झरना सँगसँगै
झरनालाई परैबाट नियाल्नुमा मजा छ कि झरनासँगै खेल्नुमा मजा छ ?
‘क्यानइङ’ गर्नुअघि मेरो दिमागमा आएको प्रश्न हो यो।
क्यानइङ अर्थात् खोँचहरूमा विभिन्न तरिका अपनाएर चढ्नु/झर्नु। यस्ता खोँचहरूमा झरना बनेर पानी हाम फालिरहेको हुन्छ। विश्वमा साहसिक खेलको रूपमा लिइन्छ क्यारे यसलाई। साहसिक पनि किन नहोस्, एउटा डोरीको सहाराले अग्लो पहाडमा चढ्नु, झर्नु कम्ता कष्टकर हुन्न।
यही एउटा कष्टलाई मनोरञ्जनमा बदल्न कात्तिकको दोस्रो साता ‘द लास्ट रिसोर्ट’, भोटेकोसी पुगियो।
रिसोर्टबाट झन्डै १५ मिनेट हिँडेपछि क्यानोइङ गर्ने ठाउँ आइपुग्छ।
‘आठ वटा स्टेप पार गर्नुपर्छ। केटाकेटीजस्तो नचल्नुस्। साथीहरूलाई नतर्साउनुस्, पानी नछेप्नुस्। यताउता चकचक नगर्नुस्,’ क्यानइङ मास्टर विश्व बजगाईंले आदेश दिए। उनले आदेश दिनु सामान्य थियो, किनकि क्यानइङ गर्न गएको हाम्रो टोली हँसीमजाकमै केन्द्रित थियो। उनले सोचेँ, ‘यिनीहरू चुकचुके रहेछन्।’
उनको आदेश नमान्ने कुरै थिएन। उनले बस् भने, बसियो। उठ् भने, उठियो। उनले कम्मरमा डोरी बाँँधिदिए, चुपचाप हेरियो।
एउटा हातले डोरी तान्दै भीरबाट विस्तार–विस्तार तल झर्नु भन्ने आदेश थियो। क्यानइङको पहिलो स्टेप, दोस्रो नम्बरमा मेरो पालो आयो। ‘तपाईंको कम्मरमा डोरी बाँधिएको छ, डराउनु पर्दैन। मस्ती गर्नुस्,’ बजगाईं सरले भने। गाउँमा हुँदा यस्ता पहरो कति झरियो, झरियो। के डराउनु ! पहिलो स्टेप पार गरेर तल पुग्दा बजगाईं सरले माथिबाट ‘थम’ देखाए। मन खुस भयो, साहस पलायो। माथिबाट कसैले भन्यो, ‘केटोले सगरमाथा नै चढ्ने रहेछ।’
पहिलो एक/दुईवटा स्टेप त निकै सजिलो थियो। एकपछि अर्को स्टेप अग्लो र अप्ठ्यारो हुँदै गयो। नहोमिएसम्म झर्नुपर्ने पहाड कत्रो, कस्तो छ भनेर नदेखिने हुनाले बन्जीजस्तो अगाडिदेखि नै डर मानेर बस्नु परेन। ‘फ्रिफल’ पनि नहुने। कहीँकहीँ पानीको बीचबाटै झर्नुपथ्र्याे, कतैकतै पानीलाई ‘साइड’ लगाएर।
मजा त पानीमा रुझ्दै झर्नुमा रहेछ। चिप्लो ढुंगामा चिप्लिँदै डोरीको सहाराले झरनाको बीचबीचबाट तल ओर्लिनुपर्ने। पानीको बहावले शरीरलाई बेस्सरी हिर्काउँदा पनि दुःखाइको महसुस नहुने। साथीहरू भन्थे, ‘मोबाइलमा लुँडो खेलेर बस्नुभन्दा त यहाँ धेरै मजा हुने रहेछ।’
लुँडो, तास, पब्जी, फिफा, जिटिएफाइभ, फोर्टनाइट, अन्चार्टेड, सबै खेलहरूलाई मोबाइलमै थन्क्याएर साथीहरू आफू साहसी भएको भान पार्न द लास्ट रिसोर्ट आइपुगेका थिए।
साहसिक खेल खेल्नुमा मजा छ। क्यानइङमा झनै मजा। चिसोबाट बच्नुपर्ने कुनै कारण छैन भने यसले भरपुर आनन्द दिने रहेछ। चिसो महिनामा क्यानइङ गरेकाले मलाई भने डर लागिरहेको थियो, ‘भरे, चिसोले च्याप्ने त हैन ? ’
डोरी समात्दै एकपछि अर्को झरना खुरुखुरु झरियो। साथीहरू भन्दै गए, ‘नाइस, पर्फक्ट, एक्सिलेन्ट, इन्ट्रस्टिङ।’ मैले पनि साथीहरूलाई हौस्याएँ। झरनामा बसेर पोज पोजको फोटो खिचियो। झरनाको पानी भुइ“मा बज्रिँदा निस्किने इन्द्रेणीले प्रकृतिको सुन्दरतालाई अनुभूत गराइदियो।
काठमाडौंको धुलोधुवाँबाट दिक्क भएका साथीहरू प्रकृतिसँगको प्रत्यक्ष संवादमा दंग थिए। अब बारम्बार एड्भेन्चर गर्न जाने उनीहरूको लालसा गजबको थियो।
दुई दिनको साहसिक खेलपछि काठमाडौं हिँडियो। भोलिपल्ट फेसबुकमा कसैले एउटा गु्रप बनायो। नाम जुर्यो, एड्भेन्चरस ग्रुप।