दस लाखको रोटरी पुरस्कारको लागि आवेदन खुला
काठमाडौं : रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपालले प्रत्येक दुईदुई वर्षमा दिइने दस लाख रुपैयाँ राशीको रोटरी अवार्ड फर भोकेस्नल एक्सिलेन्सको आवेदन खुला भएको जनाएको छ।
उसले बिहीबार पत्रकार सम्मेलन गरी उक्त अवार्डको लागि आवेदन खुला भएको जनाएको हो।
पत्रकार सम्मेलनमा क्लवका डिस्ट्रिक्ट गर्भनर चिन्तामणि भट्टराईले यस वर्ष सूचना प्रविधि (आईटी) र नयाँ आविस्कार (इनोभेसन) को क्षेत्रमा उक्त पुरस्कार दिने जानकारी दिए।
उनका अनुसार गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेस्नल एक्सिलेन्स नामक उक्त पुरस्कार प्राप्त गर्न आउँदो मंसिर २८ गतेसम्म आवेदन दिन सकिनेछ।
आफ्नो पेसा र व्यवसायको माध्यमबाट राष्ट्रियस्तरमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्न उक्त पुरस्कारको व्यवस्था गरिएको उनी बताउँछन्।
यो पुरस्कार यस वर्ष सूचना प्रविधि र नयाँ आविस्कारको क्षेत्रमा अनुकरणीय योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गर्ने निर्णय गरेका छौं’, उनले भने, ‘काठमाडौंको थापाथलीस्थित डिस्ट्रिक्ट कार्यालय र देशभर रहेका रोटरी क्लवबाट आवेदन पाउन र बुझाउन सकिने व्यवस्था गरिएको छ।’
पुरस्कार छनोट समितिका संयोजक दिवाकर राजकर्णिकारले देश र समाजमा थप योगदान पुग्ने विश्वासले पुरस्कारको व्यवस्था गरिएको बताए।
उनले उक्त पुरस्कारलाई भविष्यमा दक्षिण एसिया र त्यसभन्दा बाहिर अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिने जानकारी दिए।
सन् २०१० देखि प्रदान गर्न थालिएको यो पुरस्कारको यस वर्ष पाँचौं संस्करण हो। सन् २०१० मा पहिलोपटक काभ्रेको धुलिखेल अस्पतालका मेडिकल डाइरेक्टर डा. रामकण्ठ मकाजू श्रेष्ठले यो पुरस्कार पाउन सफल भएका थिए। त्यस्तै शिक्षा क्षेत्रमा विशेष योगदान गर्ने काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले सन् २०१२ को दोस्रो संस्करणको पुरस्कार पाएका थिए।
सन् २०१४ मा भने कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका डा. सत्यमोहन जोशी र २०१६ मा समाज सेवामा अग्रणी श्रीमती इन्दिरा रानामगरलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।