स्वरोजगारमा लगानी, बालुवामा पानी
चरिकोट : पाँच वर्षअघि दोलखाका युवा व्यवसायीलाई लक्षित गरी लगानी गरे पनि त्यो बालुवामा पानीसरह भएको छ। २०७०/७१ मा युवा स्वरोजगार कार्यक्रमअन्तर्गत जिल्लाका युवा व्यवसायीका लागि गरिएको लगानी पाँच वर्ष पुगिसक्दा पनि प्रतिफलै नदेखिएपछि लगानी बालुवामा पानी भएको हो ।
कूल लगानीमध्ये साँवा र ब्याजसहित एक करोड १४ लाख ८० हजार कर्जा लगानी उठ्न बाँकी छ। युवा उद्यमीलाई प्रोत्साहन गर्न सरकारी कार्यक्रम युवा स्वरोजगार कार्यक्रमअन्तर्गत एक सय चार युवामा लगानी गरिएकोमा हालसम्म ३३ जनाले मात्र साँवा र ब्याज तिरेको राष्ट्रिय वाणिज्य बैंक चरिकोट शाखाका प्रबन्धक निरोजकुमार श्रेष्ठले जानकारी दिए। अझैसम्म पनि ७१ जना ऋणीले साँवा तथा ब्याज नतिरेको उनको भनाइ छ।
बैंकमार्फत लगानी गरिएकाले लगानी उठाउनु टाउको दुखाईको विषय बनेको छ। लगानी डुब्ने अवस्थामा पुगेपछि स्वरोजगार कर्जा लगानी कार्यविधि तथा निर्देशिकाले गरेको व्यवस्था अनुसार मालपोतमा ऋणी र ऋणीका एकाघरको परिवारको नाममा रहेको अचल सम्पत्ति रोक्का गरेपछि केही ऋणीले ऋण तिरेको प्रबन्धक श्रेष्ठको भनाइ छ। एक वर्षअघि बिनाधितो ६० प्रतिशत ब्याज अनुदान पाउने गरी तत्कालीन सरकारले प्रतिव्यवसायी एक लाखका दरले एक करोड चार लाख युवा स्वरोजगार प्रवद्र्धनका लागि १२ प्रतिशत ब्याजमा कर्जा लगानी गरेको थियो ।
साँवा तथा व्याज भुक्तानी गरेपछि तिरेको ब्याजको ६० प्रतिशत ऋणीलाई नै फिर्ता दिने शर्तमा ऋण लगानी गरिए पनि पाँच वर्ष बितिसक्दासमेत व्यवसायीले ऋण नतिरेपछि लगानी डुब्ने देखिएको छ। ऋण लिएपछि तिर्नै पर्ने भन्ने बुझ्न आफूले व्यवसायीलाई आग्रह गरिरहेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले बताए।
कर्जा सुविधा लिने व्यवसायीमा कुखुरापालन तथा पशुपालन फर्म, कृषि फर्म, किराना पसल, फेन्सी स्टोर, होटल, फर्निचर, ब्लक, ज्वेलर्स, वर्कसप तथा साइबर छन्। साँवा तथा ब्याज भुक्तानी गर्न सूचना पठाउँदा पनि नआएका ऋणीलाई युवा तथा साना व्यवसायी स्वरोजगार कर्जा सञ्चालन निर्देशिका बमोजिम कर्जा असुली प्रकृयामार्फत पारिवारिक सम्पत्ति रोक्का गरी नियतवश ऋण नतिर्ने ऋणीसरह कालोसूचीमा समावेश गरी कारबाहीको प्रकृया अगाडि बढाइएको चरिकोटस्थित वाणिज्य बैंकले जनाएको छ ।