स्पेनविरुद्ध क्रोएसियाको बदला
काठमाडौँ : क्रोएसियाले गत भदौ अन्तिम साता स्पेनसँग भोगेको ६–० को हारको बदला लिएको छ । नेशन्स लिग फुटबल प्रतियोगिता अन्तरगत गयराति भएको खेलमा क्रोएसियाले स्पेनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
क्रोएसियाको जितपछि लिग ए को समूह चारमा रहेको इङ्ल्यान्डको अघिल्लो चरण प्रवेशको सम्भावना भने बाँकी नै रहेको छ । क्रोएसियालाई जिताउने क्रममा टिन जेड्भाजले दुई गोल गरे । उनले खेलको ६९ औँ मिनेटमा पहिलो गोल गरे । त्यसभन्दा अघि क्रोएसियाका लागि आन्द्रेज क्रामारिकले गोल गरेका थिए ।
क्रोएसियाले अग्रता लिएको २ मिनेट नबित्दै स्पेनका लागि डानी केबाल्लोसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि स्पेनका लागि खेलको ७८ औँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीबाट गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
यो जितपछि नेसन्स लिग ए समूह ४ मा स्पेन ६ अंकसहित शीर्ष स्थानमा छ भने इङ्ल्यान्ड र क्रोएसियाको समान ४÷४ अंक छ । तर गोलअन्तरका आधारमा क्रोएसिया पछि छ ।