छोरी जन्मिए बैंक खाता
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले नगरमा जन्मिने छोरीहरूको नाममा बैंक खाता खोलिदिन थालेको छ। कर्णाली प्रदेश राजधानी रहेको नगरलाई बालिकामैत्री बनाउन नगरले यो अभियान थालेको हो। शिक्षित व्यक्तिहरू बस्ने नगरभित्रै लैंगिक विभेद भइरहेको भन्दै नगरपालिकाले अघिल्लो वर्ष सम्पन्न नगरसभाबाट छोरीको नाममा बैंक खाता खोलिदिने निर्णय गरेको थियो।
हालसम्म नगरभित्रका ७० जना बालिकाको नाममा बैंक खाता खोलिएकोे छ।खातामा नगरपालिकाले नै एक हजार रुपैयाँसमेत जम्मा गरिदिएको छ। नगरपालिकाले बैंक खाता बनाइदिएपछि वीरेन्द्रनगर–१० की खेमा गौतमले आफ्नी छोरीको नाममा सोही खातामा पैसा जम्मा गरिरहेकी छन्। नगरपालिकाको यो काम सराहनीय भएको उनले बताइन् ।
नगरपालिकाको यो अभियानलाई वीरेन्द्रनगरका–१० का रवीन्द्र रेग्मी र निशा पौडेल रेग्मीले पनि आत्मसात गरेका छन्। उनीहरूले पनि छोरीको नाममा बचत गर्दै आएका छन्। बालिकाको संरक्षण र उनीहरूलाई सम्पत्तिमाथि अधिकारप्राप्त बनाउन यस्तो योजना अघि सारिएको नगर उपप्रमुख मोहनमाया ढकालले बताइन्। उनले भनिन्, ‘वीरेन्द्रनगरलाई देशकै नमुना नगर बनाउने सपना छ। सामाजिक हिसाबले पनि नगरलाई अब्बल बनाउनेछौं ।’
पाँच वर्षभित्र नगरभित्र हुने भ्रुणहत्याको समस्या पूर्ण बन्द हुनेमा उनले विश्वास व्यक्त गरिन्।विभेद तोड्नकै लागि नगरपालिकाले यस्तो अभियान थालेको उनी बताउँछिन्। बालिकाका नाममा खोलिएको खाताबाट भविष्यमा उनीहरूमाथि आइपर्ने आर्थिक समस्या समाधान हुने नगरले विश्वास लिएको छ।साथै यसबाट लैंगिक विभेद हट्ने हुँदा महिला हिंसामा कमी आउने पनि नगरपालिकाले दाबी गरेको छ ।