सिँगारिँदै दिल्ली दुतावास

सिँगारिँदै दिल्ली दुतावास

काठमाडौं : लामो पहल र लगातारको परामर्शपछि दिल्लीस्थित नेपाली दूतावासको पर्खाल (कम्पाउन्ड वाल) परिवर्तन हुने भएको छ। नेपाली कलासंस्कृति झल्किने पर्खाल निर्माण गर्न लागिएको दूतावासले जानकारी दिएको छ। चार प्रिफ्याब भवनसमेत बनाइसकेको दूतावासले पहिलो पटक यति ठूलो संरचनामा काम गर्न लागेको हो।

५० रोपनी जग्गा घेर्ने पर्खाल निर्माणको ठेक्का प्रक्रिया अघि बढिसकेको छ। स्वचालिन गेट सहितको पर्खाल निर्माणपछि कर्मचारी आवासको अपार्ट बनाउने तयारी पनि छ। चारपाँच तलाको आधुनिक अपार्टमेन्ट बनाएर कर्मचारीलाई एकातिर राख्दै सबै स्थान खुला राख्ने दूतावासको योजना छ।

पर्खाल बनाउने विषयमा निर्णय भएर प्रक्रियामा गए पनि दूतावास कम्पाउन्डभित्रका पुराना ढल्नै लागेका क्वाटर भत्काएर पुनः निर्माण गर्ने विषय भने अन्योलमै रहेको दूतावासका अधिकारीहरूले बताए। खाली गराइसकिएको तर निर्माण अघि बढ्न नसकेको उनीहरूको भनाइ छ।

नयाँदिल्लीको बाह्रखम्बा रोड (मन्डीहाउस चोक)मा रहेको नेपाली दूतावास पुरानोमध्ये एक हो। त्यसको पर्खाल धराप रहेपछि दिल्ली महानगरको मापदण्डअनुरूप बनाउन ताकेता गरिएको थियो। नयाँ बन्ने पर्खाल फलामको रेलिङसहित २० फिटको रहनेछ।

चार पिफ्याब भवनपछि आवासमा सुधार भइसकेको छ। लामो टहरामा रहेको आवास अब बिस्तारै अपार्टमा जानेछ। दीपकुमार उपाध्याय राजदूत रहेको बेला भवन तथा पर्खालको विषय अघि बढेको हो। उनकै पहलमा परिसरभित्रै प्रिफ्याबका चार आवासीय भवन बनेका हुन्। मुख्य भवन अर्थात् राजदूत निवासलाई मर्मतसम्भार पनि गरिएको छ। यहाँ राजदूत, अतिथि सत्कार, नियोग उपप्रमुख, राजनीतिक विभाग हेर्ने उपसचिव, संस्कृति उपसचिवलगायत बस्छन्।

आठदस जना दूतावास अधिकारीको परिवार बस्न मिल्ने गरी चारतले भवन बनाउने दूतवासको प्रस्ताव छ। त्यसलाई बढाउन मिल्ने गरी अपार्ट बनाउने योजना रहेको दूतावास अधिकारीहरूले बताए।

दूतवासको कम्पाउन्ड मुनिपट्टिबाट मेट्रोसमेत गएका कारण भवन निर्माण गर्न नक्सा पारित गर्न भने सहज छैन। मेट्रोका कारण ६ वर्षदेखि राजदूत तथा सहचारीको निवासमा कम्पन उत्पन्न हुने गरेको छ। सक एब्जर्भर राखेर मेट्रो रेल अत्याधुनिक बनाइए पनि दूतावास क्षेत्र हल्लिन र थर्किन छाडेको छैन। पछिल्लो समय हल्लिने क्रममा केही सुधार आएको दूतावासका राजनीतिक मामिला हेर्ने हरि ओडारीले बताए। आफूहरूले दिल्ली मेट्रो प्रमुखलाई भेटेर समस्या राखेपछि त्यसमा सुधार आएको उनको भनाइ छ।

यसै वर्ष नेपालले अमेरिकामा पनि राजदूत निवासका लागि नयाँ भवन किनेको छ। अमेरिकामा ठूलो कम्पाउन्डसहित ६७ करोडको भवन किनिएको हो। दुई वर्षअघि नेपालले थाइल्यान्डमा पनि भवन खरिद गरेको थियो। ४६ करोड रुपैयाँमा किनिएको उक्त भवन नेपालीका लागि छुट्टै पहिचान बनेको छ। नेपालले मलेसिया,        श्रीलंका र पाकिस्तानमा पनि आफ्नै जग्गा रहेको स्थानमा नयाँ घर बनाउने प्रक्रिया अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.