बंगाली फोटोपत्रकार शाहिदुलको पक्षमा अदालत फैसला
ढाका : बंगलादेशमा तीन महिनाअघि पक्राउ परेका प्रभावशाली फोटो पत्रकार शहिदुल आलमलाई अदालतले सफाय दिएको छ ।
विद्यार्थीहरु आन्दोलनको पक्षमा मिडिया अन्तरवार्ता दिएको भन्दै पक्राउ परेका आलमलाई बिहीबार ढाकास्थित अदालतले फैसला गरेको हो । ६३ वर्षे आलम अन्तर्राष्ट्रिय अवार्डप्राप्त फोटोपत्रकार हुन् । गत अगष्टमा ‘गलत सूचना प्रचार गर्दै अफवाह फैलाएको’ भन्दै अलजजीरालाई अन्तरवार्ता दिइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
सन् २००९ देखि शक्तिमा आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई गैर न्यायीक हत्याको आरोप पनि लाग्दै आएको छ । गत वर्ष मात्रै बंगलादेशमा कम्तिमा २५ पत्रकार र सयौं ब्लगर तथा फेसबुक प्रयोगकर्तामाथि यहाँको प्रचलित ‘आईसिटी एक्ट’अन्तरगत मुद्दा लगाइएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि बनाएका आलमलाई पक्राउ गरेपछि भने मानवअधिकारकर्मी तथा पत्रकारहरुले यहाँको सरकारलाई चौतर्फी दबाव दिँदै आएका थिए ।