कांग्रेस युवा नेता महासमितिबारे रणनीति बनाउँदै

कांग्रेस युवा नेता महासमितिबारे रणनीति बनाउँदै

काठमाडौं : कांग्रेस महासमिति भेला नजिकिएपछि युवा नेता रणनीति बनाउन जुटेका छन्। नेतृत्वमा सुधार र पार्टीमा आमूल परिर्वतन हुनुपर्ने अवधारणासहित उनीहरूले शुक्रबार बैठकसमेत गरे। बुधबार पनि उनीहरूको बैठक बसेको थियो। महासमिति भेलाको तयारीमा पार्टी लागिरहँदा युवाहरू कसरी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित रहेको बैठकको अगुवाइ गरिरहेका युवा नेता तथा पार्टीका केन्द्रीय सदस्य गगन थापाले बताए। ‘निर्वाचनलगत्तै हामीले महासमिति भेला माग गरेका थियौं’, उनले भने, ‘अब कसरी अघि बढ्ने भन्नेमा छलफल चल्दै छ।’

छलफलमा नेता थापासहित चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रदीप पौडेल, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव, कमला पन्तलगायत सहभागी छन्। निर्वाचन परिणामपछि युवा नेताले पार्टीभित्रै छुट्टै प्रस्ताव पेस गर्दै आएका छन्। चैत–वैशाखमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरूले ५६ पृष्टको छुट्टै अवधारणा पेस गरेका थिए। असार पहिलो साता हेटौंडामा सम्पन्न कांग्रेसको जिल्ला सभापति भेलामा समेत युवा नेताले आफ्नो अवधारणा जिल्ला सभापतिलाई बाँडेका थिए। कांग्रेस महासमिति बैठक मंसिर २८ देखि काठमाडौंमा हुँदै छ।

‘हामीले पार्टीले महासमिति भेला तयारीमै प्रभाव पार्ने कि पहिले जस्तै अवधारणा लिएर जाने भन्नेमा छलफलमा छौं’, थापाले भने, ‘अर्को बैठकसम्म टुंगोमा पुग्नेछौं।’ यो अभियानमा संलग्न युवा नेता सभापति शेरबहादुर देउवाको विरोधी खेमाका रूपमा चिनिन्छन्। गत आइतबार मात्रै सभापति देउवाइतर समूहका शीर्ष नेताको छुट्टै बैठकसमेत भएको थियो। पार्टीभित्र ध्रुवीकरण भइरहेका बेला सभापतिइतर समूहका नेता गोलबन्द भएर सभापतिविरुद्ध उत्रने चेतावनी दिएका छन्।

निर्वाचनलगत्तै हामीले महासमिति भेला मागे गरेका थियौं। अब कसरी अघि बढ्ने भन्नेमा छलफल चल्दै छ।
- गगन थापा युवा नेता, कांग्रेस

बैठकमा सहभागी अर्का केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीको विधान, भेलामा पेस गरिने राजनीतिक प्रस्तावसहित समग्र पार्टीबारे दृष्टिकोण बनाउन युवाको बैठक भइरहेको बताए। महासमिति भेलामा पेस गर्न पार्टीले बनाएको विधान मस्यौदा समितिले विधानमा एकमत नदेखिएका बेला पार्टीका शीर्ष र युवा तहमा धुव्रीकरण बढ्दै गएको छ।

महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको मस्यौदा समितिले कात्तिक १५ गतेभित्रै मस्यौदा तयार पारिसक्ने जनाएको थियो। तर अहिलेसम्म हुन सकेको छैन। विधानका केही मुख्य प्रावधानमा पार्टीको शीर्ष तहमै मतभेद देखिएकाले समस्या भएको नेताहरूको भनाइ छ। पार्टीले शनिबार केन्द्रीय समिति डाकेको छ।

राजनीतिक प्रस्तावका लागि छलफल

महासमिति भेलामा पेस गर्न उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा रहेका राजनीतिक प्रस्ताव लेखन समितिले देशव्यापी सुझाव संकलन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा शुक्रबार बसेको समिति बैठकले राजनीतिक प्रस्तावमा समेटिनुपर्ने विषयका लागि काठमाडौंबाहिर पनि प्रादेशिक स्तरमा छलफल गर्ने निष्कर्ष निकालेको हो।

मंसिर २ देखि ६ गतेसम्म छलफल आयोजना गरिने समितिले निर्णय गरेको छ। २ गते पोखरा र जनकपुर, ३ गते काठमाडौ, ४ गते विराटनगर, सुर्खेत, धनगढी र ६ गते बुटवलमा सुझाव संकलन तथा छलफल कार्यक्रम राखिएको छ। सबै प्रदेशमा हुने यस्ता सुझाव संकलनमा पार्टीका शीर्ष नेतासमेत सहभागी हुने समितिले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.