विपरीत सपना

विपरीत सपना

त्रिपुरेश्वरबाट रत्नपार्क जाने सडक। वल्र्ड ट्रेड सेन्टरबाट अलि पर, नेपाल टेलिकम पुग्नुभन्दा अगावै सडकको देब्रेतिर रहेको गल्लीबाट दुई मिनेटजति हिँडेपछि पुगिन्छ, ‘आर्ट ट्री सेन्टर।’ तीनतले घरको भुइँतलामा छ, आर्ट सेन्टर। ग्यालरी पनि यही हो। सेन्टरका सञ्चालकहरू आफ्नो कला पनि यहीँ प्रदर्शन गर्छन्।

केही दिनअघि उनीहरूले यहाँ कला प्रदर्शनी गरे। नाम दिए, ‘विपरीत सपनाहरू।’ प्रदर्शनीमा फरक शैलीको कलाकारिता देखिन्थ्यो। कलामा नेपालको इतिहास, आधुनिकता, सहरले भोगिरहेको दुर्दशा प्रतिविम्बित गरिएको थियो। यसका लागि विभिन्न माध्यम प्रयोग गरिएको थियो।

ग्यालरी प्रवेश गर्नेबित्तिकै देखिन्थ्यो, विभिन्न समुदायले लगाउने कपडा। तिनमा ब्रान्ड ट्यागहरू टाँसिएको थियो— नर्थफेस, एडिडास, यूएस आर्मी, रेनोमा, ओआरआई, कोन्स आदि। ‘हामीलाई अब ब्रान्ड चाहिन्छ। हाम्रो मौलिक पोसाक त कहाँ बाँकी रह्यो र ? ’, आर्टिस्ट शिलाशा राजभण्डारी भन्छिन्।

नेपाली युवाको ब्रान्डप्रतिको मोह देखाउन उनले कपडामा थरीथरीका ट्याग टाँसिदिएकी हुन्। यो आर्टले दुईवटा परिवेशलाई देखाउँछ। ‘नेपालीको खास पहिरन के थियो र आज के भइरहेको छ। यहाँ मैले सही र गलत छुट्याएको छैन। बस्, चित्र देखाएको मात्र हुँ’, भण्डारीले भनिन्।      

त्यस्तै प्रदर्शनीकै लागि राखिएको थियो, महेन्द्रमाला। कुनै बेला पाठ्यपुस्तकका रूपमा पढाइने महेन्द्रमालाको विषयवस्तुलाई ढुंगामा खोपिएको थियो। महेन्द्रमाला पुस्तकका महत्वपूर्ण पाठका अंशहरू ढुंगामा लेखेर राखिएको थियो। ‘हामी नेपाली हौं। हाम्रो देश नेपाल हो। हाम्रो भाषा नेपाली हो। हामी संसारमा वीर जातिको नामले चिनिएका छौं। हाम्रो देशमा ठूल्ठूला हिमाल र पहाडहरू छन्...।’

कुनै बेला महेन्द्रमालाअन्तर्गत कोर्स बुकमा विद्यार्थीले पढेका हुन् यी हरफ। नेपाल भनेर चिनिने यस्ता विचारमाथि आर्ट ट्री समूहका आर्टिस्टहरूको आपत्ति छ। इतिहासले एउटा खेमालाई सम्बोधन गरे पनि मूलधारबाट ठूलो नेपाली समुदाय छुटेको उनीहरू बताउँछन्।

आर्ट ट्रीका एक सदस्य सुवास तामाङ भन्छन्, ‘हामीलाई मान्छेको स्थितिमाथि सिकाइएन। नेपाल राम्रो, नेपाली वीर भनेर पढाइयो। यहाँका शोषितपीडित मान्छेमाथि बोलिएन। महेन्द्रमालालाई यहाँ सम्झिनुको कारण पनि यही हो।’

आर्टहरू अरू पनि छन् यहाँ। ग्यालरीको भित्तामा बुट्टा खोपिएका काठका टुक्राहरू लहरै झुन्ड्याइएको छ। अगाडिबाट झट्ट हेर्दा बुझ्न कठिन पर्छ। विकास श्रेष्ठले कुँदेको कला हो यो।

‘सहरमा पछिल्ला दशकहरूमा बढेको अव्यवस्थालाई प्रतिविम्बित गर्न खोजिएको छ। यहाँ मन्दिरदेखि गाडीको टायरका बुट्टा छन्। हाम्रा सम्पदाहरू ध्वस्त हुँदै छन्। सहर कुरूप हुँदैछ।’ ‘डेथ अफ सिभिलाइजेन’ देखाउन उनले यो सबै गरेका हुन्।

आर्ट ट्रीले देखेको विपरीत सपनाहरू अरू पनि छन्। इतिहासमा शोषित, पीडित समुदायले राखेको असन्तुष्टिलाई प्रतिविम्बित गर्न विभिन्न कला कुँदिएका छन्। संविधानमा राखिएको असन्तुष्टि कभरेज गरिएको छ।

आर्टिस्टहरूको मूल मन्त्र ग्यालरीको अघिल्तिर ठूलो साइनबोर्डमा लेखेर टाँसिएको छ। यसमा भनिएको छ, ‘सयौं वर्षदेखि नेपालको ऐतिहासिक वृत्तान्तबाट असंख्य सीमान्तकृत, अल्पसुविधाप्राप्त र आदिवासी समुदायका कथाहरू अलग्याइएको थियो।

यद्यपि यस बीचमा विविध पहिचान, संस्कृति, भाषा र धर्मको समान प्रतिनिधित्वका लागि फाट्टफुट्ट आवाज र आन्दोलनहरू नउठेका हैनन्। तर, तिनलाई राजनीतिक रूपमा राज्यले लगातार दमन गरेको थियो र त्यो जारी छ।

यो प्रदर्शनीमा हाम्रो समाजका विद्यमान समस्याग्रस्त सामाजिक पदानुक्रम र आक्रामक बन्दै गइरहेको अन्तर्राष्ट्रिय प्रभावहरूको ध्यानाकृष्ट गराउन चाहेका छौं। शक्तिको दुरुपयोग र राज्यद्वारा प्रायोजित हिंसालाई बिल्कुलै आममानिसको दृष्टिकोण र स्थितिबाट सहानुभूतिको तवरबाट निकाल्ने प्रयास गरेका छौं।’

विपरीत सपना देख्ने आर्ट ट्री समूहको स्थापना सन् २०१३ मा भयो। स्थापनाकर्ताहरू सबै ललितकला क्याम्पसका उत्पादन हुन्। पढ्दै गर्दा उनीहरूले एकअर्काको विचार बुझ्न पाए, घुलमिल हुँदै गए।

धेरै काम सँगै पनि गरे। हितमान लिम्बू भन्छन्, ‘हाम्रो इतिहास, परिवेश कस्तो छ भनेर देखाउन र जान्न खोजेको हो हामीले।’ कलेज पढ्दापढ्दै समूह बनाएर काम गर्ने सोच पलाएको र त्यसैअनुसार अघि बढेको बताउँछिन् भण्डारी। आर्ट ट्री समूहमा ६ जना कलाकार छन्।

कलाकारहरू समूहगत र व्यक्तिगत दुवै काम गर्छन्। आफूले गरेको काम बेचेर ‘सस्टेन’ भइरहेको आर्ट ट्रिको भनाइ छ। समूहका सदस्यहरू अरू कुनै पनि काम गर्दैनन्। उनीहरूको ग्यालरी यही हो, त्यसैले यहीँबाट आफ्नो सिर्जना बेच्छन्। ‘हामीलाई कुनै फन्डिङ छैन। दिउँसोभरि काम गर्छौं। व्यक्तिगत कामको बदलामा आएको पैसा पनि आर्ट ट्रीमै खर्च गरेका छौं’, लिम्बूले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.