रिटगन नयाँ पुस्ताकाे निर्माण उपकरण
व्यावसायिक यात्रामा अब्बल दुुगड गु्रपले वित्तीयसँगै अटोमोबाइल्स क्षेत्रमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। अटोमोबाइल्स व्यवसायको ४६ वर्षे यात्रामा दुगडले सडक निर्माणमा सहयोग पुर्याउन रिटगन गु्रपको आधिकारिक बिक्रेता बनेको छ। एमभी गु्रपमार्फत दुगडले भित्र्याएका रिटगनका सडक निर्माण उपकरणसम्बन्धमा उपाध्यक्ष विवेक दुगडसँग अन्नपूर्णकर्मी निर्दोष घोरसाइनेले गरेको कुराकानीको अंशः
रिटगन ग्रुप नै किन रोज्नुभयो ?
एमभी दुगर्स ग्रुप सन् १९७२ देखि अटोमोबाइल्स क्षेत्रमा छ। ग्रुपसँग दुईपांग्रे रोयल इन्फिल्ड, महिन्द्राको कमर्सियल भेहिकल, जोनडियर ट्र्याक्टर, थ्री ह्विलरमा पियाजियो छ। अटोमोबाइल्स क्षेत्रमा हाम्रो विविधता छ। नेपाल हाल पूर्वाधार विकासको चरणमा छ। पूर्वाधार निर्माण गर्न हेभी इक्विपमेन्ट आवश्यक पर्छ।
रिटगन ग्रुपले पूर्वाधारको क्षेत्रमा प्रयोग हुने उपकरण उत्पादन गर्छ। ती उपकरण नयाँ र प्रविधियुक्त छन्। रिटगनका उपकरण विकास निर्माणमा सहयोगी हुने हाम्रो अपेक्षा छ। विकास निर्माणसम्बन्धी काम समयमै पूरा नहुनुको कारण हामीले प्रयोग गर्ने उपकरण पुराना हुनु पनि हो।
निर्माणसम्बन्धी कस्ता उपकरण प्रयोगमा छन् ?
अहिलेसम्म हामीले विकास निर्माणमा नयाँ प्रविधियुक्त उपकरण प्रयोगमा ल्याएका छैनौ। विकास निर्माण मुलुकको प्रमुख प्राथमिकता हो। तीव्र गतिमा विकास गर्न नयाँ प्रविधिसँगै स्वस्थ प्रतिस्पर्धा हुनु आवश्यक छ। पुरानो प्रविधिले लक्ष्यअनुसार प्रगति हासिल गर्न सम्भव छैन। पुरानो उपकारण जनशक्तिको भरमा चल्ने गर्छ। अहिले हामीसँग पर्याप्त जनशक्ति उपलब्ध छैन। कोही वैदेशिक रोजगारीमा छन्, सक्षम जनशक्तिको सधैं अभाव छ। यी विविध कारणले विकास निर्माणसम्बन्धी कार्य ढिला हुने गरेको छ।
सडक निर्माणका लागि नेपाललाई नयाँ पुस्ताको प्रविधि आवश्यक छ। त्यस्ता विषयमा कसैले चासो देखाएका छैनन्। हामीले अटोमोबाइल्स व्यवसाय सुरु गर्दा सधैं एक खुड्किलो अगाडि सोचेर गर्छौं। यो पोर्टफोलियो नेपाललाई उपयोगी हुन सक्ने ठानेर रिटगनलाई रोज्यौ। रिटगन सडक निर्माणमा प्रयोग हुने उपकरण उत्पादन गर्ने विश्वकै नम्बर वान कम्पनी हो।
रिटगन ग्रुपको आधिकारिक बिक्रेतामा नियुक्ति भएसँगै सडक विभागलाई पहिलो ग्राहक बनाउनुभयो, यसबाट कत्तिको उत्साहित हुनुहुन्छ ?
सडक विकाससम्बन्धी कार्यलाई तीव्रता दिन नयाँ प्रविधिका उपकरण आवश्यक भइराखेको थियो। सबै निर्माण कार्य ढिला हुँदा विभागले नयाँ प्रविधियुक्त उपकरण खरिद गर्ने योजना बनाएको थियो। यो हाम्रा लागि अवसर भयो। विभागले पनि नयाँ उपकरण प्राप्त गर्यो।
बोलपत्रमार्फत हामी त्यसमा छिरेका हौं। हामीले भोगेलेको चारवटा पेभर्स टेन्डर प्राप्त गरेका छौ। अबको तीन चार महिनामा यी उपकरणको माग उच्च हुनेछ। नेपालमा त्यसपछि सडक निर्माण कार्यले तीव्रता पाउनेछ। विदेशका स्तरीय सडकको सबैले तारिफ गर्छन्। नेपालमा किन हुँदैन ? हामी प्रविधि प्रयोगमा चुकेका छौ। प्रविधिको प्रयोगबाट काम छिटो र स्तरीय हुन्छ। विभागले खरिद गरेका उपकरणको प्रयोगले सडक निर्माणमा क्रान्ति नै आउनेछ।
रिटगन ग्रुप कस्तो कम्पनी हो ? यसका उपकरण कुन–कुन देशमा प्रयोगमा छन् ?
रिटगन ग्रुप जर्मनी कम्पनी हो। सडक निर्माण उपकरण बनाउने कम्पनीमा यसको नाम अग्रस्थानमा छ। यसको वार्षिक कारोबार तीन बिलियन युरोभन्दा बढी छ। यस वर्ष कम्पनीले चार बिलियन युरोभन्दा धेरैको कारोबार गर्ने लक्ष्य लिएको छ। युरोप, अमेरिका, अफ्रिका, एसिया, अस्ट्रेलियामा रिटगनका उपकरण प्रयोगमा छन्। यसका उत्पादन पनि गुणस्तरीय छन्।
रिटगनका उपकरण कस्ता छन् ?
रिटगन ग्रुपअन्तर्गत चारवटा ब्रान्ड छन्। ह्यामको रोलर, भोगेलेको पेभर्स, रिटगनको मिलिङ र क्लिम्यानको कर्सर छन्। ह्यामको रोलर यसअघि पनि नेपालमा भित्रिरहेका थिए। अन्य उपकरण नेपाली बजारका लागि नयाँ हुन्। रिटगनका उपकरणमा कस्तो प्रविधिको प्रयोग गरिएको छ ? नेपालको जटिल भौगोलिक अवस्थामा यी उपकरणले कति किफायति छ ?
रिटगनका उपकरणहरू उच्चतम प्रविधिका आधारमा निर्माण गरिएका छन्। नेपालजस्तै भौगोलिक जटिलता भएका स्थानमा रिटगनको ख्याति छ। यसले नेपालका साँघुरा र भिराला बाटोमा सहज हुन्छ। साथै यसको फ्युल इफिसियन्सी पनि उत्कृष्ट छ।
रिटगनका उपकरणबाट कस्ता कार्य गर्न सम्भव छ ?
रिटगनमा प्रयोग भएका प्रविधिबाट नेपालमा विकास निर्माणसम्बन्धी कार्य भएका छैनन्। सडकमा अलकत्र राख्न भोगेलेको पेभर्स भित्र्याएका हौं। पेभर्स अलकत्र पकाउन, बोक्न र छर्न प्रयोग गरिन्छ। यसले अलकत्रको तापक्रम पनि नियन्त्रणमा राख्छ। हाम्रोमा अहिले सडक निर्माण गर्दा अलकत्र ड्रममा पकाएर प्रयोग गर्ने चलन छ। जसले यसको गुणस्तर कायम हुन जटिल हुन्छ।
सडक पनि टिकाउ हुँदैनन्। तामक्रम समान नभएर यस्तो अवस्था सिर्जना भएको हो। पेभर्समा अलकत्रको तामक्रम नियन्त्रित गर्न ट्यांकरभित्रै केमिकल हुन्छ। पेभर्सको पछाडि प्रोसेसिङ उपकरण पनि जडान गरिएको हुन्छ। त्यहाँ भएका सेन्सरले सडकका लागि आवश्यक मात्रामा अलकत्र छर्किन्छ। विकसित मुलुकमा पेभर्स प्रविधि प्रयोग गरेर सडक निर्माण गरिन्छ।
अर्को क्लेम्यानको क्रसर हो। यो एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने पोर्टेबल हुन्छ। यो क्रसर विकाससम्बन्धी कार्य भएको ठाउँमै जडान गरेर गिटी निकाल्न सकिन्छ। पहाड फुटाएर सडक बनाउनु पर्ने ठाउँमा यसको प्रयोग हुन्छ। ढुंगाबाट गिटी बनाउन सकिन्छ। रिटगनको मिलिङ मेसिन नेपालको सन्दर्भमा निकै उपयोगी छ।
हाम्रोमा सडक मर्मत गर्दा पिचमाथि पिच गर्ने परिपाटी छ। यसले सडक एकनास हुँदैन। यसले मर्मत गुर्नपर्ने सडकको आवश्यकताको भागलाई तीन एमएमसम्म कटान गर्छ। मेसिनले सडकबाट उठाएको अलकत्र र गिटीको भागलाई रिसाइक्लिङ गर्छ। मिलिङ मेसिनबाट कटान गरिएको पदार्थ पुनः प्रयोगमा आउँछ। ठेक्काको लागत मूल्य पनि घट्छ। कम्तीमा ३० देखि ४० प्रतिशतसम्म लागत कम हुँदा निकै उपयोगी छ।
ह्यामको रोलर अलकत्र छरेको स्थानमा तथा सडक सम्याउन प्रयोग गरिन्छ।
रिटगनले आफ्नै ब्रान्डिङमा उत्पादन बिक्री वितरण गर्दै आएको छ तर नेपालमा एमभी दुगर्स ग्रुप कसरी रोजाइमा पर्यो ?
अन्य मुलुकमा रिटगनले आफ्नै कार्यालयमार्फत मेसिन बिक्री वितरण गर्दै आएको छ। रिटगनका मेसिन महँगो हुन्छ। मेसिनमा आइपर्ने समस्या समाधान गर्न मेकानिक्स, इन्जिनियर उपलब्ध गराउनुपर्ने भएकाले कम्पनीमार्फत हुँदै आएको हो। बिक्रीपछि पनि उत्कृष्ट सेवा दिने लक्ष्यले कम्पनीले काम गरिरहेको छ। दुगर्स अटोमोबाइल्स सेक्टरमा ४५ वर्षदेखि निरन्तर छ।
दुगर्स नेपालको विश्वसनीय रहेको उनीहरूको ठम्याइ हो। साथै दुगर्सका ४० भन्दा धेरै सोरुम छन्। दक्ष जनशक्ति हामीले उपलब्ध गराउन सक्छौ। कम्पनीले हालसम्म अन्य देशमा उपलब्ध गराउँदै आएको सेवासुविधा दुगर्ससँगको सहकार्यले दिन सकिन्छ भन्ने विश्वास उनीहरूलाई पर्यो। दुगर्सलाई रिटगनका उपकरणमा लगानी गर्न कठिनाइ पनि थिएन। दुगर्सका यी सवल पक्ष देखेर कम्पनीले आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको हो। नेपालमा प्राप्त हुने सफलताको आधारमा कम्पनीले अन्य देशमा पनि डिलरसिपको अवधारणामा अघि बढ्नेछ।
के रिटगनका मेसिन सर्वसुलब रूपमै उपलब्ध हुन्छन् ?
हाम्रा ४० वटै सोरुमबाट रिटगनका मेसिन खरिद गर्न सकिन्छ। निर्माण उपकरण भएकाले खरिद गरिएको स्थानमा मात्र यसको प्रयोग हुँदैन। यो मुलुकभर प्रयोगमा आउँछ। सेवाग्राहीलाई मुलुकको कुनै पनि स्थानमा सर्भिसको खाँचो पर्छ। त्यसका लागि हामीसँग दक्ष जनशक्ति पनि छ। हामीले तुरुन्त सेवा दिन सक्छौं। महँगा मेसिन ठूला निर्माण व्यवसायीले मात्र प्रयोग गर्ने हो।
सबै ठाउँमा मेसिन उपलब्ध हुँदैन। तर मेसिनमा आइपर्ने समस्या भने सबै सोरुमबाट हल गरिन्छ। पूर्वाधार निर्माणमा चल्ने हो। दुर्गम क्षेत्रमा सर्भिस महत्र्वपूर्ण हुन्छ। सोरुबाट बुक गरेर खरिद गर्न सकिन्छ। २४ घण्टाभित्र सर्भिस दिन तयार छौं।
यसअघि पनि रिटगनका उपकरण नेपालमा प्रयोगमा थिए ?
हामीले डिलरसिप लिनुअघि रिटगनका ह्याम रोलर नेपालमा भित्रिने गरेका थिए। तीबाहेक अन्य उपकरण नेपालमा नयाँ हो। नेपालमा निर्माणसम्बन्धी कार्यमा रोलरको प्रयोग हुन्छ। रिटगनका उपकरण स्तरीय हुने भएकाले व्यवसायीले जर्मनबाट आयात गर्ने गरेका थिए। अब नेपालमै खरिद र सर्भिसिङ सुरु भएको छ। अब दुगर्स आधिकारिक बिक्रेता भएसँगै पुराना ह्यामका ग्राहकलाई पनि सेवा पुग्छ। नयाँ प्रविधिको उपकरण प्रयोग हुने वातावरण सिर्जना हुन्छ।
रिटगन ग्रुपको आधिकारिक बिक्रेताको रूपमा दुगर्स कहिले नियुक्त भएको हो ?
चार महिनादेखि दुगर्स रिटगनको आधिकारिक बिक्रेता हो। हामीले छठयता ह्याकको रोलर बिक्री वितरण सुरु गर्यौ। हाम्रो लक्ष्य नेपालमा मिलिङ मेसिनको प्रयोगबाट सडक निर्माण होस् भन्ने हो। यसको प्रयोग गर्न सके सडक निर्माण द्रुत गतिमा हुन्छ। दिनको आठ किलिमिटर भन्दा धेरै सडक एकैपटक पिच गर्न सकिन्छ।
यसले पुरानो पदार्थलाई पनि रिसाइकल गरेर प्रयोगमा ल्याउँछ। यसरी काम गर्न सके काठमाडौंका सडकमा देखिएका समस्या छिट्टै समाधान हुन्छ। यसका लागि जनशक्ति पनि त्यति चाहिँदैन। अन्य ठूला मेसिन पनि निकट भविष्यमा बजारमा उपलब्ध गराउनेछौं।
देशको पूर्वाधार तथा विकास निर्माणमा रिटगनको भूमिका कस्तो रहन्छ ? यी उपकरणबाट मुलुकलाई के फाइदा हुन्छ ?
रिटगनले आत्मसाथ गरेको प्रविधिको उच्चतम प्रयोग गर्न सके मात्रै मुलुकलाई लाभ हुन्छ। रिटगनले प्रविधिको प्रयोगमा जोड दिएको पाइन्छ। विदेशमा उच्च प्रविधि प्रयोग गरेर निर्माणसम्बन्धी कार्य गर्ने गरेकाले राम्रो र छिटो बन्ने गरेको हो। हामीले पनि प्रविधिलाई आत्मसात गर्दै अघि बढेमा त्यसको विकास सम्भव छ। हामीले प्रयोग गर्ने पुरानो प्रविधिका कारण सुस्त भइरहेको छ। नेपालमा यस्ता नविनतम प्रविधिको आवश्यक भइसकेको छ। मुलुक आक्रमक रूपमा विकास निर्माणका कार्यमा अघि बढिरहेको छ। जलविद्युत्, सिमेन्ट उद्योग, सडक निर्माण सबैमा प्रविधिको खाँचो छ।
रिटगनका उपकरणले एकै दिन आठ किलिमिटर सडक एकैपटक पिच गर्न सकिन्छ। यसले पुरानो पदार्थलाई पनि रिसाइकल गरेर प्रयोगमा ल्याउँछ। यसरी काम गर्न सके काठमाडौंका सडकमा देखिएका समस्या छिट्टै समाधान हुन्छ।
मोबाइल क्रसरबाहेक अन्य उपकरण सडक निर्माणमा प्रयोग हुन्छन् ?
विकास शब्दको अर्थ बृहत् हुन्छ। विकासको पहिलो खुड्किलो सडक निर्माण हो। सडकको माध्यबाट विकासका गतिविधि अघि बढ्ने हो। सडक नभएको स्थानमा विकासका कार्यक्रम लैजान पनि समस्या छ। सडकसँगै जनताले यातायातको सहज प्रयोग गर्न सक्छन्।
यातायत सेवा नपुगेको स्थानको तुलनामा यातायात पुगेको ठाउँका मानिसको जीवनस्तर स्तरीय र सहज हुन्छ। हाल पनि नेपालका कतिपय स्थानका जनता तीन दिन हिडेर गाडी भएको स्थानमा आउनुपर्ने बाध्यता छ। यसले गर्दा पनि हामीले सडक निर्माणको क्षेत्रमा प्रयोग गरिने उपकरण भित्र्याएका हौं।
रिटगनको बजार विस्तार योजना कस्तो छ ?
रिटगनका चार उपकरणका लागि छुट्टा छुट्टै योजना बनाएका छौं।। ह्याम रोलर विकास निर्माणमा लाग्ने व्यवसायीलाई आवश्यक उपकरण हो। त्यसका लागि ४० वटै ब्रान्चबाट मार्केटिङ गर्दै छौ। पेभर्स उच्च प्रविधिमा आधारित र महँगो छ। सबै निर्माण व्यवसायीले यसलाई खरिद गर्न सक्दैनन्। साथै उनीहरूसँग यस उपकरण प्रयोग गर्ने ठेक्का पनि छैन।
ठूला ठेकेदारलाई प्रत्यक्ष भेटेर उपकरणबारे जानकारी दिने गरेका छौं। साथै सरकारी निकायमा तथा सडक मर्मतसम्बन्धी ठेक्का लिने निर्माण व्यवसायीसँग मिलिङ मेसिनको फाइदाबारे छलफल गर्छाैं। यस उपकरणको फाइदाबारे जानकारी गराउनु महत्र्वपूर्ण छ। निजगढ–काठमाडौं द्रुतमार्ग जस्ता आयोजनामा यसको प्रयोग गर्न सकिन्छ। पहाड फुटाउँदा निस्किएका ढुंगालाई त्यही क्रसरबाट गिटी बनाउन सकिन्छ। यसबारे पनि ग्राहकलाई जानकारी दिँदै जानेछौं। यो प्रविधि हाम्रो लागि उपयोगी हुने अनुमान छ।
रिटगन र अन्य कम्पनीका उपकरणमा के भिन्नता छ ?
रिटगनमा कुमिन्सको इन्जिन प्रयोग गरिएको छ। यसको पेटेन्ट राइट रिटगनसँग मात्र छ। यसका सबै उपकरणमा सेन्सर जडान गरिएको छ। सेन्सरका कारण मेसिनले स्वचालित रूपमा आवश्यक मात्रामा कटिङ तथा फिलिङको कार्य गर्छ। आवश्यक मात्रामा अलकत्र राखी सडक आफैं सम्याउँछ। जडान गरिएको क्यामराले मेसिनलाई आवश्यक सूचना दिन्छ।