श्रीलंका संकट : प्रधानमन्त्री राजपाक्षेसहित ४४ सांसदले पार्टी छाडे
काेलम्बाे : श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षे सहित ४४ जना विधायकहरुले राष्ट्रपति मैत्रीपाला सिरिसेना नेतृत्वको पार्टी परित्याग गर्दै नयाँ पार्टीमा आवद्ध भएका छन् ।
राजपाक्षे र अन्य ४४ जना विधायकले सिरिसेना नेतृत्वको पार्टी श्रीलंका फ्रिडम पार्टी त्याग्दै श्रीलंका पोदुजाना पेरेमुनामा प्रवेश गरेका हुन् । श्रीलंका पेरेमुना पार्टी सन् २०१६ मा राजपाक्षेकै कान्छो भाइ तथा पूर्व अर्थमन्त्री बसिलले स्थापना गरेका हुन् ।
मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेलाई हटाउँदै राजपाक्षेलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको दुई हप्तामै राजपाक्षेले यस्तो निर्णय गरेका हुन् । सिरिसेनाले यही शुक्रबार राती संसद भंग गर्दै आम निर्वाचन आह्वान गरेपछि राजपाक्षेको निर्णय आएको हो ।
पेरेमुना पार्टीको स्रोत उद्धृत गर्दै श्रीलंका फ्रिडम पार्टीका ८२ जना सांसदमध्ये ६५ जना छिट्टै पेरेमुना पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको राेयटर्सले उल्लेख गरेकाे छ ।
सिरिसेनाले आफ्नै मन्त्रिपरिषदका प्रधानमन्त्रीलाई हटाएपछि नै श्रीलंकामा राजनीतिक संक्रमण चर्किँदो छ ।
प्रधानमन्त्रीबाट बर्खास्त भएका विक्रमासिंघे भारत निकट मानिन्छन् भने राजपाक्षे चीन निकट ।राष्ट्रपति सिरिसेनाले आफूमाथि भारतीय जासुसले आक्रमण गर्ने संकेत पाउँदा समेत आफ्नै प्रधानमन्त्रीले सुरक्षामा चासो नदेखाएको भन्दै विक्रमासिंघेलाई पदबाट हटाउँदै आफ्नै चुनावी प्रतिष्पर्धी राजपाक्षेलाई नियुक्त गरेका हुन् । साथै पछिल्ला घटनाक्रमले सिरिसेनालाई अलोकप्रिय बनाउँदै गरेको पनि टिप्पणी हुन थालेको छ ।