किन चाहिन्छ मि टु ?
![किन चाहिन्छ मि टु ?](https://annapurnapost.prixacdn.net/media/albums/shutterstock_758774788_20181116021658_4AkqaQwhmo.jpg)
कलेज पढ्दाताका दार्जिलिङ–सिक्किम टुर जाँदै थियौं। पाल्पाबाट छुटेको गाडी एकैपटक जनकपुरको रामजानकी मन्दिर पुगेर रोकियो। त्यो रात जनकपुरमै बसियो। अर्को दिन जनकपुरबाट हिँड्ने बेलामा गाडीमा उक्लिनु र पछाडिबाट एक युवकले दह्रोसँग मेरो छाती समाउनु एकैपटक भयो। तुरुन्त पछाडि फर्किएँ। ऊ गाडीबाट ओर्लिसकेको रहेछ। म पीडाले रन्थनिएँ। सिटमा गएर चुपचाप रोएँ।
त्यसबेला न त्यो केटालाई केही भन्न सकें, न सिटमा सँगै बसेका दिदीहरूलाई सुनाउनै सकें। बसमा साथीहरू रमाइलो गर्थे, म भने मौन थिएँ। जब त्यो केटाको अनुहार बसको पछाडि या क्याबिनतिर देख्थें, म रिसले मुर्मुरिन्थें।
अव्यक्त आक्रोशको रापले त्यसपटकको टुरको मज्जा स्वाहा भयो। इटहरी पुगेपछि मामालाई फोन गरेर विराटनगरस्थित मामाघरमा दुई दिन बसें। दार्जिलिङ घुम्ने उत्साह मरिसकेको थियो।
भएको यत्ति नै थियो तर त्यो घटना मेरो मनमा गढ्यो। माया गरेरै होस् वा आत्मीय दर्शाएरै किन नहोस्, कसैले मेरो शरीरमा छुनासाथ त्यही युवकको अनुहार आँखामा नाच्न थाल्छ। त्यो घटनाले केटा साथीप्रतिको मेरो सोच नै फेरिदियो। सबै पुरुषप्रति एउटै शंका उत्पन्न हुन्छ। कसैले राम्रैसँग कुरा गर्छन्, तर मेरो मनभित्र शंकाको गन्ध पलाइहाल्छ।
जीवनमा धेरै अनुभव गरियो, समाजमा भद्रभलाद्मी ठानिएका कतिपय पुरुषहरू नै महिलासँगको व्यवहारमा नीच हुन्छन्। यसको मुख्य कारण हो उनीहरू शक्तिसम्पन्न हुन्छन्। सम्भवतः शक्तिमा भएकैले कुनै पनि कारबाहीको भागीदार हुनुनपर्ने उनीहरू ठान्छन्।
साथीहरूले सुनाएका छन्– कार्यालयमा उपल्लो तहका पुरुषले आफूभन्दा तल्लो तहको महिला कर्मचारीलाई अनेक बहानामा रेस्टुराँ बोलाउने, सँगै घुम्न जान दबाब दिने, भद्दा मजाक गर्ने गर्छन्। जबर्जस्ती महिला कर्मचारीका शरीर छोएर ‘रमाइलो’ गर्ने हाकिमको कमी छैन यहाँ।
समाजको चलनचल्तीको दृष्टिमा ‘सामान्य’ मानिने तर महिलामाथिको शोषणलाई निरन्तरता दिने प्रवृत्ति उजागर गर्ने अभियान हो– ‘मि टु’। ‘मि टु’ यस्तो अभियान हो, जसले कानुनी दृष्टिमा दोष नठहरिने अवस्थामा पनि नैतिकताको कसीमा उभ्याइदिन्छ।
मान्यतामाथि प्रश्न उठाउँछ र नैतिकवान्हरूलाई नारीविरोधी दृष्टिकोण फेर्न बाध्य बनाउँछ। यो बोल्ने आन्दोलन हो। आफैंसँग भएका घटनाबाटै महसुस गर्छु– किन आवश्यक छ यो आन्दोलन ?
केही वर्षअघि जापान जाने प्रक्रिया चाल्दै थिएँ। जापानमै रहेका साथीले थापा थरका एक व्यक्तिसँग सम्पर्क गर्न सुझाएका थिए। थापा थरका ती व्यक्तिलाई फोन गर्नासाथ पटकपटक भेटेरै गफ गर्ने आग्रह गरे।
एक भेटमा आफू जापानमा काम गर्दागर्दै निकै थाकेकाले नगरकोट गएर फ्रेस हुन चाहेको बताउँदै मलाई सँगै जान दबाब दिए। हुँदाहुँदा अन्तरंग सम्बन्ध गाँसे बिनापैसा जापान पुर्याइदिने आश्वासनसमेत दिन उनले भ्याए। उनको प्रस्ताव मैले सीधै अस्वीकार गरें केही आक्रोशका साथ। लागेको थियो, उनी ठेगानमा आउनेछन्।
उनले त उल्टो प्रश्न सोझाए, ‘तिमीलाई फिल आउँदैन, कि तिमी लेस्बियन हौ ? ’ मानौं, हरेक महिला प्रलोभन देखाउनासाथ ‘फिल’ का लागि तयार हुनुपर्छ÷हुन्छन्। उनीसँग सवालजवाफ गर्न सकिनँ। टेबलमा रहेको हेलमेट बोकेर बाहिरिएँ। त्यसपछि जापान जाने मेरो उत्साह सेलायो। जिन्दगीको बाटो मोडियो। एक मन त लागेको थियो, उनीविरुद्ध उजुरी गरूँ, कारबाहीको प्रक्रियामा ल्याऊँ। फेरि सोचें, के भनेर उजुरी दिने ? उनको व्यवहार कानुनकै दृष्टिमा दुव्र्यवहार हो।
मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ को उपदफा २ अनुसार निम्न कार्यलाई यौनदुव्र्यवहार मानिन्छ: कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आशयले समातेमा वा संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोसाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमले वाधाअवरोध गरेमा वा निजलाई अस्वाभाविक रूपमा एकान्त ठाउँमा लगेमा, यौनांग छुन, समाउन लगाएमा, अश्लील वा अन्य त्यस्तै प्रकारका शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनिक आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा।
कानुनको परिभाषा अनुसार उनले मलाई ‘यौनका आशयले जिस्काउने, अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार’ गरेका छन्। सोही दफाको उपदफा ३ अनुसार उनलाई तीन वर्षसम्मको कैद र तीस हजारसम्मको जरिवाना हुन सक्छ। तर त्यो घटना हुँदा मलाई उनको हर्कत कानुनी रूपमै अपराध हो भन्ने थाहा थिएन। आजसम्म पनि मलाई त्यो अपराधलाई मैले न्यायालयमा कसरी पुष्टि गर्छु भन्ने थाहा छैन।
मिटु अभियानलाई सामाजिक सञ्जालमा चर्चाको विषय मात्र नबनाई सामाजिक बहसको विषय बनाउन आवश्यक छ। यो आन्दोलन यौन दुव्र्यवहारविरुद्ध बोल्न महिलालाई साहस दिलाउने सहारा हो।
मैले उनीविरुद्ध उजुरी गरें भने मसँग प्रमाण मागिनेछ। उनले मलाई गरेको त्यस्तो प्रस्तावको एक मात्र साक्षी म स्वयं हुँ। त्यसबाहेक मसँग अर्को प्रमाण पनि छैन। यस्तो बेला मविरुद्ध भएको अपराधको खुलासा गर्ने एकमात्र विकल्प हो– मि टु अभियान।
यस्ता अनगिन्ती यौन हिंसा भोगिरहेका हुन्छौं हामी। आफू यौन हिंसामा परेको खुलेर सुनाउने वातावरण नेपालमा अझै बनिसकेको छैन। एकातिर महिलालाई नै आक्षेप लगाउने चिन्तन व्याप्त छ भने अर्कोतिर दिनहुँ हुने यौन हिंसालाई प्रमाणित गर्नै गाह्रो छ। त्यसैले पनि मि टु अभियानको आवश्यकता छ हामीलाई।
अमेरिकी अभिनेत्री एसिला मिलानोले १५ अक्टोबर २०१७ मा सुरु गरेको यो अभियान अब युरोप हुँदै एसियाका विभिन्न देशमा पुगेको छ। छिमेकी भारतमा पनि मि टु अभियान सुरु भएको छ। समाजमा चर्चित व्यक्तिहरूविरुद्ध समेत यौन दुव्र्यवहारको आरोप लागेको छ। चर्चित फिल्मकर्मी नाना पाटेकरदेखि लेखक चेतन भगतसम्मलाई यौन दुव्र्यवहारको आरोप लागेको छ। मि टु अभियानले नेपालमा पनि धेरथोर प्रभाव पारिसकेको छ। यसले यौन हिंसाबाट पीडित महिला विस्तारै खुल्दैछन्।
प्रभा कैनी, सुविना श्रेष्ठ, रश्मिला प्रजापति, उज्ज्वला महर्जन, बिम्मी शर्मा, बेनिसा हमालहरूले आफूले भोगेको यौन दुव्र्यवहारका घटना सार्वजनिक गरिसकेका छन्।
अवश्य पनि राम्रो कामको सुरुवात गर्न मात्र गाह्रो हुन्छ। हलिउड अभिनेत्रीले सुरु गरेको यो अभियान अहिले सबै महिलाको पीडा पोख्ने माध्यम बनेको छ। विडम्बना नेपालमा केही महिलाले आफ्नो भोगाइ बाहिर ल्याउँदा आलोचित भइरहेका छन्। आरोपितहरूले पेस गरेका प्रमाणविहीन खण्डनले बढी चर्चा पाएका छन्। एक महिला बोल्न सुरु गरेपछि अरूले समर्थन नगर्दासम्म यस्तै अवस्था रहिरहनेछ।
त्यसैले अहिले होस् या पहिले भोगेका यौन हिंसाको खुलासा गर्न ढिलाइ गर्नु हुँदैन। हरेक प्रकारको यौन दुव्र्यवहारविरुद्ध खुलेर विरोध गर्न जरुरी छ। मि टु अभियानलाई सामाजिकक सञ्जालमा चर्चाको विषय मात्र नबनाई सामाजिक बहसको विषय बनाउन आवश्यक छ।
हरेक प्रकारको यौन दुव्र्यवहारको खुलासाले पीडकलाई सामाजिक कठघरामा उभ्याउनेछ भने दुव्र्यवहारजन्य प्रवृत्तिलाई निरुत्साहित पनि गर्नेछ। अर्कोतर्फ महिलालाई आफूविरुद्ध भएको हिंसाबारे बोल्ने साहस दिलाउनेछ। यसै पनि यो आन्दोलन यौन दुव्र्यवहारविरुद्ध बोल्न महिलालाई साहस दिलाउने सहारा हो।
अमेरिकाबाट सुरु भएको यो आन्दोलन डेढ सय देशमा फैलिइसकेको छ। समाजका सबैखाले पीडकलाई यो अभियानले सामाजिक कठघरामा उभ्याइदिएको छ। यो अभियानकै कारण विभिन्न देशका सरकारसमेत यौन दुव्र्यवहारको विषयमा गम्भीर हुन थालेका छन्।
छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मि टु आन्दोलनलाई विशेष महत्व दिँदै आफू मातहतका विज्ञ समूह नै गठन गरेका छन्। नेपालमा पनि त्यस्तैगरी सरकारी चासो जगाउन यो आन्दोलन अझै उठाउन आवश्यक छ।
यो अभियान चलिरहँदा केही मित्रले ‘सम्बन्ध राम्रो हुन्जेल जे पनि ठीक र बिग्रेपछि मि टु’ भन्दै आन्दोलनप्रति नै छेडखानी गरेको पनि सुनिएको छ। उनीहरूको तर्कको आफ्नै अनुभव होला तर आन्दोलनको उद्देश्य नै नठम्याई भ्रष्टीकरण गर्नु उचित होइन।
ती मित्रले बुझ्न जरुरी छ, परस्पर सहमति र असहमतिमा ठूलो पर्खाल हुन्छ। सहमतिको सम्बन्धलाई असहमति साबित गर्न कठिन हुन्छ तर असहमतिको सम्बन्धका आफ्नै खाले पहिचान हुन्छन्।
महिला–पुरुष एकअर्काप्रति आकर्षित हुनु प्राकृतिक स्वभाव हो। मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्नु पनि स्वाभाविकै हो। तर कुनै पनि प्रस्तावलाई एकोहोरो लाद्न खोज्नु, प्रेमको नाममा कुनै पनि प्रकारको जबर्जस्ती गर्नु यौन हिंसा हो। ‘देवदास’ हरूले बुझ्न जरुरी छ, एकोहोरो दबाब प्रेम होइन आसक्तिउपज दुव्र्यवहार हो। आसक्ति र प्रेमबीच यातना र सम्मानजत्तिकै फरक छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)