भकुण्डे होमस्टेमा पर्यटकको भीड

भकुण्डे होमस्टेमा पर्यटकको भीड

बागलुङ : भकुण्डे गाउँ जहाँ केही वर्ष अघिसम्म पर्यटकको उपस्थिति निकै कम हुने गथ्र्यो। खानपान, स्वागत सत्कार, बसाइ पनि गाउँघरमा जस्तै हुन्थ्यो। तर, गाउँमा सञ्चालित होमस्टे व्यवस्थित बन्न थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्न थालेको छ।

पर्यटकीय सिजन सुरु भएसँगै भ्यू टावर, मनमोहक बराह ताल, संग्राहलय, स्थानीय संस्कृतिलगायत कारण भकुण्डेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेकोे स्थानीय उमाकान्त शर्माले बताए। पर्यटक आवागमन बढेसँगै होमस्टेको बसाइ, स्थानीय उत्पादन, खानपान, स्वागत पनि व्यवस्थित छ। भ्यू टावर र बराह ताल, त्यस छेउ निर्माण गरिएको मन्दिरले भकुण्डेमा घुम्ने र भुल्ने राम्रो स्थल बनेको छ।

भकुण्डेको स्थानीय उत्पादन, खाना, आवास, आतिथ्यता र यहाँबाट देखिने मनमोहक दृश्य लोभलाग्दो र थकान बिर्साउन लायक रहेको जर्मनबाट आएका पर्यटक जाभी याकले बताए। ‘भ्रमणका क्रममा नेपालका धेरै ठाउँमा डुलेको छु’, जाभीले प्रफुल्लित मुद्रामा भने, ‘यहाँको जस्तो वातावरण, खानपान, स्थानीय संस्कृति धेरै कम ठाउँमा पाएको छु।’ भकुण्डेमा जर्मनका साथै कोरियन, जापानी, अस्ट्रेलियन पर्यटक आउने क्रम बढेको स्थानीय बताउँछन्।

भकुण्डे भ्यू टावरबाट धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छे«लगायत २२ हिमशृंखलाका देख्न सकिन्छ।

भकुण्डेबाट स्थानीय परिकार कोसेलीका रूपमा लैजाने व्यवस्था गरिएको छ। गाउँमा उत्पादित अर्गानिक मुलाको सिन्की, धजरा, चाना, बाँकोको सिन्की, मकै सिरौला, भाँगो, टिमुर, सिल्टिमुर, सिलाम, सिताके च्याउ, स्थानीय भटमास, कोदोको रक्सी, आलुलगायत सामग्री पाइन्छन्।

भकुण्डे भ्यू टावरबाट धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छे«लगायत २२ हिमशृंखलाका साथै बागलुङ बजार, पर्वतको कुस्मा र म्याग्दीको बेनीको दृश्य समेत देख्न सकिनेछ। होमस्टेमा यानीमाया, सालैजो, झ्याउरे पञ्चेबाजालगायत लोक संगीतको मनोरञ्जनसमेत लिन सकिनेछ। यस क्रममा भैरवस्थान, शिवमन्दिर, बराहताल, बराहमन्दिर, हीराताल, सुनझाँक्री भ्यू टावरलगायत धार्मिक स्थान पनि अवलोकन गर्न सकिनेछ।

मगर जाति बाहुल्य भकुण्डेमा २०६८ देखि होमस्टे सञ्चालन गरिएको थियो। बागलुङ नगरपालिका १० को भकुण्डेस्थित होमस्टेलाई ०७३ देखि ‘अतिथि सत्कार होमस्टे’ नामकरण गरिएको छ। होमस्टेमा दैनिक एक सयलाई खाना र आवास उपलब्ध गराउन सकिने अतिथि सत्कार होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर थापाले बताए। गाउँमा अहिले हलमा कार्यक्रम तालिम सञ्चालन गर्न सकिने व्यवस्था छ। ‘गाउँ आएका पाहुनालाई फूलमाला, स्थानीय संस्कृतिसहित न्यानो आतिथ्यता प्रदान गर्न थालेका छौं। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ’, उनले भने, ‘हामी उत्साहित छौं, सडक राम्रो नभएकाले धेरै गुनासो गर्छन्, यसमा सुधार भए होमस्टे राम्रो हिसाबले चलाउन सकिन्छ भन्ने विश्वासमा छौं।’

होमस्टे बसाइको एक रातको खाना मासु, आवास र खाजासहित जम्मा ६ सय रुपैयाँ लिने गरिएको छ। हरेक शुक्रबार होमस्टे स्पेसल अफरको व्यवस्था समेत गरिएको होमस्टे सञ्चालक याम थापाले बताए।

होमस्टे गाउँको अर्को विशेषता स्थानीय उत्पादन मुला, मकै, कोदो, गुन्दु्रक, आलु, किबी, सिताके च्याउलगायत अर्गानिक स्वाद लिन सकिने होमस्टे सञ्चालक अप्सरा थापाले बताइन्। कुखुरा, कालो सुँगुर तथा कालिजको मासुको पनि स्वाद लिन सकिन्छ। ‘केही वर्ष अघिसम्म होमस्टे भनिए पनि राम्रो थिएन, पाहुनाको आगमन, आम्दानी पनि त्यस्तै थियो’, अप्सराले भनिन्, ‘अहिले भने तालिमहरु लिएर हामी पनि धेरै व्यवस्थित गर्ने प्रयास गरेका छांै, पर्यटक पाहुना आउने र आम्दानी पनि राम्रै हुन थालेको छ।’ यस गाउँमा अहिले नौ घरमा घरवास सुविधा छ। होमस्टेमा कसैकोमा धेरै आउने र कसैकोमा नहुने समस्या देखिएपछि आलोपालो गरेर पाहुना राख्ने गरिएको छ। आम्दानी पनि एकमुष्ठ हिसाब गरेर बाँडफाँट गर्ने गरिएको छ।

भकुण्डे जान काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानबाट बागलुङ सदरमुकामसम्म बस, माइक्रोबस र जिप पाइन्छन्। बागलुङ सदरमुकाममा भकुण्डे होमस्टेको हालै सम्पर्क कार्यालय राखिएको छ। त्यहाँ सम्पर्क गरेर जिप र पैदल यात्रामार्फत जान सकिन्छ। पैदलयात्रामा पर्वत सदरमुकाम कुस्मा बजारबाट पनि जान सकिन्छ। त्यसका लागि कुस्मामा रहेको यान्त्रिक पुल तरेर नारायणस्थानको बलेवा विमानस्थलको बाटो हुँदै पैंयुपाटा, अर्भाउदी निस्केर भकुण्डे पुगिन्छ।

सवारीसाधनका लागि बागलुङ सदरमुकामबाट देउराली चोकतर्फको १४ किमी र मालढुंगा हुँदै गलुवातर्फको १० किमीको दुरी पार गरेपछि भकुण्डे पुग्न सकिने बागलुङ नगरपालिका १० का वडाध्यक्ष प्रेम थापाले बताए। ‘गाउँलाई पर्यटकीय र आत्मनिर्भर गाउँको रूपमा स्थापित गर्ने प्रयासमा छौं’, अध्यक्ष थापाले भने, ‘यसका लागि सडक सुधारमा हाम्रो ध्यान केन्द्रित छ, भकुण्डेको माथिल्लो क्षेत्रमा आलु र तल्लो क्षेत्रमा सुन्तलाखेतीलाई व्यावसायिक रूपमा अघि बढाएर व्यावसायिक रूपमा सफल जीवन व्यतित गर्ने वातावरण सिर्जना गर्न लागिरहेका छौं।’ गाउँ पुग्ने दुवै सडकलाई बागलुङ नगरपालिका र प्रदेश सरकारमाार्फत बजेट विनियोजन गरी काम अघि बढाइएको वडाध्यक्ष थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.