र्याफ्टिङ गर्दा कर्णालीमा डुबेर अष्ट्रेलियन नागरिकको मृत्यु (अपडेट)
कालिकोट : कर्णाली नदीमा र्याफ्टिङ गर्दा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।
शान्नित्रिवेणी गाउँपालिका २ आम्तडा नजिकै कर्णालीमा र्याफ्टिङ गर्दा नदीमा खसेर ३१ वर्षीय अष्ट्रेलियन नागरिक एड्रिनको मृत्यु भएको हो ।
मुगुबाट सुर्खेततिर आउँदै गरेको अवस्थामा बोर्ट दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले जानकारि दिए ।
मुगुको रारा ताल अवलोकन गरी कर्णाली नदीमा र्याफ्टिङ गर्र्दै सुर्खेततिर आउदै गरेका उनी कर्णाली नदीमा डुबेका हुन् ।
शर्माका उनका अनुसार मुगुबाट पाँच जनाको टोली आएको र बाँकी चार जना सकुशल छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले भने, ‘आम्तडामा कर्णाली नदी निकै उर्लदो छ । ठूलाठूला ढुङगा छन् । नदी भित्रकै ढुङगामा उनीहरु चढेको बोट ठोक्किएर दुर्घटना भएको हो ।’
कर्णालीमा डुबेका अष्ट्रेलियन नागरिकको शव प्रहरीले टोलीले जिल्ला सदरमुकाम मन्म ल्याएको छ । दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक मनीराम भट्ट नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।
शव हेलिकोप्टरमार्फत् शुक्रबार काठमाडौं पठाउने तायारी भइरहेको प्रहरीको भनाइ छ । गत वर्ष पनि कर्णाली नदीमा र्याफ्टिङ गर्दा एकजना फ्रान्सेली नागरिकको ज्यान गएको थियो ।