तिलिचो जाने आन्तरिक पर्यटक बढे

तिलिचो जाने आन्तरिक पर्यटक बढे

बेसीसहर : विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। दसैंतिहार बिदा सदुपयोग गर्न तिलिचो भ्रमणमा निस्कने पर्यटकको संख्या बढेको हो। तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ।

हिजोआज दैनिक तीन सयभन्दा बढी पर्यटक ताल घुम्न जाने गरेका छन्। तिलिचो मनाङ जिल्लाको नेस्याङ गाउँपालिका ९ मा पर्छ। ताल वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरि हिमशृंखलाले पर्यटकको मन लोभ्याउँछ।

तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ। यस तालसम्म पुग्न खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ। बेसक्याम्पबाट झन्डै तीन घण्टाको उकालोपछि तिलिचो ताल पुग्न सकिन्छ।

श्रीखर्कबाट बेसक्यामसम्म घोडेटो बाटोमा आवतजावत गर्न कठिनाइ भएपछि पर्यटन व्यवसायी तथा स्थानीयले मर्मत गरी केही सहज बनाएका छन्। तिलिचो पुग्न काठमाडौंबाट लमजुङको बेसीसहरसम्म बस, पर्यटक बस, माइक्रोबाट जाने र त्यहाँबाट जिपमा माथिल्लो मनाङ पुगिन्छ। खाङसारदेखि घोडा चढेर वा पैदलयात्रा गर्नुपर्ने हुन्छ। माथिल्लो मनाङबाट तिलिचो आधारशिविरसम्म पैदल जानुपर्ने र त्यही बस्ने व्यवस्था भएको मनाङ पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए।

आधारशिविरबाट भोलिपल्ट तिलिचो ताल अवलोकन गरेर बास बस्न फेरि त्यही फर्किन सकिन्छ। भोलिपल्ट त्यहाँबाट माथिल्लो मनाङ पुगेर पहिले आएकै बाटोबाट काठमाडौं फर्किन सकिने गुरुङको सल्लाह छ। बीच बाटोमा बस्न, खान कुनै समस्या नभएको गुरुङले बताए।

गन्तव्य तिलिचोको लागि टुर अपरेटरहरूले प्याकेज बनाएर बिक्री गर्ने गरेका छन्। टुर प्याकेज विदेशी पर्यटकका लागि मात्रै बनाइने गरिएकोमा हिजोआज आन्तरिक पर्यटकले समेत यो सुविधा पाएका छन्। व्यक्तिगत रूपमा पनि तिलिचो जान सकिन्छ। पर्यटन व्यवसायीका अनुसार काठमाडौंबाट तिलिचो घुमेर फर्कन बढीमा एक हप्ता र बढीमा प्रतिव्यक्ति १५ हजार रुपैयाँ खर्च लाग्छ। व्यक्तिको स्वभावअनुसार रकम तलमाथि हुनसक्ने उनीहरू बताउँछन्।

तिलिचो ताल धार्मिक रूपले निकै महत्वपूर्ण मानिन्छ। परापूर्वकालमा भगवान शिवले तपस्या गरी बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किम्वदन्ती छ। हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि आउने गर्छन्। दसैंतिहार बीचमा तिलिचो घुम्न दैनिक तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुगिसकेको स्थानीयले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.