सीसीडी रेसियो ८० प्रतिशत नजिक
काठमाडौं : वाणिज्य बैंकहरूको कर्जा तथा प्राथमिक पुँजी र निक्षेपको योग अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत हाराहारीमा पुगेको छ। सरकारले विकास खर्च बढाउन नसक्दा र बैंकहरूले अत्यधिक कर्जा प्रवाह गरेका कारण अधिकांश बैंक थप कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन्। वाणिज्य बैंकहरू कर्जा प्रवाह गर्न सक्ने अवस्थामा नरहेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। ‘बैंकहरू थप कर्जा प्रवाह गर्न थप स्रोत जुटाउनुपर्ने अवस्था छन्’, उनले भने, ‘सीसीडी रेसियो अन्तिम बिन्दुमा पुगेको छ।’
२८ वटा वाणिज्य बैंकमध्ये कुमारी र सिभिल बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले दिएको सीमाभन्दा माथि छ। सरकारीबाहेक अन्य बैंक ८० प्रतिशतको हाराहारीमा छन्। सरकारी बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको सीसीडी रेसियो भने ७० प्रतिशत मात्रै छ। स्टान्डर्ड चार्टड बैंक अहिले पनि सबैभन्दा सहज अवस्थामा छ। बैंकको अहिले पनि सीसीडी रेसियो ६९ प्रतिशतमात्र छ। नेपाल क्रेडिट एन्ड कमर्स, माछापुच्छे«, जनता, सेन्चुरीलगायत अधिकांश बैंककोे सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि छ।
राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँमात्रै लगानी गर्न पाउँछन्। वाणिज्य बैंकहरूले सीसीडी रेसियोलाई सीमाभित्रै राख्न ‘ख’ वर्गका विकास बैंकलाई ऋण बेचिरहेका छन्। केही दिन अघिसम्म सहज अवस्था रहेका वाणिज्य बैंकले अप्ठ्यारो अवस्था पुगेका वाणिज्य बैंकको ऋण किनिदिएका थिए। कतिपय वाणिज्य बैंकहरू हाल विकास विकास बैंकसँग गुहार माग्न पुगेका छन्।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रायः बैंक सीसीडी रेसियो केन्द्रीय बैंकले तोकेको उच्चतम सीमामा पुगिसकेको बताए। ‘यो थपघट भइरहन्छ’,उनले भने,‘धेरै बैंकको सीसीडी रेसियो अहिले पनि ७८÷७९ प्रतिशतको हाराहारी मै छ। ‘चाडपर्व सकिँदै छ’, उनले भने, ‘त्यसपछि बैंकमा निक्षेप थपिन्छ।’ अहिले कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा बैंक पुगे पनि ठप्पै कर्जा भने नरोकिएको उनले बताए।
राष्ट्र बैंकको तथ्यांकअनुसार कातिक २७ गतेसम्म बैंक तथा वित्तीय संस्थामा २९ खर्ब ४३ अर्ब छ। बैंक तथा वित्तीय संस्थाले २६ खर्ब १० अर्ब कर्जा लगानी गरेका छन्। यो तथ्यांकअनुसार हर्ने हो भने बैंक तथा वित्तीय संस्था संकलन गरेको निक्षेपको आधारमा भएको कर्जा लगानी ८८ दशमलव ६८ प्रतिशत हुन आउँछ। अर्थात् यसको अर्थ बैंकहरूले एक सय रुपैयाँ निक्षेप संकलन गरेर ८८ रुपैयाँ ६८ पैसा लगानी गरिरहेका छन् भन्ने हो।
असोजमसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल २९ खर्ब चार अर्ब निक्षेप संकलन गरी थिए भने २५ खर्ब ८८ करोड कर्जा लगानी गरेका छन्। असोजसम्म कर्जा लगानीमा आक्रामक देखिएका बैंक कात्तिकदेखि भने केही संयमित देखिएका छन्। कात्तिकमा बैंकले ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। सीसीडीमा दबाब बढ्दै गएपछि बैंकले निक्षेप र कर्जामा सन्तुलन मिलाएका हुन्।