सफल हुन सकेन साइपाल आरोहण
काठमाडौं : सुदूरपश्चिमकै सुन्दर मध्ये पर्ने साइपाल हिमाल आरोहण यस पटक पनि असफल भएको छ । हिमालसँग मानवसम्बन्ध जोडिएको ६५ बर्ष सम्म पनि साइपल हिमाल (७,०३१ मिटर) को अझै आरोहण हुन सकेको छैन। साइपाल आरोहणका लागि आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएको हो ।
पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रीत भएको भन्दै पर्यटन व्यवसायीहरुले यस वर्ष पश्चिम क्षेत्रमा पर्ने साइपल हिमालको आरोहणका लागि पहल गरेका थिए । कात्तिकमा आरोहण हुने गरी तीन आरोहणदलबाट २० जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिए । शेर्पा हिमालय अण्डर कम्पनीबाट आरोहणमा गएका चार शेर्पा र दुई जना स्पेनका आरोही ५ हजार ५ सय मिटरको सो समिटसम्म पुगेर फर्केको शेर्पा गाइड लिडर पेछुम्बे शेर्पाले बताए ।
‘प्राविधिक रुपमा कठीन हिमाल रहेछ त्यसैले हाम्रो तयारी कम भएर फिर्ता हुन बाध्य भयौं’ लिडर शेर्पाले भने। आरोहीहरू सक्षम हुने भए आरोहण सफल हुने उनको विश्वास छ । शेर्पा गाइडहरुले १ हजार २ सय मिटर डोरी टाँगेर सोसमिटसम्म बाटो बनाए पनि स्थानीय चार महिला र अन्य आरोहीले जान नसक्ने भनेपछि पहिलो आरोहण सफल नभएको शेर्पाले बताए ।
सक्षम आरोहीको समूहले अल्पाइन आरोहण (डोरीबिना चड्ने) गर्ने हो भने आरोहण सफल हुने गाइडहरुको अनुभव छ । पश्चिम क्षेत्रमा सय बढी हिमालहरु पहिचान गरी आरोहणका लागि खुल्ला गरिए पनि अझै आरोहण हुन सकेको छैन ।
त्यसैले आरोहण हुन नसकेका हिमालहरुको आरोहण सफल बनाउन पर्यटन विभागले सहयोग गर्नु पर्ने पर्यटन व्यवसायी टीकाराम गुरुङको माग छ । विभागले आरोहण हुन नसकेका हिमालको आधार शिविरसम्म पुग्ने बाटो, भौतिक संरचना निर्माण र प्रचारप्रसार गरी आरोहीलाई आकर्षित गर्नु पर्ने यस वर्षको आरोहण दलका वेशक्याम्प मेनेजर भोजराज भट्टले तर्क गरे।
सरकारले पश्चिम क्षेत्रमा पर्यटन विकास गर्ने लक्ष्यकासाथ २० वर्षसम्म त्यस क्षेत्रका हिमाल आरोहणमा रोयल्टी निशुल्क गरे पनि आरोहण हुन सकेको थिएन । यस आर्थिक वर्षदेखि पर्यटन विभागले रोयल्टी लिन शुरु गरेको पर्यटन विभागका महानिर्देशक डण्डुराज निरौलाले बताए ।
सुदुरपश्चिमका हिमालबाट विभागले यस वर्ष चार लाख ८१ हजार राजश्व संकलन गरेको छ । सरकारले पहिचान गरी आरोहणका लागि खुल्ला गरेका ४०३ वटा हिमाल मध्ये मुख्य आकर्षक हिमालमा साइपल हिमाल पर्ने आरोही लाक्पा शेर्पाले बताए । पश्चिम क्षेत्रमा करिब डेड सय हिमाल छन् तर आरोहण हुन नसकेको भन्दै यसका लागि तीनै तहका सरकारले विषेश प्याकेज नै ल्याएर आरोहण विस्तार गर्नु पर्ने उनको सुझाव छ ।
पर्यटन बोर्डको तथ्याङक भिजिट वर्ष सन २०२० को लक्ष्य अनुसार २० लाख पर्यटक भित्र्याउने उदेश्य अनुरुप विभिन्न कार्यक्रमहरु गर्दै आएपछि पर्यटकको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ ।
वर्षायामको तुलनामा भन्दा यस वर्षको शरद ऋतुमा आरोहीको संख्या वृद्धि भएको पर्यटन विभागको तथ्याङकमा छ ।