आणविक सम्झाैताको मर्मलाई सुरक्षा गर : इरान
तेहरान : आणविक सम्झौताका अमेरिका बाहेकका अन्य हस्ताक्षरकर्ता मुलुकलाई आणविक सम्झौताको मर्मअनुसार इरानको सुरक्षाका लागि पहल लिन तेहरानले आग्रह गरेको छ। सम्झौताअनुसार अघि बढ्न हस्ताक्षरकर्ता मुलुकहरूले प्रतिबद्धता जनाएका भए पनि यसका लागि पहलकदमी लिन यूरोपेली यूनियन (ईयू)ले ढिलाइ गरेको इरानी विदेशमन्त्री मोहमद जावेद जरिफले बताए।
अमेरिकी आर्थिक प्रतिबन्धका कारण इरानले भोगिरहेको समस्यालाई मद्देनजर गर्दै ईयूले आर्थिक कारोबारका लागि इरानलाई वैध बाटोको विकल्प दिनुपर्ने उनको भनाइ छ। शुक्रबार इरानी उपविदेशमन्त्री अब्बास अराक्चीले पनि सम्झौताअनुरूप इरानलाई सहयोग नगरेको भनी ईयूको ‘प्रतिक्रिया ढिलो’ भइरहेको भनी आलोचना गरेका थिए।
सम्झौतामा ईयूको राजनीतिक अडान सही भए पनि यसलाई व्यवहारमा लान अन्य हस्ताक्षरकर्ता सफल नभएको उपविदेशमन्त्रीको दावी थियो। उनीहरू अमेरिकाबाट जरिवाना लगाउने र विश्वास गुम्ने भयका कारण इरानबाट बाहिरिने कम्पनीलाई रोक्ने सन्दर्भमा शक्तिहीन देखिएका छन्। इरानमा कार्यरत कतिपय व्यावसायिक कम्पनीहरू अमेरिकाले सम्झौताबाट बाहिरिने घोषणासँगै आफ्ना गतिविधिमा सुस्ताउँदै बाहिरिन थालिसकेका छन्।
यसैगरी गत वर्षको सेप्टेम्बरपछि अहिलेसम्म इरानी रियलको मूल्यमा अमेरिकी डलरसँग ४७ प्रतिशत गिरावट आइसकेको छ। इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले अमेरिकाले सम्झौताबाट बाहिरिएपछि आणविक सम्झौतालाई जोगाउन असफल भएमा यो तेहरानका लागि निकै घातक हुने बताएका छन्। अमेरिकाले गत मे महिनामा आफूले सन् २०१५ मा इरानसँग विश्व शक्ति राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, चीन र रूसले गरेको आणविक सम्झौतालाई नमान्ने घोषणा गरेको थियो। उ गत सातादेखि सम्झौताबाट फिर्ता भएको थियो। यसपछि इरानमाथि पुनः सन् २०१५ पहिलेजस्तै आर्थिक नाकाबन्दी लगाइएको छ। -सिन्ह्वा