सोलारीमाथि नै रियलको विश्वास

सोलारीमाथि नै रियलको विश्वास

एजेन्सी/म्याड्रिड : स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले सान्टियागो सोलारीलाई नै आफ्नो पूर्णकालीन प्रशिक्षकमा नियुक्त गरेको छ।  रियलले मंगलबार राति सोलारीसँग सन् २०२१ को जुनसम्मका लागि सम्झौता गरेको हो।  करिब दुई साता रियलको कार्यवाहक प्रशिक्षकको भूमिका निर्वाह गरेपछि ४२ वर्षीय अर्जेन्टिनी नागरिक सोलारीले पूर्णकालीन प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

‘सोलारीको प्रदर्शनबाट हामी सन्तुष्ट छौं त्यसैले उनलाई नै पूर्णकालीन प्रशिक्षक बनाउने निर्णय लिएका हौं’, रियलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा सोलारीको प्रशिक्षकत्वमा क्लबले नयाँ उचाइ लिने विश्वास बोकेका छौं ।’ सोलारीले गत अक्टोबर २९ मा रियलको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

आफ्नो टोली ‘एल क्लासिको’ भिडन्तमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग ५–१ गोलले पराजित भएको एक दिनपछि नै रियलले तत्कालीन प्रशिक्षक युलेन लोपेटेग्वीलाई पदबाट बर्खास्त गरेको थियो।  त्यसपछि रियलले सोलारीलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो।  स्पेनिस ला लिगाको नियमअनुसार कुनै पनि क्लबले दुई साताभन्दा बढी कार्यवाहक प्रशिक्षक राख्न पाउँदैन।  त्यसैले दुई साता बित्नुअगावै रियलले सोलारीलाई पूर्णकालीन प्रशिक्षक बनाएको हो ।

सोलारीको नेतृत्वमा रियलले खेलेका चारवटै खेलमा जित हात पारेको छ।  सोलारीका लागि यो उत्कृष्ट नतिजा हो।  क्लबको इतिहासमा हालसम्म कुनै पनि प्रशिक्षकले यस्तो सफलता हात पार्न सकेको छैन।  सोलारीको प्रशिक्षकत्वमा रियलले कोपा डेल रेमा मेलिल्लालाई र च्याम्पियन्स लिगमा भिक्टोरिया पल्जनलाई हराएको थियो ।

यसैगरी स्पेनिस ला लिगामा रियलले रियल भालाडोलिड र सेल्टा भिगोलाई पराजित गरेको थियो।  कार्यवाहक प्रशिक्षकका रूपमा सोलारीले जिम्मवारी सम्हालेयता रियलले विपक्षीको पोस्टमा १५ गोल गरिसकेको छ भने केवल दुई गोल खाएको छ।  सोलारी आउनुअघि स्पेनिस ला लिगा तालिकामा रियल नवौं स्थानमा थियो भने अहिले तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

ला लिगा तालिकाको पहिलो स्थानमा आसीन बार्सिलोनाभन्दा रियल केवल चार अंकले पछाडि छ।  सोलारी रियलका पूर्वखेलाडी पनि हुन्।  उनले यसअघि रियलको ‘बी’ टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।  रियलले लोपेटेग्वीको स्थानमा एन्टोनियो कोन्टे र रोबर्टो मार्टिनेजमध्ये एकलाई प्रशिक्षक बनाउने चर्चा पनि चलेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.