चिर क्रान्तिकारीको सम्झनामा

चिर क्रान्तिकारीको सम्झनामा

दिवंगतहरूको सपना पूरा गर्ने काम बाँचेकाहरूको हो।


पद्मरत्न तुलाधरलाई म आवाजहीनहरूको आवाजका रूपमा चिन्छु। राज्यलाई मानिसहरूले आफ्नो चाहना पूरा गर्ने माध्यमको रूपमा हेर्छ, तर हरेक राज्यले त्यो चाहना पूरा गर्न सक्दैन।

राज्यलाई आफ्नो दायित्व पूरा गर्न झक्झकाइरहने मानिसको खाँचो परिरहन्छ। पद्मरत्न त्यस्तै कामको नाम हो। उहाँ आवाजहीनहरूको राष्ट्रिय प्रवक्ता हो।

चिनजान पुरानो

पद्मरत्नजीसँगको मेरो चिनजान पुरानै हो। म पनि काठमाडौंको उहाँ पनि काठमाडौंको। संयोगले स्कुल पनि एउटै पद्मोदय हाईस्कुल। २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा उहाँ उम्मेदवार हुनुभयो। त्यो बेलामा पनि उहाँप्रति हाम्रो केही न केही सहानुभूति थियो। जबसम्म बहुदल आउँदैन तबसम्म निर्दलीय व्यवस्थामा नपस्ने मेरो नीति थियो।

पञ्चायती व्यवस्थाप्रति तत्कालीन राजनीतिक दलहरूको दुई थरी नीति थियो। एकथरीले पञ्चायतभित्र प्रवेश गरेर त्यसलाई सकेसम्म जनपक्षीय बनाउने नीति लिँदै थिए। अर्काथरी पञ्चायतभित्र प्रवेश नै नगर्ने नीति लिनेहरू थिए। पार्टीले पनि कसैलाई पञ्चायतभित्र नपठाउने त कसैलाई पठाउने नीति लिएको थियो।

जस्तै– काठमाडौंमै हरिबोल भट्टराईहरू चुनाव लड्नुभएको थियो। म भने पञ्चायती चुनावमा भाग नै नलिने नीतिमा थिएँ। लड्न जानेहरूलाई हाम्रो सहानुभूति थियो। ०३६ सालको जनमत संग्रहमा मतदान पनि गरेको थिएँ।

०४६ सालको आन्दोलनको बेलामा पनि हाम्रो बरोबर भेट हुन्थ्यो। त्योभन्दा पहिला उहाँलाई सिन्धुपाल्चोक र मलाई रसुवाको जेलमा राखिएको थियो। त्यतिबेला सहाना प्रधान र कृष्णप्रसाद भट्टराईहरूसँग तत्कालीन सरकारको वार्ता चलिरहेको रहेछ।

आन्दोलनकारीसँग सहमतिको वातावरण बनाउन तत्कालीन सरकारले उहाँ र मलाई चैत २४ गते काठमाडौं ल्याउन चाहेको रहेछ। उनीहरूले द्वन्द्व नरुचाउने, मिल्ने विन्दुसम्म मिल्न तयार भएका व्यक्तिका रूपमा हामीलाई लिएका रहेछन्। तर, हामीमार्पmत सहमति नजुटोस् भन्ने चाहनेहरूले हाम्रो चलानीमा २४ घन्टा ढिलो गरिदिए।

बहुदल आएपछि हाम्रो मित्रता गहिरो हुँदै गयो। ०४८ सालको चुनावपछि संसद्मा उहाँ सांसद भएर आउनुभयो, म सभामुख भएँ। त्यतिबेला सम्पर्क बढ्यो।

संसद्मा पद्मरत्न

०४८ सालको संसद्मा उहाँको प्रस्तुति भने ब्याकबेन्चरको जस्तै रह्यो। उहाँको क्षमता र रुचि नभएको पनि होइन। त्यसका केही कारण थिए। उहाँ सूर्य चिह्न लिएर चुनाव लडेको भए पनि स्वतन्त्र हुनुहुन्थ्यो। त्यसैले संसद्को रूपमा प्रस्तुत हुन पनि त्यति चाहनुहुन्नथ्यो।

अर्कोतर्फ सरकारको चर्को विरोध पनि गर्न सक्नुहुन्नथ्यो। तथापि उहाँले गरिब र निमुखा वर्गको पक्षमा आवाज उठाउन भने कहिल्यै छोड्नुभएन। एकपटक त मातृभाषा नेपालभाषामै संसद्मा बोल्नुभएको थियो।

माओवादी आन्दोलन सुरु भएपछि ‘विध्वंसकारी विधेयक’ संसद्मा दर्ता भयो। त्यो विधेयक माओवादीलाई नै लक्षित गरी ल्याइएको थियो। त्यो विधेयकको विरोधमा पद्मरत्नजीले एउटा बैठक बोलाउनुभएको थियो। त्यसमा मलाई पनि बोलाइएको थियो। म पनि मानवअधिकारको पक्षमा थिएँ।

तिनैताका म नेपाल बार एसोसिएसनको मानव अधिकार समितिको संयोजक थिएँ। खासगरी वामपन्थीहरू त्यो बैठकमा उपस्थित थिए। प्रजातान्त्रिकहरूको संख्या भने कम थियो। कपिल श्रेष्ठ र म थिएँ। त्यो विधेयकको विरोधमा हामीले केही दिनपछि ‘प्रजातान्त्रिक अधिकार जोगाऔं आन्दोलन’ नामक समूह बनायौं। त्यसको संयोजक पद्मरत्नजी र म भयौं।

पछि श्याम श्रेष्ठले पनि संयोजनको काम गर्नुभयो। पछि त्यो समूहले राजाको कदमको विरोधमा पनि महत्वपूर्ण योगदान गर्‍यो। त्यो आन्दोलनमा गौरी प्रधान, सुरेश आलेमगर, सुशील प्याकुरेललगायतका १६ जना थियौं। यो आन्दोलनले हामीलाई जुटायो।

शान्ति प्रयत्नका साझेदार

०५४ सालमा पद्मरत्नजी र म रोल्पा गयौं। हामीसँगै सीपी मैनाली पनि हुनुहुन्थ्यो। त्यहाँ गएर हामीले सर्वदलीय बैठक बोलायौं। रोल्पामा राज्यपक्षले निकै दमन गरेको थियो। मानिसहरू लखेटिएका थिए। मुद्दा चलाइएका थिए। त्यो देखेपछि मैले भनें, ‘रोल्पाली भएको भए म पनि माओवादी हुने थिएँ।’

सँगसँगै मैले ‘खाओवाद बढ्यो भने माओवाद बढ्छ, माओवाद घटाउन खाओवाद घटाउनुपर्छ’ भनेको थिएँ। भ्रष्टाचार, अनियमितता र राज्य दमनलाई मैले खाओवादको संज्ञा दिएको थिएँ। त्यो भनाइ विद्युत् गतिमा प्रवाहित भयो। फर्कंदा हामीले बुटवलमा रोल्पाको स्थितिबारे पत्रकार सम्मेलन पनि गर्‍यौं।

सुरक्षा संयन्त्रले त्यो विषयलाई लिएर मलाई निकै दुःख दियो। पद्मरत्नसँग मिलेर माओवादीलाई उक्साएको आरोप लगाइयो। ०४७ सालको संविधान निर्माणमा संलग्न भए पनि माओवादी युद्ध शान्त गर्न मैले संविधानसभाको माग गरेको थिएँ।

संविधानभन्दा समाधान ठूलो भनेर अन्तर्वार्ता दिएको थिएँ। यसरी पद्मरत्नजी र म शान्ति प्रक्रियामा सहभागी भयौं। धेरै ठाउँमा घुमेर हामीले माओवादीलाई हतियार छोडेर शान्ति प्रक्रियामा आउने र संविधानसभामा जनमत बनायौं।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भन्ने हामी दुवैको साझा धारणा थियो। तर हाम्रो उद्देश्य फरक थियो।

मेरो ध्यान प्रजातन्त्रको रक्षा तथा यसको पुनः अपहरण नहोस् भन्नेमा थियो। ००७ सालमा आएको परिवर्तन र ०१५ सालको निर्वाचनबाट प्राप्त जननिर्वाचित संसद् ०१७ सालमा हरण भयो। २९ वर्ष लडेर ल्याएको प्रजातन्त्र फेरि हतियारको सिकार नबनोस् भन्ने म चाहन्थें। त्यसका केही कारण थिए। बहुदल स्विकार्न नचाहने पुनरुत्थानवादीहरूको ठूलो समूह थियो। उनीहरू बहुदललाई मास्न चाहन्थे।

माओवादी हतियारको पहिलो सिकार बहुदलीय व्यवस्था हुन गइरहेको छ भन्ने मेरो ठम्याइ थियो। त्यसैले संविधानसभाको माग स्वीकार गरेर भए पनि बहुदलीय प्रजातन्त्रको निरन्तरताको पक्षपाती थिएँ। हतियार दुरुपयोगको परिस्थितिले सत्तालाई बलियो बनाउँछ भन्ने मेरो मान्यता थियो। हतियार सत्तासँग थियो र माओवादीसँग पनि।

हतियारको लडाइँमा नागरिक समाज प्रभावित हुन्छ भन्ने मेरो मान्यता थियो। नागरिक समाजलाई खुला गर्न हतियार बन्द हुनुपर्छ भन्ने मेरो दृष्टिकोण थियो। नागरिक समाज गैरराज्य क्षेत्र हो। यो बलियो नहुँदासम्म प्रजातन्त्र संस्थागत हुन सक्दैनथ्यो।

पद्मरत्नजीलाई म चिर क्रान्तिकारी (पर्पेच्युअल रिभोल्युसनरी) भन्छु। उहाँ जनताका सबै तप्का मधेसी, जनजाति, सीमान्तकृत, दलित सबैले तुरुन्त न्याय पाऊन् भन्ने चाहनुहुन्थ्यो। उहाँ समतावादी राज्यको पक्षपाती हुनुहुन्थ्यो। त्यसैले उहाँ ०४६ को परिवर्तनको अपूर्णताको सन्देश दिन चाहनुहुन्थ्यो।

पद्मरत्न सिद्धान्तमा कठोर तर व्यवहारमा कोमल मान्छे हो। उहाँ मानवतावादी हुनुहुन्थ्यो। आफैं सिद्धहस्त साहित्यकार हुनुहुन्थ्यो। भाषाप्रेम उहाँको पहिलो चिनारी हो।

माओवादीले हतियार उठाएर गरेको विरोधले परिवर्तनको अपूर्णताको सन्देश दिएको ठान्नुहुन्थ्यो। सँगसँगै त्यो हतियारबन्द आन्दोलनको निहुँ पारेर अन्तर्राष्ट्रिय शक्तिहरू बलियो नहोऊन् भन्ने चाहनुहुन्थ्यो।

इन्डोनेसियामा राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति मिलेर लाखौं कम्युनिस्टहरूको हत्या गरिएको हामी स्मरण गथ्र्यौं। त्यसैले त्यस्तो दुर्घटना नहोस् भन्ने चाहनुहुन्थ्यो। माओवादीहरू युद्ध मात्र होइन, वार्ताका लागि पनि तयार छन् भन्ने साबित गर्न चाहनुहुन्थ्यो।

त्यसैले हतियार छोड र शान्तिको टेबलमा आऊ भन्ने अभियानमा हामीले सहकार्य गरेका थियौं।

शान्तिप्रक्रियाको पहल

माओवादी नेताहरूसँग मेरो खासै सम्पर्क थिएन। मेरो प्रजातान्त्रिक खेमाको स्पष्ट पहिचान थियो। सभामुख भइसकेको निष्ठापूर्ण व्यक्तिको इमेज थियो। अझ थपमा पद्मरत्नजीले माओवादी नेताहरूलाई मेरोबारेमा विश्वस्त बनाउनुभयो। उहाँले ‘यो मान्छे इमानदार छ, प्रभावशाली छ, कम्तीमा संविधानसभाको मुद्दा छोड्दैन’ भन्ने विश्वास दिलाउनुभयो होला। त्यसै आधारमा माओवादी नेताहरू मलाई सहजकर्ता बनाउन तयार भए। उनीहरूले मलाई फोन गरेर अनुरोध गरे।

पद्मरत्नजीले पनि अनुरोध गरेपछि उहाँ र म सहजकर्ता बन्न तयार भयौं। परिणाम, ०५८ मा राज्यपक्ष र माओवादीबीचका पहिलो वार्तामा विधिवत् सहजकर्ता बन्यौं। त्यो भूमिका माओवादीसँगको अन्तिम वार्तासम्मै कायम रह्यो।

शान्तिप्रक्रिया सुरु नहुँदै पनि हामीले माओवादी नेताहरूसँग भेट गर्‍यौं। ०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सम्पूर्ण शासन आफ्नो हातमा लिएपछि श्रीलंकाबाट फर्कंदा हामी माओवादी नेताहरूलाई भेट्न गएका थियौं।

मेरो अनुरोधमा पद्मरत्नजीले पहल गर्नुभएको थियो। त्यो भेटमा पुष्पकमल दाहाल, बाबुराम भट्टराई र कृष्णबहादुर महरा हुनुहुन्थ्यो। माओवादी शान्ति प्रक्रियामा नआउने हो भने राजाको लोकतन्त्रविरोधी कदम झन् बलियो हुन्छ भन्ने मेरो ठम्याइ थियो।

त्यसैले माओवादीलाई हतियार बिसाएर शान्ति प्रक्रियामा आउने मनोबल बढाउन हामी गएका थियौं। त्यतिबेला प्रचण्डजीले मलाई भन्नुभएको थियो, ‘तपाईंलाई हामी र्‍याडिकल डेमोक्याटको रूपमा चिन्छौं।’

शान्तिसम्झौता सुरु हुँदा समयमा पनि हामीलाई पर्यवेक्षक बनाइयो। मैले त्यसमा आपत्ति जनाएको थिएँ तर पद्मरत्नजीले अब्जर्भर भएर भए पनि काम गरौं भन्नुभयो। ०६३ मा सिकलेसबाट प्रचण्ड र बाबुरामजीलाई बालुवाटार आउँदा हामी बिहानदेखि बेलुका अबेरसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवासमा थियौं।

पद्मरत्नजीमा सहजीकरणको अद्भुत क्षमता थियो। जस्तोसुकै विवादबीच पनि निष्कर्ष निकालेर सहजतामा लैजाने अचम्मको खुबी थियो उहाँसँग। जनआन्दोलनपछि हामीले ‘सहजीकरण समूह’ बनायौं, जुन संस्था अहिले नेपाल शान्ति प्रतिष्ठानको रूपमा सञ्चालित छ।

हामी सबै दलका शीर्ष तहका नेतासँगै भेट गथ्र्यौं। दोस्रो तहका नेताहरू सक्रिय रूपमा संलग्न हुनुहुन्थ्यो। सर्वपक्षीय प्रतिनिधित्व भएको एक मात्र फोरम थियो त्यो, जसलाई हामी दुवैले सहजीकरण गरेका थियौं।

सिद्धान्तका कठोर

सारमा भन्दा पद्मरत्न सिद्धान्तमा कठोर तर व्यवहारमा कोमल मान्छे हो। उहाँ मानवतावादी हुनुहुन्थ्यो। आफैं सिद्धहस्त साहित्यकार हुनुहुन्थ्यो। भाषाप्रेम उहाँको पहिलो चिनारी हो। राज्यले कुनै पनि भाषालाई विभेद गर्नु हुँदैन सबै भाषालाई समान महत्व दिनुपर्छ भन्ने उहाँको मान्यता थियो।

कतिले उहाँलाई ‘साम्प्रदायिक’, ‘जातीयवादी’ आदि आरोप लगाए। तर ती सबै आरोप मिथ्या हुन्। उहाँ सबै भाषाभाषी र जातजातिलाई राज्य र संविधानले समान व्यवहार गरोस् र सबैले राज्यमा पहुँच पाऊन् भनेर लडिरहनुभयो। पछिल्लो समयमा उहाँका नजिकका केही वामपन्थी मित्रहरूले पनि उहाँलाई चिन्न सकेनन्। ‘जातीयवादी’ भनेर आरोप लगाए। त्यसमा उहाँ दुःखी हुनुहुन्थ्यो।

उहाँ सिद्धान्तनिष्ठ, राष्ट्रिय दृष्टिकोणयुक्त हुनुहुन्थ्यो। उहाँले कहिल्यै पनि सत्तामोह राख्नुभएन। नौ महिना मन्त्री हुनुभए पनि सत्तापिपासु कहिल्यै हुनुभएन। कतिपटक सत्तामा जाने अवसर पाउँदा पनि उहाँ जानुभएन। भावुकता उहाँसँग जोडिने विशेषता हो। गरिब, दीनदुःखीमाथिको अन्याय सम्झिँदा उहाँ बोल्दाबोल्दै पनि रोइदिनुहुन्थ्यो। कतिपटक हामीले सम्हाल्नुपथ्र्यो।

यो उमेरमा शान्ति प्रक्रियाको काम बाँकी छँदै लामो समयदेखिको सहकर्मी साथी पहिल्यै बिदा हुनु मेरा लागि व्यक्तिगत रूपमा पनि वेदना तथा रिक्तताको पराकाष्ठा हो। दिवंगतहरूको सपना पूरा गर्ने काम बाँचेकाहरूको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.