श्रीलंकाको संसद बैठकमै कुटाकुट, एक सांसद अस्पताल भर्ना
कोलम्बो : श्रीलंकामा चर्कँदो दलीय तनावका बीच आज संसद बैठकमै सांसदहरुबीच कुटपिट चलेको छ । सामूहिक रुपमै झगडा हुँदा एक सांसदलाई त अस्पताल नै पुर्याउनु परेको छ ।
कुटपिटमा संलग्न दिलुम अमुनुगाम्ना नाम गरेका सांसदलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार बिहान यहाँ संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटपिट चलेको हो ।
सेतो र सफा कपडा पहिरनमा बैठकमा उपस्थित भएका थुप्रै सांसदहरु आपसमा मुक्कामुक्की नै गरेका थिए । झगडाबीच एक सांसद त विरोधी सांसदको प्रहारपछि भुईँमै पल्टिएका थिए ।
केही सांसद धक्काधक्कीको बेला तल लडिरहँदा अन्य केही भने लड्नेमाथि मुक्का हिर्काइरहेको देखियो । राजपाक्षे निकट एक सांसद अमुनुगामा जब सभामुखको माइक समात्न खोज्दै थिए त्यसै बेला उनी समातिएका थिए । कुटपिटकै बेला सभामुख, राजपाक्षे र विक्रमासिंघेले समेत आफ्नो चेम्बर छोडेर झगडालुकै बीचमा थिए ।
घटनापछि विक्रमासिंघेको पार्टी युनाइटेड नेश्नल पार्टीका सांसद हर्शा दे सिल्भाले यो घटनालाई ‘संसदभित्रको सबैभन्दा लज्जास्पद दिन’ भनी टिप्पणी गरेका छन् ।
कुटपिट हुनुअघि संसद बैठकमा महिन्दा राजपाक्षेले आफू शक्तिको भोको नभएको जिकिर गर्दै ‘विक्रमासिंघेका कारण मुलुकमा ब्याप्त भ्रष्टाचार हटाउन’ प्रधानमन्त्री पदमा आएको बताएका थिए । उनले विरोधीलाई लक्षित गर्दै भनेका थिए, ‘तिमीहरुलाई प्रधानमन्त्री र राष्ट्रपति पद ठूलो विषय होला, तर मेरो लागि हैन ।’
साथै राजपाक्षेले सभामुखलाई समेत पश्चिमाको ईशारामा चलेको संकेत गर्दै आरोप लगाएका छन् । उनले भने, ‘सभामुख स्वतन्त्र भएको हेर्न चाहन्छौँ हामी । न कि कुनै पार्टी वा पश्चिमाको निकट मित्र ।’ साथै उनले आम निर्वाचनको समेत माग गरेका थिए । राजपाक्षेको सम्बोधन लगत्तै सभामुखले बोलिरहेको बेला राजपाक्षेका सांसद सभामुखको माइक खोस्न उनको कुर्सीतिर लम्किँदै गर्दा विक्रमासिंघेका सांसदले धक्का दिँदै रोक्न खोजे । सोही घटनाबाट कुटपिट सुरु भएको हो ।
भिडियो