धनगढी प्रिमियर लिग माघ दोस्रो साताबाट
काठमाडौं : प्रतिष्ठित धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघको दोस्रो साताबाट सुरु हुने भएको छ। प्रतियोगिता माघको १९ गतेदेखि फागुनको ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
डीपीएललाई यस पटक पनि रुस्लानले मुख्य प्रायोजन गर्ने भएको छ। डीपीएलसँगको सहकार्यलाई लगातार दोस्रो वर्ष निरन्तरता दिएको रुस्लानले यस पटक खेलकुद क्षेत्रमा अहिलेसम्म कुनै एक प्रतियोगिताका लागि गरेकोमध्ये सर्वाधिक रकम प्रायोजना गरेको जनाएको छ। पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार रुस्लानले डीपीएललाई एक करोड १० लाखबराबरको प्रायोजन गर्नेछ, जसमध्ये ८० प्रतिशत रकममा उपलब्ध गराउनेछ।
‘हामीले खेलकुद क्षेत्रमा गरेकोमध्ये यो अहिलेसम्मकै सर्वाधिक प्रायोजन रकम हो’, रुस्लानको उत्पादक कम्पनी विजय डिस्टिलरीका चिफ फाइनान्स अफिसर सतीश कर्णले भने, ‘डीपीएलसँग फेरि जोडिन पाउँदा खुसी लागेको छ।’ रुस्लानले गतवर्षको भन्दा ४० लाखले प्रायोजन रकम बढाएको हो। गत वर्ष डीपीएलको दोस्रो संस्करणका लागि रुस्लानले ७० लाख प्रायोजन गरेको थियो। प्रायोजन सम्बन्धित सम्झौतापत्रमा शुक्रबार नै हस्ताक्षर गरिएको थियो।
विभिन्न सहरको नाममा स्थापित ६ वटा टोलीहरूको सहभागितामा सञ्चालन हुँदै आइरहेको डीपीएल नेपालमा आयोजना हुने प्रमुख तीन फ्रान्चाइज क्रिकेट प्रतियोगितामध्ये एक हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितामा हुँदै आइरहेको डीपीएलको अघिल्लो दुवै संस्करणको उपाधि टिम चौराह धनगढीले जितेको छ। प्रतियोगितामा टिम चौराह धनगढीसहित सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाइटेड, रूपन्देही च्यालेन्जर्स र विराटनगर किङ्स सहभागी हुनेछन्।
आयोजक धनगढी क्रिकेट एकेडेमीले तेस्रो संस्करणको विजेता तथा उपविजेता टोलीले पाउने रकम र अन्य पुरस्कार केही समयपछि सार्वजनिक गरिने जनाएको छ। धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले यस पटक पुरस्कार राशिमा भन्दा खेलाडीले पाउने सुविधामा बढी जोड दिइने जानकारी दिए। ‘हामी नेपाली क्रिकेट विकासको कारक बन्नका लागि यो प्रतियोगिताको आयोजना गर्दै आईरहेका छौं’, अध्यक्ष शाहीले भने, ‘हामीले यस पटक खेलाडीले पाउने रकम र अन्य सुविधामा बढी ध्यान दिनेछौं।’ ०००