भक्तपुर क्यान्सर अस्पतालमा मेमोग्राम बिग्रिँदा महिला बिरामी प्रभावित
भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालमा रहेका दुईवटा मेमोग्राम मेसिन बिग्रिएका छन् ।
करिब डेढ महिना हुँदा पनि मेसिन मर्मत नभएपछि बिरामी अन्यत्र धाउन बाध्य छन् । यसबाट खासगरी महिला बिरामी प्रभावित बनेका छन् । महिलाको स्तन क्यान्सरको एक्सरे गराउने मेमोग्राम मेसिन नै बिग्रिएपछि महिला बिरामी बढी प्रभावित बनेका हुन् ।
उक्त मेसिनले क्यान्सरको संकेत गरेपछि मात्रै बायोप्सी गर्न पठाइन्छ । अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. उत्सवमान श्रेष्ठका अनुसार यहाँ भएका दुईटै मेमोग्राम मेसिन बिग्रिँदा अस्पतालले बिरामीलाई अन्यत्रै रिफर गराउँदै आएको छ ।
‘भक्तपुर क्यान्सर अस्पतालमै जँचाउन भने आएका हुन्छन्’, श्रेष्ठले भने, ‘तर यहाँको मेमोग्राम मेसिन बिग्रिएकाले अन्तै रिफर गर्नुपर्ने बाध्यता छ । अन्त मेमोग्राम गरेर पुनः यहाँ आउन बिरामीलाई समस्या हुन्छ ।’
उनका अनुसार अस्पतालमा दैनिक दस जनाको हाराहारीमा स्तन क्यान्सरको परीक्षण गर्न आउँछन् । अक्टोबर महिनाभर स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाइएकाले अहिले स्तन जँचाउन आउने महिलाहरुको संख्या बढिरहेको उनको भनाइ थियो ।
‘गएको अक्टोबर महिनाभरी स्तन क्यान्सरसम्बन्धी जनचेतना फइलाइयो । त्यसको आधारमा पनि अस्पताल आउने महिला बढेका छन्’, डा. श्रेष्ठले थपे, ‘तर यही बेला मेमोग्राम मेसिन बिग्रियो ।’ अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले नयाँ मेमोग्राम खरिदको लागि प्रक्रिया अघि बढाएको जानकारी दिए ।
बिग्रेको बनाउन महंगो भएकाले नयाँ नै खरिद गर्न लागिएको उनले सुनाए । ‘बिग्रिएको मेसिन बनाउन नै आठ÷नौ लाख खर्च हुने देखियो’, मेडिकल डाइरेक्टर प्रा.डा. श्रेष्ठले भने, ‘त्यसमा दुई÷तीन लाख थपे नयाँ अत्याधुनिक मेसिन नै आउने भयो । त्यसैले नयाँ खरिद प्रक्रियामा जाँदा मेसिन आउन केही ढिलो हुने भयो ।’ उनका अनुसार दुइटै मेसिन एकैसमय बिग्रिँदा मेमोग्राम सेवा बन्द गर्नुपर्ने अवस्था आएको थियो ।