के हो गुगलको लफडा
गुगलका हजारौं कर्मचारीहरूले केही दिनअघि विश्वभरि आन्दोलन गरे। यो आन्दोलन अझै पनि टुंगिएको छैन। यौन दुव्र्यवहार, असमान तलब/सुविधा तथा काम गर्ने ठाउँमा समस्या देखाउँदै उनीहरूले असन्तुष्टि पोखेका थिए।
तल्लो तहका कर्मचारीहरूको समस्यालाई बेवास्ता गरिएको र उच्च तह र शक्तिमा भएकाहरूले आफ्नो पदको दुरुपयोग गरेको कर्मचारीहरूको आरोप थियो।
‘यौन दुव्र्यबहार गर्न पाइँदैन। जति सह्यौं, अब सहँदैनौं’ कार्यक्रम संयोजक भिक्कीतारिफ होल्यान्डले भनिन्, ‘नश्लवादको समय सकियो। शक्तिका आधारमा मान्छेलाई नहेपौं। अति भयो।’
गुगलका झन्डै ९४ हजार कर्मचारीहरूलाई यो आन्दोलनले केही पाठ सिकाएको छ। कसरी व्यावसायिक बन्ने भनेर उनीहरू जानेको हुनुपर्छ। ‘डन्ट बि एभिल’ कर्मचारीहरूको आन्दोलनको मुख्य नारा रहेको थियो। ‘अमेरिकाका विभिन्न कम्पनीका मानिसले हामीलाई नियालिरहेका छन्,’ गुगलका एक कर्मचारी तनुजा गुप्ता भन्छिन्।
गुगलको एन्ड्रोइड सफ्टवेयरको निर्माता एन्डी रुविनलाई केही समयअघि यौन दुव्र्यवहारको आरोप लाग्यो। यसबारे न्युयोर्क टाइम्समा खोजबिनसहितको आरोप प्रकाशित भएको थियो। त्यसपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए।
रुबिनले आफूमाथि लागेको उक्त आरोप अस्वीकार गर्दै आएका छन्। यस्तै आरोप गुगलकै अर्का उच्चाधिकारी रिचार्ड डेभललाई पनि लागेको थियो। आरोप लागेपछि उनले आफ्नो पदबाट राजीनामा दिनुपर्यो।
गुगलमा भएको यस्तो यौन दुव्र्यवहारमा अरू पनि पर्ने सम्भावना छ। अहिले सामाजिक सञ्जालमा चलिरहेको ‘मिटू’ अभियानले महिलाहरूले आफूमाथि भएको यौन दुव्यर्बहार बाहिर ल्याउन सजिलो पारिदिएको छ।
गुगल कर्मचारीका ५ मागः
१) आफूभन्दा उच्च तहमा रहेकाहरूसँगको भेटघाटमा उनीहरूले कुनै पनि किसिमको दुव्र्यवहार गर्न पाउने छैनन्।
२) सुविधा तथा तलबमा कुनै पनि भेदभाव गर्न नपाइने। काला जाति वा महिला, धर्म वा नश्लका आधारमा काम गर्न कुनै समस्या व्यहोर्न नहुने।
३) बेलाबेलामा यौन दुव्र्यवहारको आरोप लाग्दै आएका गुगलका दोषी कर्मचारीहरूलाई कारबाही हुनुपर्ने र ‘ट्रान्सपरेन्ट’ हुनुपर्ने।
४) आफूमाथि कुनै दुव्र्यवहार भएको छ भने कम्पनीमा उक्त आरोप पेस गर्ने, आरोपको खोज अनुसन्धान गर्ने।
५) कर्मचारी प्रतिनिधिले बोर्डको मिटिङमा प्रतिनिधित्व गर्न पाउनुपर्ने।