किन यस्तो ?             

कुनै समयका संवेदनशील घटनाहरूको दस्तावेज होस् भन्ने मेरो चाहना छ। त्यसबाट भावी पुस्ताले हाम्रो इतिहास बुझ्न सकून्। ‘वार क्राइम’मा उठाइएका विषय पनि कुनै निष्कर्षमा पुग्न थिएन, मात्र तत्कालीन अवस्थाको समस्या देखाउनु थियो। हुन त अहिले माओवादी पार्टी भन्ने नै रहेन। अयोग्य बालसैनिकका कतिपय माग मत्थर भए। तर, कुनै समय अयोग्य बालसैनिकको दस्तावेजका रूपमा यो रहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.