रोड्सको प्रशिक्षणले नेपाली खेलाडी उत्साहित

रोड्सको प्रशिक्षणले नेपाली खेलाडी उत्साहित

काठमाडौं : सन् १९९२ देखि २००३ को अवधिमा अन्तर्राष्ट्रिय क्रिकेट हेरेकाहरूले जोन्टी रोड्सको खेललाई सायदै भुलेका छन्। नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी राजु बस्न्यात पनि त्यहीमध्येका हुन्, जो रोड्सको खेलबाट प्रभावित छन्।

त्यसैले १० दिनको प्रशिक्षणका लागि रोड्स नेपाल आउँदा बस्न्यात उनको नेतृत्वमा क्रिकेट सिक्न पाउने खेलाडीलाई भाग्यमानी ठान्छन्। ‘रोड्सको खेलबाट प्रभावित नहुने सायदै कोही होलान्। अन्तर्राष्ट्रिय क्रिकेटको फिल्डिङमा क्रान्ति ल्याउने खेलाडी हुन् उनी’, बस्न्यात भन्छन्, ‘उनको नेतृत्वमा सिक्न पाउनु भनेको नेपाली प्रशिक्षक र खेलाडीका लागि भाग्यको कुरा हो। उनको स्तरका खेलाडीले सायदै नेपालमा प्रशिक्षण दिएका छन्।’

उनी रोड्सको प्रशिक्षणले नेपाली खेलाडी र प्रशिक्षकहरूले धेरै नै सिक्न सक्ने तर्क गर्छन्। ‘रोड्स खेलाडीका रूपमा मात्रै हैन, प्रशिक्षकका रूपमा पनि निकै अनुभवी छन्’, उनी भन्छन्, ‘त्यसैले उनको प्रशिक्षणबाट नेपाली क्रिकेटले धेरै फाइदा लिन सक्छ। खेलका साथै अन्य प्राविधिक पक्षमा उनीबाट धेरै सिक्न सक्छौं।’

१० दिनको प्रशिक्षणका लागि नेपाल आएका रोड्सले बुधबारबाट प्रशिक्षण सुरु गर्दै छन्। उनको प्रशिक्षणका लागि यू–१६ र यू–१९ उमेरसमूहका खेलाडीले नाम दर्ता गराएका छन्। उनीहरू सबैले कीर्तिपुर मैदानमा बुधबारदेखि १० दिनसम्म रोड्सबाट नियमित प्रशिक्षण लिनेछन्। त्यसका साथै नेपाली सिनियर राष्ट्रिय टोली र यू–१९ राष्ट्रिय टोलीलाई पनि रोड्सले छुट्टाछुट्टै प्रशिक्षण सञ्चालन गर्नेछन्।

त्यसअघि मंगलबार उनले नेपाली प्रशिक्षकहरूसँग छलफल गरेका छन्। उनीसँगको छलफलमा सहभागी भएका प्रशिक्षक कलाम अली पनि रोड्सको प्रशिक्षणबाट नेपाली खेलाडी र प्रशिक्षकले धेरै सिक्न सक्ने तर्क गर्छन्। ‘उनी आफ्नो समयका राम्रा फिल्डर मात्रै हैनन्, राम्रा ब्याट्सम्यान पनि थिए। उनीसँग बलिङको पनि राम्रो ज्ञान छ’, कलाम भन्छन्, ‘त्यसका बीच रोड्सले खेलाडीलाई मानसिक रूपमा पनि राम्रो प्रशिक्षण दिनेछन्। त्यो हाम्रा लागि निकै नै महत्वपूर्ण कुरा हो।’

उनी रोड्सको प्रशिक्षणले नेपालमा क्रिकेटको माहोल अझ बढ्ने बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.