रियललाई प्रशिक्षकको चिन्ता
म्याड्रिड : प्रभावशाली स्पेनिस क्लब रियल म्याड्रिडलाई यति बेला प्रशिक्षकको चिन्ताले सताएको छ। सान्टियागो सोलारीले कार्यवाहक प्रशिक्षकको भूमिका निर्वाह गरेको दुई साता पुग्नै लागेको छ। यसको अर्थ अब रियलसामु पूर्णकालीन प्रशिक्षकको टुंगो लगाउनुको विकल्प छैन। स्पेनिस ला लिगाको नियमअनुसार कुनै पनि क्लबले दुई साताभन्दा बढी कार्यवाहक प्रशिक्षक राख्न पाउँदैन।
त्यसैले अब रियलले पूर्णकालीन स्थायी प्रशिक्षकको टुंगो लगाउनैपर्ने हुन्छ। त्यसका लागि सोलारीलाई नै स्थायी प्रशिक्षकका रूपमा नियुक्त गर्नु रियलका लागि एउटा विकल्प हो। ४२ वर्षीय अर्जेन्टिनी नागरिक सोलारीले गत अक्टोबर २९ मा रियलको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। आफ्नो टोली ‘एल क्लासिको’ भिडन्तमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग ५–१ गोलले पराजित भएको एक दिनपछि नै रियलले तत्कालीन प्रशिक्षक युलेन लोपेटेग्वीलाई पदबाट बर्खास्त गरेको थियो।
त्यसपछि रियलले सोलारीलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। सोलारीको नेतृत्वमा रियलले खेलेका चारवटै खेलमा जित हात पारेको छ। सोलारीका लागि यो उत्कृष्ट नतिजा हो। क्लबको इतिहासमा हालसम्म कुनै पनि प्रशिक्षकले यस्तो सफलता हात पार्न सकेको छैन। त्यसैले पनि रियलले सोलारीलाई नै आफ्नो स्थायी प्रशिक्षक बनाउने प्रबल सम्भावना छ।
सोलारीलाई स्थायी प्रशिक्षकका रूपमा नियुक्त गर्न रियलले आवश्यक प्रक्रियासमेत अगाडि बढाइसकेको बताइएको छ। तर, यस विषयमा रियलले हालसम्म आधिकारिक घोषणा गरेको छैन। स्पेनिस फुटबल संघका एक वरिष्ठ अधिकारीले पनि रियलले सोलारीलाई नै स्थायी प्रशिक्षकमा नियुक्त गर्ने दाबी गरेका छन्। सोलारीको प्रशिक्षकत्वमा रियलले कोपा डेल रेमा मेलिल्लालाई र च्याम्पियन्स लिगमा भिक्टोरिया पल्जनलाई हराएको थियो।
यसैगरी स्पेनिस ला लिगामा रियलले रियल भालाडोलिड र सेल्टा भिगोलाई पराजित गरेको थियो। कार्यवाहक प्रशिक्षकका रूपमा सोलारीले जिम्मवारी सम्हालेयता रियलले विपक्षीको पोस्टमा १५ गोल गरिसकेको छ भने केवल दुई गोल खाएको छ। सोलारी आउनुअघि स्पेनिस ला लिगा तालिकामा रियल नवौं स्थानमा थियो भने अहिले तालिकाको छैटौं स्थानमा उक्लिएको छ। ला लिगा तालिकाको पहिलो स्थानमा आसीन बार्सिलोनाभन्दा रियल केवल चार अंकले पछाडि छ।