सहकारीको लगानी ऊर्जामा
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले कृषि र ऊर्जा क्षेत्रमा लगानी बढाउँदै लगेको छ। बैंकले आगामी दिनमा कृषि तथा कृषिजन्य परियोजना र ऊर्जामा प्राथमिकता दिने योजना बनाएको हो।
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेती सहकारीले कृषिमा लगानी नगरी सुखै नहुने बताउँछन्। कृषिजन्य उत्पादन बढाउन सहकारीलाई कृषिमा जान बैंकले प्रेरित गर्दै आए पनि सहकारी उत्साहित नहुने गरेको उनले बताए।
उप्रेतीले अन्य कर्जाको तुलनामा कृषिको ब्याजमा केही सहुलियत दिएर ऋण प्रवाह गर्दै आएकोे बताए। ‘ब्याजमा सहुलियत दिएर कृषिमा लगानी बढाउन खोजिरहेका छौं तर सहकारीको ध्यान कृषिभन्दा अन्य क्षेत्रमै छ’ उनले भने।
कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने गरी सहकारीले नै कृषिमा लगानी गर्नुपर्ने आवश्यकता देखेर बैंकले कुल कर्जाको कम्तीमा ५० प्रतिशत कृषि परियोजनामा लगानी गर्ने रणनीति अबलम्बन गरेको छ। ‘पछिल्लो समय प्रारम्भिक सहकारी पनि कृषिमा उत्साहित हुँदै गएका छन्’, प्रबन्ध सञ्चालक उप्रेतीले भने।
बैंकले आफ्ना सदस्य संस्थालाई १३ अर्ब ७० करोड ९५ लाख कर्जा लगानी छ। त्यसमध्ये करिब ३५ प्रतिशत कृषि क्षेत्रमै लगानी छ। बैंकले आफ्ना सदस्य सहकारीलाई लगानी गर्छ भने सहकारीले आफ्ना सदस्यलाई लगानी गर्छन्। बैंकले व्यक्तिलाई लगानी गर्ने गरेको छैन।
बैंकका सञ्चालक रामबहादुर जिसीले यस वर्षको बजेटमा कृषिमै फोकस गरिएको बताए। जिसीका अनुसार सहकारीलाई कृषिमा आकर्षित गर्न बैंकले ७० प्रतिशत र सम्बन्धित ऋण लिने संस्थाले ३० प्रतिशत मात्र लगानी गरे हुने प्रावधान ल्याएको छ। ‘त्यस्ता परियोजना उत्पादनमूलक हुनुपर्छ, त्यस्ता परियोजनामा हाम्रो प्रत्यक्ष निगरानीसमेत हुने गर्छ’, उनले भने।
बैंकले जिरो दशमलव ५ प्रतिशत कृषिमा व्याज छुट दिँदै आएको छ। अझै छुट बढाएर सहकारीलाई कृषिमै लगानीमा आकर्षित गर्ने बैंकको योजना छ।
बैंकले चालू आर्थिक वर्षको असोजसम्म नौ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ संस्थागत कर्जामा लगानी छ। त्यस्तै तरलता व्यवस्थापन कर्जामा दुई करोड ९९ लाख ९७ हजार सात सय ३४ रुपैयाँ लगानी छ। बैंकले मुद्दती कर्जामा १७ करोड ८५ लाख ६४ हजार एक सय ९० रुपैयाँ, युवा स्वरोजगार कर्जामा ३७ लाख ३६ हजार ६ सय ४१ रुपैयाँ, लघुवित्त कर्जामा तीन करोड ५४ लाख ९२ हजार नौ सय ९१ रुपैयाँ लगानी छ।
त्यस्तै हायर पर्चेजमा दुई करोड ३१ लाख ८२ हजार रुपैयाँ, हाइड्रो परियोजनामा १२ करोड र संस्थागत घरघडेरी कर्जामा ३५ करोड ९६ लाख ९६ हजार नौ सय ५८ रुपैयाँ लगानी गरेको बैंकका प्रबन्धक प्रमोदकुमार घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार धेरैजसो सहकारीले बैंकबाट संस्थागत कर्जा लिए पनि आफ्ना सदस्यलाई कृषिमै लगानी गर्र्दै आएका छन्।
बैंकमा हाल १० हजार दुई सय १२ सहकारी संघ÷संस्था सदस्य छन्। बैंकको सेयर पुँजी एक अर्ब १५ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
बैंकले १९ अर्ब ८७ करोड ८१ लाख निक्षेप संकलन गरी १३ अर्ब ७० करोड भन्दा बढी कर्जा लगानी गरेको हो। बैंकले औसतमा १० देखि ११ प्रतिशतमा लगानी गर्दै आएको छ भने सदस्यले ६ प्रतिशतको स्प्रेडदरमै आफ्ना सदस्यलाई लगानी गर्छन्।
बैंकको केन्द्रीय कार्यालयसहित ४४ वटा शाखामार्फत सहकारी संघसंस्थालाई वित्तीय सेवा दिँदै आएको छ। बैंकले प्रदेशस्तरीय कार्यालय खोल्ने तयारी गरेको छ। सातवटै प्रदेशमा रहेका कार्यालयलाई प्रदेशस्तरीय बनाउन गृहकार्य अन्तिम चरणमा पुगेको प्रबन्धक सञ्चालक उप्रेतीले जानकारी दिए।