नगरपालिकाले वितरण गर्नथाल्यो अपाङ्गता परिचय पत्र
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकाले गाउँमै पुगेर अपाङ्गता कार्ड वितरण गर्ने कार्य थालेको छ। बर्दिबास नगरपालिकाले देशमै स्थानीय तहबाट निर्देशिका बनाएर पहिलो पटक अपाङ्गता परिचय पत्र वितरण गर्ने कामको थालनी गरेको छ।
महिला तथा बालबालिका कार्यालयले वितरण गर्दै आएका अपाङ्गता कार्ड वितरण गर्ने कार्य स्थानीय सरकारको काँधमा आएदेखि कार्ड वितरण गर्ने कार्य बन्द थियो। गएको असारदेखि जिल्ला कार्यालय भंग भएपछि अपाङ्गता कार्ड वितरण हुन सकेको थिएन। बर्दिबास नगरपालिकाले अपाङ्गता परिचय पत्रसम्बन्धी निर्देशिका २०७५ जारी गर्दै स्थानीय तहबाटै अपाङ्गता परिचय पत्र वितरण गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले जनाए।
नगरभित्रको अपाङ्गता नागरिकलाई परिचय पत्र वितरण गर्न महिला तथा बालबालिका अधिकृत सत्यदेवी अधिकारी नेतृत्वको टोली खटाइएको छ।स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार अनुसार अपाङ्गता परिचय बाँड्न सुरु गरिएको हो।नगर प्रमुख विदुर कुमार कार्कीले सेवा ग्राहीलाई अपाङ्गता कार्ड वितरण गरेर सेवाको सुभारम्भ गरेका थिए।
पूर्ण अशक्त अपाङ्गता 'रातो कार्ड', अति अशक्त अपाङ्गता, 'निलो' कार्ड', मध्यम अपाङ्गता 'पहेंलो' र समान्य अपाङ्गता कार्ड -सेतो' कार्ड गरी चार प्रकारका अपाङ्गता कार्ड वितरण भइरहेको महिला तथा बालबालिका अधिकृत अधिकारीले बताइन्।
रातो कार्डलाई २ हजार र निलो कार्डलाई ६ सय मासिक समाजिक सुरक्षा भत्ता प्रदान गर्ने छ। कार्ड पाउनेले आउँदो दोस्रो चौमासिकबाट उक्त भत्ता पाउने छन्।